नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएपछि नेपाली अर्थतन्त्रको अध्ययन अनुसन्धानमा सक्रिय छन अर्थविद केशब आचार्य । सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकारको जिम्मेवारी सफल रुपमा निर्वाह गरेका आचार्यले भारुसँग नेपाली रुपैंयाँको सहटी दर पुनः मूल्यांकन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । उनै आचार्यसँग विकासन्युजका लागि नारायण पौडेलले गरेको कुराकानी ।

केशब आचार्य-अर्थविद
नेपाल र भारतको मुद्रा सटही दर २५ बर्षदेखि स्थिर राखिएको छ, किन पुनरावलोकन नगरिएको होला ?
पछिल्लो पटक २०४९ फागुन १ गते नेपाली र भारतीय रुपैयाँको सटही दर कायम गरिएको हो । त्यसबेला १ सय भारु बराबर १६० नेपाली रुपैंयाँ कायम गरिएको थियो । त्यतिबेलादेखि अहिलेसम्म सटही दर कायम छ । मुद्राको विनियम दर भनेको पनि मूल्य नै हो, देशको मुद्राको अन्तराष्ट्रिय मूल्य हो । र, त्यो मूल्य भनेको अन्तराष्ट्रिय बजारमा सो मुद्राको माग र आपुर्तिले निर्धारण गर्छ । २५ बर्षदेखि हाम्रो सहटी दर स्थिर छ । यसबीचमा नेपाल र भारतको अर्थतन्त्रमा ठुलो परिवर्तन आईसकेको छ । हामी अर्थशास्त्रका विद्यार्थी विनियम दरले मुलुकको अर्थतन्त्रलाई प्रतिबिम्बित गर्छ भन्ने मान्छौं । २५ बर्षमा हाम्रो अर्थतन्त्र बार्षिक रुपमा करिब ४ प्रतिशतले बढेको छ । भारतको करिब ७ प्रतिशतले बढेको देखिन्छ । हाम्रो मुलुकको अर्थतन्त्र धिमा गतिमा बढेको छ भने भारतले द्रुत गतिमा विकास गरेको छ । भारतले एक दशकसम्म ८ देखि ९ प्रतिशतले अर्थतन्त्र वृद्धि गरेको छ । कुल अन्तराष्ट्रिय व्यापारको हिस्सामा पनि भारतको ठुलो सहभागीता छ । चीनसँग मात्रै भारतको ७० अर्ब डलरको व्यापार छ ।
आसियान मुलुकहरुसँग मात्रै उसको ७० अर्ब डलरको व्यापार छ । सफ्टवेयर र सुनचाँदीको गहनामा पनि भारत संसारकै ठुलो हिस्सेदारी भएको मुलुक हो । वेलायतमा आजकल भारतीय कारको माग बढेको छ । उत्पादन, निर्यात, प्रबिधि, उत्पादकत्व र आर्थिक वृद्धिदरमा भारत भन्दा हामी निकै पछि छौं । यसको मतलब यस्ता कमजारीहरु देखाएर नेपाल र भारतको मुद्रा सटही दरमा परिवर्तन गर्नुपर्छ भन्ने मेरो धारणा होइन । तर एक पटक समीक्षा गर्नुपर्छ भन्ने मेरो मान्यता हो । २५ बर्षअघि काठमाडौंका सडकमा टोयोटा गाडी मात्र सडकमा देखिन्थे । केहि बर्ष अघि कोरियाको किया मोटर धेरै गुड्थे । आजकल भारतीय स्कर्पिओ र टाटाका गाडी देखिन्छन् ।
