काठमाडौं । निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आउदो चैतभित्र साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
आईपीओ आउदो चैतसम्म निष्कासन हुने अपर तामाकोसीको अध्यक्ष तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । रसुवागढी र सान्जेन जलविद्युत कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तामाकोसीको आईपीओ निष्कासनको काम सुरु भइसकेको जानकारी दिए ।
जिल्ला समन्वय समितिबाट आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावित गरी तीन वर्गमा विभाजन गरी सेयर वितरण गर्ने समहमति भएको छ । दोलखावासीले न्युनतम ३० देखि बढीमा ३ सय कित्तासम्म सेयर भर्न पाउने भएका छन् ।
स्थानियबासिन्दालाई निष्कासन गरिसकेको सर्वसाधारणलाई १५ प्रतिशत आईपीओ निष्कासन हुनेछ । पहिलो चरणमा सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन हुनेछ ।
यसअघि कर्मचारी संचय कोषका संचयकर्ता, ऋण दिने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई गरी १७.२८ प्रतिशत अर्थात १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ९५ हजार कित्ता सेयर निष्कासन गरी ०७२ जेठ २९ गते बाँडफाँड भइसकेको छ ।
सो सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत नहुदाँ कारोबार भएको छैन् । आईपीओबाट लगानीकर्ताले लाभ पाउन सकेका छैनन् । तामाकोसीमा कर्मचारी संचय कोष, नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषको लगानी छ ।
हाल आयोजनाको काम ९३ प्रतिशत सम्पन्न भएको छ । डलरको मूल्यमा उतारचढाव आउनु लक्ष्यअनुसार निर्माण कार्य अगाडि नबढ्नु र भूकम्पका कारण आयोजनाको समयसीमा लम्बिदै जानुका कारण ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न गर्ने अनुमान गरिएको आयोजनाको लागत बढेर ४१ अर्ब ७२ करोड पुग्ने अनुमान गरिएको हो ।
आयोजना ०७५ असार मसान्तभित्र विद्युत् युनिटबाट बिजुली उत्पादन गरिसक्ने लक्ष्य लिइएको छ । सोही वर्षको मंसिरसम्म ५ वटै युनिट सञ्चालनमा ल्याउने तयारी कम्पनीको छ । यस्तै ४५६ मेगावाटको आयोजनाले २२ मेगावाटको अर्को आयोजना र रोल्वालिङ डाइभर्सन आयोजनाको काम अघि बढाएको छ ।
तामाकोसीबाट २ अर्ब २८ करोड र रोल्वालिङबाट गरी वार्षिक २ अर्ब ६२ करोड युनिट बिजुली उत्पादन हुने छ । तामाकोसी सञ्चालनमा आएपछि वर्षादमा लोडसेडिङको अन्त्य हुने छ ।तामाकोसीबाट मात्र बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी हुने छ । रोल्वालिङको बिजुली थपिएपछि आम्दानी अझै बढ्ने छ ।