काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा रहको संस्थापक (प्रमोटर) सेयर बिक्री नभएपछि म्याद थप गरेको छ ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन माघ २८ गतेसम्म पर्याप्त आवेदन नपरेपछि नेपाल इन्स्योरेन्सले फागुन ८ गतेसम्मलाई म्याद थप गरेको हो । नेपाल इन्स्योरेन्सले एनसीसीमा रहेको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्युनतम मूल्य राखेर लिलामी गर्न लागेको हो । शिलबन्दी बोलपत्र फागनु ९ गते अपराहन्न ४ बजे खोलिने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
सेयर खरिद गर्नेले बैंकले यसअघि घोषणा गरेको हकप्रद सेयर र अघिल्ला आर्थिक बर्षहरुको नाफाबाट दिने बोनस सेयर समेत पाउने नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले जानकारी दिए ।
प्रतिकित्ता न्युनतम १७० रुपैयाँ राखेर बोलपत्र आब्हान गर्दा पनि बिक्री नभएपछि एनबी समूहको २१० रुपैयाँको संस्थापक सेयर पनि बिक्री नहुने संभावना देखिएको छ । एनबीको संस्थापक सेयर नेपाल इन्स्योरेन्सको भन्दा ४० रुपैयाँ महंगो छ । एनबी समूहले न्युनतम मूल्य २१० रुपैयाँ राखेर ७० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको भोलिपल्ट नेपाल इन्स्योरेन्सले पनि कम मूल्यमा बैंकमा रहेको संस्थापक सेयर लिलामी गर्ने सूचना प्रकाशित गरेको थियो ।