२५ बर्षसम्म स्थिर सटही दर कायम गर्दा त्यसले केहि न केहि विचलन ल्याएको छ । त्यसरकारण यसको समीक्षा गरौं भनेको हो । यो फुर्ति लगाउने कुरा मात्रै पनि होइन् । २५ बर्षसम्म १६० को विनियम दरका कारण भारुमा व्यापारीको विश्वास बढेकाले भारतीय समानको आयात बढेको हो । २०२३ सालमा भारतले पाउण्डसँग आफ्नो मुद्रा अवमूल्यन गरायो । तर हामीले वास्ता गरेनौं । त्यतिबेला एक रुपैंयाँ भारुको एक रुपैंयाँ १ पैसा नेपाली थियो । तर भारतीय वस्तु सस्तिएकाले त्यो व्यवस्थामा अडिन सकेनौं । हाम्रा लागि उनीहरुका समान सस्ता भए तर उनीहरुका लागि र हाम्रा लागि पनि नेपाली समान महंगिन पुगे । आज भुटानले एक बराबर एक बनायो हामीले पनि बराबर बनाऔं भन्ने पनि लाग्न सक्छ । तत्काल त्यस्तो पनि सम्भव छैन् । तर राज्यले एक पटक संस्थागत रुपमा समिक्षा भने गर्नैपर्छ ।
भारुसँग नेपाली मुद्राको सटही दर अवमूल्यन गराउँदा हाम्रो अर्थतन्त्रलाई के फाइदा हुन्छ ?
यो आफैंमा बिरोधाभाषपुर्ण छ । पहिले हाम्रो वस्तु व्यापारमा मात्रै घाटा थियो । तर आजकल सेवामै घाटा भैरहेको छ । विदेश पढ्न जानेदेखि घुम्न र उपचारमा जानेका कारण हाम्रो सेवा व्यापार पनि नोक्सानीमा छ । दशैं मनाउन मलेसिया, सिंगापुर जाने संस्कृति बन्दै गएको छ । वस्तु व्यापारमा देखिएको घाटा कम गर्न निर्यात बढाउनु पर्छ । त्यसका पनि केहि आधार छन् । गुणस्तरिय समान उत्पादन, सस्तो समान उत्पादन, ठुलो मात्रामा उत्पादन र उद्योगहरुले न्युन लागतमा उत्पादन गराए प्रतिस्पर्धी क्षमता बढाउनु पर्छ । पहिले १० रुपैंयाँ पाउने नेपाली समान भारतीयहरुले वा अन्य विदेशीले धेरै खरिद गर्नका लागि अब ७ रुपैंयाँमा उपलब्ध गराउन सक्नु पर्छ र त्यसका लागि हाम्रो मुद्राको अवमूल्ययन गराउनु पर्ने हुन्छ ।
समग्र वैदेशिक मुद्रा संचितिको कुरा गर्दा अहिले पनि नेपालसँग १० अर्ब डलर भन्दा बढि विदेशी मुद्रा छ । त्यसकारण अब अवमूल्यन होइन पुनरमूल्यांकन गर्नुपर्छ भन्ने केहि अर्थविदहरुको धारणा देखिन्छ । मुद्रा सञ्चिती त केही देखिन्छ तर वस्तु व्यापारमा हामी टिक्नै नसक्ने अवस्थामा पुगिसकेका छौं । फेरी हाम्रो मुद्रा सञ्चिती पनि दिगो छैन् । पर्यटन वा निर्यातबाट विदेशी मुद्रा सञ्चित भएको होइन् । त्यो त रेमिटेन्सका कारण सञ्चित भएको हो । जुनदिन रेमिटेन्सको आप्रवाह घट्छ त्यसपछि हाम्रो अवस्था नाजुक हुँदै जान्छ ।

