काठमाडौं । उद्योगीले सिमेन्टको भाउ बोरामा १२० बढाएर २२ रुपैयाँ मात्र घटाएका छन् । एक्कासी मूल्य बढाएका उद्योगीले चौतर्फी दवावका कारण २२ रुपैयाँ मात्र घटाएका छन् ।
उद्योगीले बोरामा अझै ९८ रुपैयाँ बढी लिएका छन् । ह्वात्तै बढाइएको सिमेन्ट र डन्डीको भाउ घटाउन उद्योगीले कन्जुस्याई गरेका छन् ।
बोरामा १२० रुपैया बढाएर शिवम् सिमेन्टले २२ रुपैयाँ ६० पैसा मात्र घटाएको छ । त्यस्तै जगदम्बा स्टीलले डण्डीमा प्रतिकिलो ५ रुपैयाँ ७ पैसा बढाएर किलोमा ५० पैसा मात्र घटाएको छ ।
सिमेन्ट र डन्डीको मूल्य बढेपछि चौतर्फी आलोचना भएपछि घटाउन वाध्य भएका थिए । अहिले पनि उद्योगीले सिमेन्टमा बढी मूल्य लिइरहेको सरकारको भनाई छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सिमेन्ट र डन्डीको भाउ घटाउन पटक–पटक निर्देशन दिएको थियो । त्यसयता १४ उद्योगले मात्र २० ब्राण्डको सिमेन्टको भाउ घटाएका छन् । भारतबाट क्लिंंकर आयात गर्ने उद्योगले बढाएपछि स्वदेशमा उत्पादन गर्ने उद्योगले पनि सिमेन्टको भाउ बढाएका छन् ।
विभागका अनुसार केही साताअघि अनुगमनताका शिवम्ले ७९० रुपैयाँ रहेको सिमेन्टको भाउ बढाएर बोराको ९१० रुपैयाँ पु¥याएको थियो । अहिले उसले २२ रुपैयाँ ६० पैसा मात्रै घटाएको छ । त्यस्तै प्रतिबोरा पुरानो मूल्य ६५० रुपैयाँ रहेको अम्बे सिमेन्टले बढाएर ७६० रुपैयाँ पुयाएको थियो । अहिले अम्बेले २० रुपैयाँ मात्रै घटाएको छ । निर्माण सिमेन्टले प्रतिबोरा ८० रुपैयाँ बढाएर १५ रुपैयाँ घटाएको छ । अहिले उक्त सिमेन्टको मूल्य प्रतिबोरा ७०५ रुपैयाँ छ ।
मारुती सिमेन्टले ५० रुपैयाँ बढाएर २०, अग्नी सिमेन्टले ६९ बढाएर १० रुपैयाँ घटाएको छ । बोरामा १०२ रुपैयाँ ९ पैसा र १२० रुपैयाँ मूल्य बढाएको हेटौडा र शालिमार ओपिसी सिमेन्टले मूल्य घटाउन अटेर गरेको विभागका शाखा अधिकृत रामेशकाजी श्रेष्ठले बिकासन्युजलाई बताए ।
त्यस्तै जगदम्बाले केही हप्ताअघि किलोको ८० रुपैयाँ २ पैसा पर्ने डन्डीललाई ५ रुपैयाँ ७ पैसा बढाएर ८५ रुपैयाँ ९ पैसा पु¥याएको छ । अहिले जगदम्बाले डन्डीमा ५० पैसा मात्रै भाउ घटाएको छ । हामा र साःख लगायतका विभिन्न डण्डी उद्योगहरुले अझै मूल्य घटाउन अटेर गरेको उनले बताए ।
डण्डीको मूल्य नघटेपछि विभिन्न डन्डी उद्योगहरुलाई सात दिनभित्र उत्पादनको अवस्था तथा मूल्य, कच्चा पदार्थको मूल्य लगायत सम्बन्धि आवश्यक कागजत विभागमा पेश गर्न निर्देशन दिइएको श्रेष्ठले जानकारी दिए ।
सिमेन्ट तथा डन्डी उद्योगहरुले कच्चा पदार्थ तथा भाडाको मूल्य बढेको भन्दै मनोमानी ढङ्गले १५ दिनमै ५ पटकसम्म भाउ बढाएका छन् ।