काठमाडौँ । धितोपत्र बजारमा यस साता १ अर्ब ५५ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार कूल १७२ कम्पनीको ४१ लाख ९६ हजार ४९० कित्ता सेयर खरिद बिक्री भएको छ ।

कारोबार रकम गत साताको भन्दा १३.३१ प्रतिशत बढी हो । गत साता १७२ कम्पनीको ३४ लाख ७३ हजार २० कित्ता सेयर १ अर्ब ३६ करोड ८८ लाख ९१ हजारमा रुपैयाँमा खरिदबिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १९.४८ अंकले घटेर अन्तिम दिन १ हजार ३९१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.९४ अंकले घटेर २९४ अंकमा आइपुगेको छ ।
यस साता कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको १६ करोड ४७ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । कारोबार भएको शेयर संख्याका आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । सो बैंकको ४ लाख ६१ हजार कित्ता सेयर कारोबार भएको हो । बैंकले पौने २ अर्ब रुपैयाँको थप निष्कासन (एफपीओ) ल्याउने भएपछि सेयर कारोबार बढेको हो ।
बैंक अफ काठमाडौँको ६१ लाख ५८ हजार ६७ बोनस शेयर, आइएसडिसी लघुवित्तको २३ लाख कित्ता हकप्रद र छिमेक लघुवित्त वित्तीय संस्थाको १६ लाख ५९ हजार २९३ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
यस्तै आइसिएफसी फाइनान्स कम्पनीको ८ लाख ३ हजार ८८५ कित्ता, सोल्टी होटलको ८६ लाख ८८ हजार २४४ कित्ता र स्वदेशी लघुवित्त संस्थाको एक लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको स्टकले जनाएको छ । रासस