सोलारको पीपीए नहुदा अपी पावर कम्पनीको २ अर्ब २७ करोडको हकप्रद सेयर रोकियो

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सौर्यऊर्जा खरिदबिक्री सम्झौता (पीपीए) नगरेपछि अपी पावर कम्पनी लिमिटेडको २ सय प्रतिशत हकप्रद सेयर निष्कासन रोकिएको छ । नियामक नेपाल धितोपत्र बोर्डले सोलार पीपीए भएपछि मात्र हकप्रद निष्कासन गर्न दिने भनेपछि रोकिएको हो । गत पुसमा सम्पन्न अपीको साधारणसभाले सौर्यऊर्जा र जलविद्युत आयोजनामा लगानी गर्न २ अर्ब २६ करोड ८० [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सौर्यऊर्जा खरिदबिक्री सम्झौता (पीपीए) नगरेपछि अपी पावर कम्पनी लिमिटेडको २ सय प्रतिशत हकप्रद सेयर निष्कासन रोकिएको छ ।

नियामक नेपाल धितोपत्र बोर्डले सोलार पीपीए भएपछि मात्र हकप्रद निष्कासन गर्न दिने भनेपछि रोकिएको हो । गत पुसमा सम्पन्न अपीको साधारणसभाले सौर्यऊर्जा र जलविद्युत आयोजनामा लगानी गर्न २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न प्रस्ताव पारित गरेको थियो ।

अपीले विभिन्न स्थानमा १८ मेगावाट सोलार प्लाण्ट स्थापना गरी बिजुली उत्पादन गर्ने तयारी थालेको छ । कुल हकप्रद मध्ये कम्पनीले १ अर्ब २६ करोड ८० लाख रुपैयाँ विभिन्न सौर्यऊर्जा आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । यस्तै १ अर्ब भने जलविद्युत आयोजनामा लगानी गर्ने अपीको तयारी छ ।

सोलार पीपीए नहुदा हकप्रद निष्कासन गर्न नपाएको अपीका सञ्चालक सतिश न्यौपाने बताउछन् । सौर्यऊर्जाको पीपीए नभएसम्म बोर्डले हकप्रदका लागि स्वीकृति नदिने भनेको उनले जानकारी दिए । प्राधिकरणले पीपीए गर्न नमानेको उनको भनाई छ ।

विद्युत प्राधिकरणले प्रतियुनिट अधिकतम् ९ रुपैयाँ ६१ पैसामा सोलार आयोजनासंग बिजुली किन्ने भन्दै निजी कम्पनीबीच प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धाबाट सोलार आयोजनाले प्रतियुनिट ८ रुपैयाँ ४५ पैसासम्म पीपीए दर पेश गरेका थिए । ऊर्जा मन्त्रालयले सोलार सम्बन्धित नयाँ कार्यविधी ल्याइ प्रतियुनिट ७ रुपैयाँ ३० पैसा पीपीए दर हुने भनेपछि प्राधिकरणले पीपीए गरेको छैन् ।

यता भारतमा सोलारको मूल्य घटेको भन्दै पीपीए गर्न अटेर गरेको छ । त्यसबेला २१ कम्पनीले ६३ मेगावाट बिजुली सोलारबाट उत्पादन गर्ने प्रस्ताव प्राधिकरणमा गरेका थिए । गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर जारी गरेपछि कम्पनीको सेयर संख्या १ करोड १३ लाख ४० हजार रुपैयाँ पुग्ने छ । कम्पनीले यसअघि २ अर्ब ११ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । सेयर पुँजी बढाएर हकप्रद निष्कासन रकम बढाएको छ ।

अपीले हाल ८ मेगावाटको नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै ८.५ मेगावाटको नौगाड आयोजना निर्माण गरिरहेको छ । यस्तै ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना पनि निर्माणको तयारी थालेको छ ।

अपीको नाफा घट्यो

चालु आर्थिक वर्षको ६ महिनामा अपि पावरको नाफा घटेको छ । गत पुससम्म कम्पनीले ३ करोड १३ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ४५ लाख रुपैयाा नाफा गरेको छ । यो वर्षको ६ महिनामा अपीको नाफा ३२ लाख रुपैयाँ घटेको छ ।

अपीले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिकक वित्तीय विवरणमा नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको जानकारी दिएको छ । ईपीएस घटेर ५ रुपैयाँ ९७ पैसामा झरेकोे छ । गत आवको सोही अवधिमा कम्पनीको ईपीएस ६ रुपैयाँ ५८ पैसा थियो ।

गत पुससम्म अपीले बिजुली बिक्रीबाट ८ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ८ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । ६ महिनामा अपीको आम्दानी ७५ लाख रुपैयाँ घटेको छ । कम्पनीको संचित कोषमा १२ करोड १४ लाख रुपैयाँ छ ।

 

Share News