खाडी मुलुकहरुमा तेलको भाउ बढेर पुर्वाधार निर्माण व्यापक मात्रामा नबढेसम्म रेमिटेन्स बढ्नेवाला छैन् । तेलको मूल्य बढ्यो भने अमेरिकाले सेल प्रबिधीबाट तेल उत्पादन गरेर मूल्य घटाईरहेको छ । न्युनतम लागतमा सेल प्रबिधिबाट अमेरिकाले तेल उत्पादन गरेकाले अब तेलको मूल्य बढ्ने सम्भावना देखिन्न । जसका कारण नेपालमा रेमिटेन्स बढ्ने सम्भावना छैन् । उत्पादन बढाउन सकिएन भने फेरी रुपैयाँको अवमूल्यन गराउँदा नोक्सानी हुन सक्छ ।
अर्काेतर्फ नेपाली मुद्राको पुनरमूल्यांकन गरेर सहटी दर बढाउँदा पनि जोखिमहरु त्यतिकै छन् । अहिले १६० बाट १५५ रुपैंयाँ बनाउन थालियो भने ७ खर्ब रुपैयाँको आयात बढेर १ हजार अर्बमा पुग्छ र ७० अर्बको निर्यात ४० अर्बमा खुम्चिन्छ । यसले मुद्रास्फितीलाई फाइदा गर्ला तर विदेशी मुद्रा सञ्चिति चाँही खोक्रो बनाईदिन्छ । त्यसकारण जोखिम दुबैमा छन, हामीले उपयुक्त औजार प्रयोग गर्नुपर्छ । त्यसका लागि राम्रो अध्ययन र पुर्वतयारी गर्नुपर्छ । नेपाली मुद्राको अवमूल्यन गर्नुपर्छ भन्ने मेरो धारणा हो ।
हामीले भारतीय समान किन्दा महंगो हुनुपर्ने र नेपाली समान भारतीयले खरिद गर्दा सस्तो हुनुपर्ने वातावरण बनाउनु पर्ने हो ?
एक दमै हो । व्यापार घाटा कम नगरी आत्मनिर्भर बन्न सकिन्न । त्यसका लागि अरु देशका समान महंगो हुनुपर्छ । आफ्नो मुलुकको समानको गुणस्तर बढ्नुपर्छ र सस्तोमा समान तयार हुनुपर्छ । त्यो भनेको स्वेदशी उद्योगको प्रतिस्पर्धी क्षमता बढाउनु नै हो । भारतको आर्थिक वृद्धिदर भन्दा हाम्रो आर्थिक वृद्धिदर बढि हुनुपर्छ । भर्खरै भारतले बजेट सार्वजनिक गरेको छ । र, उसले यो वर्ष आर्थिक वृद्धि ७ प्रतिशत भन्दा बढि हुने भनेको छ । हामीले पनि ७.२ प्रतिशतको वृद्धिदर हुने लक्ष्य राखेका छौं तर त्यो अलि सम्भव छैन् ।
भारतको भन्दा हाम्रो उत्पादकत्व बढि हुनुपर्छ । त्यसपछि हाम्रो मुद्रास्फिती पनि भारतको भन्दा कम हुनुपर्छ । अहिले हाम्रो उत्पादकत्व र मुद्रास्फिति दुबै भारतको भन्दा बढि छ । अहिले भारतमा हाम्रो भन्दा निक्षेपको ब्याजदर बढि छ र ऋणको ब्याजदर चाँही हाम्रोमा भन्दा कम छ । त्यसले पनि हाम्रो उत्पादन लागतमा असर गरिरहेको छ । भारतको भन्दा कम ब्याजदर र कम उत्पादन लागत भयो भने मात्रै मुद्रा सटही दर नचलाउँदा हुन्छ । नत्र टिक्न सक्ने अवस्था नै छैन् । त्यसकारण हामीले एक बराबर १६० बाट हाम्रो मुद्रा अवमूल्यन गराउनु पर्छ । त्यसपछि हामीले हाम्रा समान उत्पादन गरेर बेच्न सक्ने हैसियत बनाउनुपर्छ । मुद्रा सटही दर भनेको आर्थिक जस्तो देखिन्छ तर यसको कुटनीतिक र राजनीतिक आयाम पनि हुन्छन् । केन्द्रिय बैंकले सरकार र निजी क्षेत्रसँग आवश्यक समन्वय गरेर मात्रै यसबारे निर्णय गर्नु पर्छ ।
