काठमाडौं । आइतबार सबैभन्दा बढी ३ वटा बैंकको संस्थापक (प्रमोटर) सेयर कारोबार भएको छ । ओम डेभलपमेन्ट बैंक, नविल बैंक र कामना सेवा विकास बैंकको गरी कुल ४ करोड १ लाख ४६ हजार ६७३ रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएका छन् ।
सबैभन्दा बढी ओम डेभलपमेन्ट बैंकको प्रमोटर किनबेच भएको छ । ओमको एकैदिन प्रतिकित्ता २४० रुपैयाँमा १ करोड ७४ लाख ६० हजार रुपैयाँ बराबरको ७२ हजार ७५० कित्ता संस्थापक सेयर किनबेच भएको छ । ओमको संस्थापक सेयर एउटै लगानीकर्ताले खरिद गरेको पाइएको छ ।
यस्तै नबिल बैंकको १ करोड २६ लाख १६ हजार ६७३ कित्ता प्रमोटर सेयर किनबेच भएको छ । नविलको प्रतिकित्ता ८५० रुपैयाँमा १५ हजार ७६३ कित्ता प्रमोटर सेयर किनबेच भएको छ ।
कामना सेवा विकास बैंकको प्रतिकित्ता १०६ रुपैयाँ १ करोड ७० हजार रुपैयाँ बराबरको ९५ हजार कित्ता प्रमोटर सेयर किनबेच भएका छन् । कामनाको पनि एउटै व्यक्ति तथा संस्थाले संस्थापक सेयर किनेको पाइएको छ । सेयर बजारमा निरन्तर गिरावट आईरहेका बेला संस्थापक सेयर बढी कारोबार हुने गरेको छ । त्यसैगरी, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको पनि प्रतिकित्ता १ हजार ६६३ रुपैयाँमा १करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबारको बजारमा कुल १५९ कम्पनीको २४ करोड ४२ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन ६ लाख ७० हजार ५८९ कित्ता सेयर बिक्री भएका छन् ।
साताको पहिलो दिनको बजार कारोबार खुलेदेखि बन्द हुँदासम्म निरन्तर ओरालो लागेको छ । दिनभर निरन्तर ओरालो लागेको नेप्से परिसूचक बजार बन्द हुँदा ६.३२ अंकले झरेर १३८४.७१ अंकमा अडेको छ ।
आइतबारको बजारमा ट्रेडिङ समूह स्थिर रहेको छ भने अन्य कारोबारमा आएका सबैसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको सूचक ४० अंकले ओरालो लागेको छ ।
बजारमा सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंककै सेयर मूल्यमा वृद्धि भएको छ । अघिल्लो कारोबारको तुलनामा कम्पनीका लगानीकर्ताले ६.९५ प्रतिशत कमाएका छन् । उता आरएसडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने करिब १० प्रतिशत गुमाएका छन् ।