काठमाडौं । इरानले पेट्रोलियम पदार्थ उत्पादन बढाउने भएपछि यसको मूल्यमा गिरावट आएको छ । इरानले उत्पादन बढाउने सार्वजनिक रुपमा घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर प्रतिव्यारेल ६५ अमेरिकी डलरमा झरेको छ ।
यो महिनामा मात्र पेट्रोलियमको मूल्यमा दुई पटक गिरावट आई रेकर्ड कायम गरेको भारतको फाइनान्सियल एक्सप्रेसको अनलाईन संस्करणमा उल्लेख छ । भारतमा पेट्रोल र डिजेलको मूल्य क्रमश २ पैसा र ४ पैसा भारु घटेको छ ।
भारतको पेट्रोलियम वेभसाइटका अनुसार राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ७३.३५, कोलकतामा ७६, मुम्बइमा ८१.२१, चेन्नइमा ७६ भारुमा झरेको छ ।
यस्तै डिजेलको दिल्लीमा ६४.११, कोलकतामा ६६.७८, मुम्बईमा ६८.२७ र चेन्नइमा ६७.६२ भारु रहेको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । रसियाले कच्चा तेल उत्पादन घटाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा यसको भाउ बढेर ७० डलर पुगेको थियो । इरानले उत्पादन बढाउने घोषणा गरेपछि मूल्य घटेको हो । यसैबीचमा अमेरिकामा पनि पेट्रोलियम उत्पादन बढ्नु पनि भाउ घट्नुको अर्को प्रमुख कारण भएको एक्सप्रेसले जानकारी दिएको छ ।
गत अक्टुवरदेखि अन्तराष्ट्रिय बजारमा भाउ बढ्न थालेको हो । गत अक्टुवरदेखि फेब्रुअरीसम्म अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ व्यारेलको १३ डलरसम्म बढेको थियो । नेपालमा पेट्रोलको मुल्य लिटरको १०४ र डिजेलको ८३ रुपैयाँ छ ।