एक बराबर १६० को सटही दरलाई बढाएर १६५ वा १७० बनाउँदा पनि उत्पादन बढाउन सकिएन भने चाँही फेरी अर्थतन्त्र थप धरासायी हुन्छ । मुद्रास्फितिले सबैलाई खाइदिन्छ । विगतमा अवमूल्यन गराउँदा त्यस्तै भएको छ । तलब वृद्धि रोक्ने, बजेटलाई उत्पादन मुलक क्षेत्रमा बढाउने, निजी क्षेत्रका उद्योग धन्दालाई बढावा दिने लगायतका काममा सरकारले बिशेष ध्यान दिनुपर्छ । तर अहिले हाम्रो सरकार यी काम गर्न सक्ने हैसियतमा छ जस्तो मलाई चाँही लाग्दैन् । १० प्रतिशतले सटही अवमूल्यन गराईदा २१ प्रतिशतले मूल्य वृद्धि भएको छ । त्यसकारण पनि हामीले सचेत भएर काम गर्नुपर्छ । अहिले १६० बाट १५५ रुपैंयाँ बनाउन थालियो भने ७ खर्बको आयात हजार अर्बमा पुग्छ र ७० अर्बको निर्यात ४० अर्बमा खुम्चिन्छ । यसले मुद्रास्फितीलाई फाइदा गर्ला तर विदेशी मुद्रा सञ्चिति चाँही खोक्रो बनाईदिन्छ ।
स्थिर सटही दर हटाउँदा चाँही के असर पर्छ ?
स्थिर सटही दर हटाउने कुराले त भारतीय लगानीकर्ता थप निरुत्साहित हुन्छन् । अहिले लगानी गरेका लगानी कर्ताहरुले पनि लगानी फिर्ता लैजान्छन् । त्यसकारण स्थिर मुद्रा सटही दरलाई हटाउनु चाँही हुन्न । केबल समीक्षा गरिनुपर्छ । ५० औं बर्ष यसैगरि समीक्षा नगरी स्थिर मात्रै बनाउने हो भने चाँही हाम्रो अर्थतन्त्र टाक्सिन्छ । हाम्रा भान्छाहरुमा भारतीय समान मात्रै देखिन थालिसकेका छन् । हामीले रायोको साग र १५।२० दिन थेग्ने सुन्तला, केरा र आँप, स्याउ मात्रै उत्पादन गर्न सकेका छौं । मेरो भनाई स्पष्ट छ, २५ बर्षको आर्थिक वृद्धिदर, उत्पादकत्व, उत्पादन क्षमता लगायतका सूचांकका आधारमा नेपाली र भारतीय मुद्राको सटही दरको पुनः मूल्यांकन गरौं । नत्र नेपाली अर्थतन्त्र टाक्सिँदै जान्छ । पाँच सात बर्षमा सटही दरलाई समिक्षा गरेर तल माथी गराउनु पर्छ ।
भुटानले भारुसँग सटही दर बराबर बनाउन सक्ने, नेपालले चाँही किन नसक्ने ?
भुटानले विद्युत बेचेर यथेष्ठ भारतीय मुद्रा सञ्चित गरेको छ । भारतसँग भुटानको व्यापार नाफामै छ । हामीले त रेमिटेन्सबाट पठाएको पैसा जहाजबाट कोलकत्ता पठाएर त्यहाँ डलर दिएर भारु कन्टेनरमा राखेर नेपाल ल्याउँनुपर्ने अवस्था छ । त्यसकारण भुटानसँग तुलना गरेर बराबर गर्नुपर्यो भन्न मिल्दैन् । भुटानले जस्तो अहिले नै बराबर गर्नेबारे होइन, पाँच सात बर्षका बीचमा समीक्षा गरेर सटही दर हेरफेर गर्नेबारे भने सोच्नै पर्छ ।