काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न मुलुकका आवासीय एवं गैरआवासीय राजदूतहरुले आ-आफ्ना ओहोदाका प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहीबार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि स्विट्जरल्याण्डका आवासीय राजदूत एलिसावेथ भोन क्यापेलेरले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

सोही समारोहमा राष्ट्रपतिसमक्ष सुडान, पनामा र जाम्बियाका गैरआवासीय राजदूतत्रय क्रमशः सिराजुद्दिन हमिद युसुफ, डा जिलबेट्रो लेरिना गार्सिया र जुडिथ के के कांगोमा कापिजीमाप्गानाले आ–आफ्ना ओहोदाका प्रमाणपत्र पेश गरेका हुन् ।
त्यस अवसरमा प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्री, राष्ट्रपति कार्यालयका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । रासस