काठमाडौं। गएका वर्षहरु झै यस वर्षको भ्यालेन्टाइन डेको लागि बिहीबारदेखिनै भारतबाट गुलाफ आयात हुन सुरु भइसकेको छ । भ्यालेन्टाइन डेको संघारमा सात दिनअघिदेखिनै गुलाफको बिक्री सुरु हुने गरेको छ । पुष्प व्यवसायीहरुले नजिकिएको भ्यालेन्टाइन डेको लागि २ लाख २० ओटा (स्टीक) गुलाफको अडर आइसेको बताएका छन् । जसमा ५० हजार स्टीक आन्तरिक उत्पादन भने १ लाख ७० हजार स्टीक गुलाफ फेब्रुवरी १३ सम्ममा भारतबाट मुलुकमा भित्रिसक्ने व्यवसायीहरुले बताएका छन् ।

फ्लोरीकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले भ्यालेन्टाइन डेको चहलपहल सुरु भइसकेको बताए । उनका अनुसार बिहीबारदेखि नै भारतबाट गुलाफको आयात हुन थालिसकेको छ । यो भ्यालेन्टाइन डेको लागि खुद्रा पुष्प व्यवासयीहरुबाट २ लाख २० हजार स्टीक गुलाफको माग भएको छ । ‘सो माग गएको वर्षभन्दा करिब १६ प्रतिशत बढी हो,’ उनले भने ‘गएको वर्षको भ्यालेन्टाइन डेमा १ लाख ९० हजार स्टीक गुलाफको कारोबार भएको थियो ।’ प्रत्येक वर्ष २०/३० हजार गुलाफको माग बढीरहेको उनको भनाइ छ ।
उनले अझै पनि भ्यालेन्टाइनको लागि माग अनुुसार स्वदेशमै गुलाफको उत्पादन हुन नसकेको बताए । ‘यो सिजनमा भ्यालेन्टाइन डेको लागि ५० हजार स्टीक गुलाफ मात्रै स्वदेशमा उत्पादन भएको छ,’ उनले भने ‘बाँकी गुलाफ भारतबाट आयात हुने गरेको छ ।’ पुष्पा व्यवसायीहरुका अनुसार यो भ्यालेन्टाइनमा प्रतिस्टीक गुलाफ ५० देखि ११० रुपैयाँसम्ममा उपलब्ध हुनेछ । हाल बजारमा १३/१४ किसिमका गुलाबहरु उपलब्ध छन् । जसमध्ये भ्यालेन्टाइनको समयमा ९० प्रतिशत रातो गुलाब खपत हुदै आएको छ । भ्यालेनटाइनबाहेकको अबधिमा पनि आन्तरिक उत्पादन भएको ५/७ हजार स्टीक गुलाफ बिक्री हुनेगरेको छ ।
एशोसिएशनको अनुसार भ्यालेन्टाइनबाहेकको सयमा गुलाबको बजार आन्तरिक उत्पादनलेनै धान्ने गरेको छ । यद्यपि भ्यालेन्टाइनको समय पुस, माघ र फागुनमा महिनामा भने जाडो मौसम भएको कारणले स्वदेशी उत्पादन घटेर १५ प्रतिशतमा मात्रै सिमित हुने गरेको छ । त्यसलाई मध्यनजर गर्दै पुष्प व्यवसायीहरुले आयातीत गुलाफलाई प्रतिस्थापन गर्न गुणस्तरीय गुलाफ फार्म, हाइटेक ग्रिनहाउस लगायतको विकास गर्नेक्रममा रहेको व्यवसायीहरुले जानकारी दिएका छन् ।
एशोसिएशनको अध्यक्ष श्रेष्ठले समग्र पुष्प व्यवसायमा गुलाफको व्यापारको हिस्सा ६/७ प्रतिशत हुने गरेको बताए । उनका अनुसार मुलुकको पुष्प व्यवसायको आकार १ अर्ब ७१ करोड रुपैयाँकोे छ । ‘जसमा यो भ्यालेन्टाइनको अबधिमा मात्रै करिब २ करोड रुपैयाँको गुलाफको कारोबार हुने अपेक्षा गरेका छौं,’ उनले भने ।