निर्माण व्यवसायीलाई ४४ अर्ब तिर्न बाँकी, १५ दिनभित्र नभए गौरवका आयोजनाको काम रोक्ने चेतावनी

<p>विराटनगर । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकारसँग विभिन्न निर्माण कार्य गरेबापत ४४ अर्ब रुपैयाँ लिन बाँकी रहेको जनाएको छ । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गरी आगामी १५ दिनभित्र बाँकी रकम भुक्तानी नपाएमा २०० अर्ब रुपैयाँ बराबरको सरकारका राष्ट्रिय गौरवका आयोजनालगायत अन्य विभिन्न निर्माण कार्य बन्द गर्ने चेतावनी दिए । सरकारअन्तर्गत सडक [&hellip;]</p>

विराटनगर । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकारसँग विभिन्न निर्माण कार्य गरेबापत ४४ अर्ब रुपैयाँ लिन बाँकी रहेको जनाएको छ ।

महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले आइतबार पत्रकार सम्मेलन गरी आगामी १५ दिनभित्र बाँकी रकम भुक्तानी नपाएमा २०० अर्ब रुपैयाँ बराबरको सरकारका राष्ट्रिय गौरवका आयोजनालगायत अन्य विभिन्न निर्माण कार्य बन्द गर्ने चेतावनी दिए ।

सरकारअन्तर्गत सडक डिभिजनलगायत निर्माण कार्य गराउने कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिए ।

महासंघका महासचिव रामशरण देउजाले निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब घटाउनुपर्ने वा ऐन कानूनमा उल्लेख भएअनुसार १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएअनुसार क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । उनले निर्माण व्यवसायीलाई भारतलगायत अन्य देशबाट भन्सार छुटमा निर्माण सामग्री आयात गर्न व्यवस्था हुनुपर्ने बताए।

महासचिव देउजाले निर्माण महासंघअन्तर्गत १२ हजार ५०० निर्माण व्यवसायी तथा संघअन्तर्गतको कार्यमा ११ लाख व्यक्तिले रोजगार पाइरहेको जानकारी दिए ।

महासंघका प्रवक्ता विष्णु बुढाथोकीले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्ने तथा निर्माण कार्यमा व्यवसायीले विनाझन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्यसूचीबमोजिम मूल्य समायोजनको रकम प्राप्त हुनुपर्ने व्यवस्था गरिनुपर्ने माग गरे । रासस

Share News