नेपाल–चीन उद्योग वाणिज्य संघले सोमबार राजधानीमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्बन्धी एक दिवसीय सेमिनारको आयोजना गरेको छ । सो कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष राजेश काजी श्रेष्ठले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपाल सदस्य भइसकेकोले यसबाट भरपुर फाइदा लिन मुलुकले आन्तरिक तयारी गर्नु पर्ने बताए ।

‘नेपालभित्र संभावित क्षेत्रहरुमा लगानी भित्र्याउनु आवश्यक रहेको छ,’ उनले भने ‘नेपालले पूर्वाधार, सडक, रेलमार्ग लगायत क्षेत्रमा केन्द्रित भई छिमेकी मुलुकहरु चीन, भारत तथा दक्षिण एशियाली राष्ट्रहरुबीच पुलको रुपमा आफुलाई स्थापित गर्नु पर्ने हुन्छ ।’ साथै बीआरआई नेपालको सदस्यताबाट लाभ लिने अवसर नयाँ बन्ने सरकारले लिन सक्नुपर्ने उनको जोड छ ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव शंकर दास वैरागीले बीआरआई भौतिक सम्बन्ध विस्तार मात्र नभई विचार, व्यापार, अर्थ तथा जनस्तरको सम्बन्ध विस्तार समेत भएको विचार राखे । उनले बेल्ट एण्ड रोड इनिसिएटिभ बृहत्त अवधारणा रहेको र यसबाट लाभ लिन विभिन्न विधिबाट अगाडी बढ्न सकिने बताए । चिनिया राजदूत यु होङले बीअरआई अवधारणा चीनले शुरुवात गरेको भएता पनि हाल आएर यो चीनको मात्र अवधारणा नभएर यसमा सहभागि सम्पूर्ण मुलुकहरुको साझा अवधारणा भइसकेको बताए । बीआरआईको माध्यमबाट चीन र नेपाल झनै नजिक हुने उनको धारणा थियो ।