तीन लाख भूकम्प पीडितले दोश्रो किस्ता पाउने बाटो खुल्यो

<p>काठमाडौं । तीन लाख भूकम्प पीडितलाई घर बनाउन दोश्रो किस्ता लिने बाटो खुलेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन लाख भूकम्प पीडितलाई दोश्रो किस्ता लिने बाटो खोलिदिएको हो । अब २०७३ पुस मसान्त अघि पहिलो किस्ता लिएका भूकम्प पीडितहरुले चैत मसान्तसम्म दोश्रो किस्ताका लागि आवेदन दिन सक्नेछन् । [&hellip;]</p>

काठमाडौं । तीन लाख भूकम्प पीडितलाई घर बनाउन दोश्रो किस्ता लिने बाटो खुलेको छ । प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले तीन लाख भूकम्प पीडितलाई दोश्रो किस्ता लिने बाटो खोलिदिएको हो । अब २०७३ पुस मसान्त अघि पहिलो किस्ता लिएका भूकम्प पीडितहरुले चैत मसान्तसम्म दोश्रो किस्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस अघि २०७३ पुस मसान्त अघि पहिलो किस्ता लिएका भूकम्प पीडितले २०७४ पुस मसान्त अघि नै दोश्रो किस्ताका लागि निवेदन नदिए त्यसपछि दोश्रो किस्ता नपाउने निर्णय निर्देशक समितिले नै गरेको थियो । २०७४ कात्तिक २९ गतेको सो निर्णयले ३ लाख भूकम्प पीडितले दोश्रो किस्ता नपाउने अवस्था बनेको थियो ।

बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्प पीडितका लागि पछिल्लो समय थप गरिएको एक लाख रुपैयाँको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको उल्लेख गर्दै बिश्व बैंकले ४० अर्ब रुपैयाँ दिने सहमति भएको जानकारी गराएका थिए ।

समितिका उपाध्यक्ष भीम रावलले भूकम्पपछिको पुनर्निर्माणका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन गर्ने कार्यले भूकम्पपीडितको समस्यालाई सरकारले प्राथमिकता नदिएको हो कि भन्ने पीडितमा आशंका उत्पन्न भएको रावलको धारणा थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले पुनर्निर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था, समयसीमा बढाउनु पर्ने आवश्यकता लगायतका बिषयमा बैठकलाई जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत भूसालले निजी आवास पुनर्निर्माण लक्ष्यको करिब ५० प्रतिशत पुरा हुन लागेको बताएका थिए ।

योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पहिलो दाता सम्मेलनबाट ४ खर्ब बढी रकम प्रतिबद्धतता आएकाले पुनर्निर्माणमा अपुग रकम व्यवस्थापनका लागि दोस्रो चरणको दाता सम्मेलन गर्न सकिने सुझाव दिएका थिए ।

 

Share News