काठमाडौं । नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय पशु सेवा विभाग हिमाली आयोजना अन्तर्गत संखुवासभाका चैनपुर नगरपालिका ३ सिद्धपोखरीस्थित पशु सेवा केन्द्र भबन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न एकतल्ले भबनको एक समारोहबीच हस्तान्तरण गरिएको छ । चैनपुरका वडाध्यक्ष बलबहादुर अधिकारीको उपस्थितिमा गोर्खा इको प्यानलका इन्जिनियर प्रबीण नगरकोटीले जिल्ला पशु सेवा कार्यालयका कार्यालय प्रमुख डा.उमेश दाहाललाई हस्तान्तरण गरेका हुन् ।

गोर्खा इको प्यानल र गोर्खा विनडोर प्रयोग गरी तीन महिनाको छोटो अवधिमै भबन बनाइ हस्तान्तरण गरिएको हो । कार्यक्रममा अतिथिहरुले गोर्खा इको प्यानलद्वारा निर्मित प्रिफेव संरचना र ज्ञान ज्योति विल्डर्स प्रा.लि. काभ्रेको निर्माण सामाग्रीको प्रयोगबाट भुकम्प प्रतिरोधी भवन निर्माण जिल्लाकै उत्कृष्ट भवनहरुमध्ये एक भएको बताए । उनीहरुले यसलाई विस्तार गरी नवनिर्मित संरचनाहरु बनाउँनुपर्नेमा जोड दिनुका साथै भवन निर्माणमा पहल एवं समन्वय गरेकोमा जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा. उमेश दाहाललाई धन्यवाद दिएका छन् ।
कार्यक्रममा डा दाहालले आयोजनाबाट विगतका अवधिहरुमा यस जिल्लाभित्र निर्मित भौतिक संरचनातर्फ क्रमशः जिल्ला कृषि विकास कार्यालयको कार्यालय भवन, २ वटा पशु सेवा केन्द्र भवन (चैनपुरको खराङ र खाँदवारीको पाङमा) तथा जिल्ला पशु सेवा कार्यालयको प्राङ्गणमा १ वटा डिस्पेन्सरी भवनको रुपमा सन्चालनमा रहेको जानकारी दिए ।
पशुपालक कृषकहरुलाई यथेष्ठ सेवा प्रदान गर्नका लागि ग्रामिण क्षेत्रमा रहेका सेवाकेन्द्रहरुको निर्माणमा यस आयोजनाले अग्रणी भूमिका खेलेको उनले जनाए । यसै क्रममा आयोजना सम्पन्न हुने अन्तिम आर्थिक वर्ष २०७४/०७५ मा यस जिल्लाको चैनपुर नगरपालिकाको सिद्धपोखरी र मकालु गाउँपालिकाको नुम भन्ने स्थानमा सुविधासम्पन्न भुकम्प प्रतिरोधी २ वटा प्रिफेव भवन र पशु उपचारका लागि अत्यावश्यक ४ वटा ट्रेभिजको समेत निर्माण सम्पन्न भइसकेको उनले जनाए ।
कार्तिक महिनाको तेश्रो हप्ताबाट निर्माण शुरु भै माघ महिनाको दोश्रो हप्ताभित्र २ वटा टे«बिजसहितको प्रिफेव सेवा केन्द्र भवन दुवै स्थानमा निर्माण सम्पन्न भइसकेको छ ।
कार्यक्रममा हिमाली आयोजनाका इन्जिनियर प्रल्हाद चापागाई, गोरखा इको प्यानलका इन्जिनियर प्रबीण नगरकोटीले इको प्यानलहरु हलुका भएका कारण हिमाली जिल्लामा आयातमा सहजता भएको बताए । स्वदेशमै बनेको, आईसओ प्राप्त भएका कारण यसका निर्माण संरचना बलियो भरपर्दाे रहेको पनि उनीहरुले बताए ।
पशुपालन व्यवसायलाई व्यवसायिकरणका साथै हिमाली क्षेत्रका बासिन्दाहरुको जीविकोपार्जन सुधार गर्ने उद्धेश्यले एशियाली विकास बैंकको सहयोगमा पशु सेवा विभाग अन्तर्गत उच्च पहाड कृषि व्यवसाय तथा जिविकोपार्जन सुधार आयोजना (हिमाली आयोजना) सन २०११ देखि यस जिल्लामा संचालनमा रहेको छ ।
हालसम्म हिमाली आयोजना अन्तर्गत पेश भएका विभिन्न जम्मा १५५ वटा उप-आयोजनाहरुमध्ये जम्मा ५२ वटा उपआयोजनाहरुमा ४ करोडभन्दा बढी रकम अनुदानस्वरुप लगानी भइसकेको छ । स्वीकृत उप-आयोजनाहरु मध्ये क्षेत्रगत आधारमा पशुपालनसंग सम्बन्धित २५ वटा, गैह्रकाष्ठ बन पैदावरसंग सम्बन्धित १७ वटा, कृषिसंग सम्बन्धित १० वटा उप-आयोजनाहरु सन्चालनमा रहेका छन् ।
भवन निर्माण स्थलको लागि चैनपुर नगरपालिका वडा नं. ३ का पदम सुबेदीले १ रोपनी र मकालु गाउँपालिका वडा नं. ५ का थामे तामाङले १ रोपनी, नरबहादुर पराजुली १ रोपनी र तेजबहादुर पराजुलीले १ रोपनी गरी जम्मा ३ रोपनी जग्गा निशुल्क रुपमा उपलव्ध गराएका थिए ।