काठमाडौं । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको काम धमाधम अघि बढेको छ । अहिलेसम्म पाइपलाइनको लागि ४१ लरी पाइप ल्याइसकिएको नेपाल आयल निगमले जनाएको छ । निगमको प्रवक्ता वीरेन्द्र गोईतले शनिबार मात्रै पनि भारतबाट कन्ट्रयाक्टर आएको बताए । ‘भारतबाट कन्ट्रयाक्टर आएसँगै स्थानिय प्रशासनसहितको मिटीङ राखिएको थियो,’ उनले भने ‘ कन्ट्रयाक्टरहरुलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा मिटीङमा छलफल भएको छ ।’ पहिलो चरणको इआईए (वातावरण प्रभाव मूल्याङ्कन) पास भइसकेको छ । दोस्रो चरणको इआईए तयारी हुदै गरेको उनको भनाइ छ ।

निगमका अनुसार केही महिनाअघिबाटै पाइप लाइनको काम सुरु भइसकेको हो । प्रारम्भिक सर्बे समेत भइसकेको छ । उक्त पाइपलाइन तथा भण्डारण गृह निर्माणका लागि आवश्यक ३३.६ हेक्टर जमिन आवश्यक छ । आपूर्ति मन्त्रालयका अनुसार परियोजनाको लागि पाइपलाइनको लम्बाइ ७२ किमि कायम गरिएको छ । केही महिना अघि वनमन्त्रलय र निगमबीच रुख काट्ने सम्बन्धमा समस्या उब्जिएको थियो । उक्त समस्या समेत हल भइसकेको प्रवत्ता गोईतले जानकारी दिए ।
उनका अनुसार इण्डियन आयल कर्पोरेसनले पाईप बिच्छ्याउनको लागि काम सुरु गरिसकेको हो । नेपालले सम्पूर्ण तयारीको काम पूरा गरिसकेको अवस्थामा भारतले ३० महिनाभित्र पाइपलाइनको सबै काम सक्ने दावी गरेको उनको भनाइ छ । निगमका अनुसार २०१५ अगष्ट २४ मा नेपाल र भारतबीचमा रक्सौल अमलेखगञ्ज पाइपलाइन विच्छ्याउने सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त परियोजनाका लागि २ अर्ब ७५ करोड भारु लाग्ने बताइएको थियो । पछिल्लो समय पेट्रोलियम पदार्थको माग र आपूर्ति बढेकोले ठूलो परिमाणमा ल्याउन पाइपलाइनको निर्माण गर्न लागेको निगमले जनाएको छ । पाइपलाइन निर्माण भएपछि रक्सौलमा हुने जामको सास्ती हट्ने, तेल ल्याउँदा हुने ढुवानी भाडा बचत हुने लगायत फाइदा हुने बताइएको छ ।
निगमले पाइपलाइन निर्माण भएपछि एकैपटक प्रतिघण्टा ३ लाख लिटरको दरले तेल मुलुकमा भित्रिने बताएको छ । साथै एक दिनमा ३० लाख लिटर पेट्रोलियम पदार्थ आउनेछ । जसबाट प्रत्येक दिन तेल आयातको लागि प्रयोग हुने २५ हजार लिटर डिजल बचत हुनेछ । उक्त डिजलको माध्यमबाट करिब ५० करोड रुपैयाँको बचत हुने निगमको भनाइ छ । त्यस्तै ट्याङ्करलाई लिँदै आएको ढुवानी भाडा बापत ७० करोड रुपैयाँ बचत हुने छ ।