काठमाडौं । १४ वटा निर्जीबन बीमा कम्पनीहरुले ६ महिनामा एक अर्ब २८ करोड ८२ लाख रुपैंयाँ नाफा कमाएका छन् । हालसम्म वित्तिय विवरण सार्वजनिक गरेका १४ कम्पनीले २०७४ पुस मसान्त अवधीमा २३ करोड ४८ लाख नाफा बढाएर एक अर्ब २८ करोड ८२ लाख पुर्याएका हुन् । २०७३ पुस मसान्तमा यीनै कम्पनीहरुको नाफा एक अर्ब ५ करोड ३४ लाख रुपैंयाँ थियो ।
१४ कम्पनीमध्ये पनि राष्ट्रिय बीमा कम्पनीले सर्वाधिक ३७ करोड २५ लाख नाफा कमाएको छ । तर कम्पनीले आफ्नो व्यवसायबाट भने सो नाफा आर्जन गरेको होइन् । नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले नगद लाभांश बाँढेकाले कम्पनीको नाफा बढेको हो । यी दुबै बैंकमा कम्पनीको सेयर रहेको छ ।
दोश्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले १९ करोेड ६६ लाख र तेश्रो स्थानको नेको इन्स्योरेन्स कम्पनीले ११ करोड ६५ लाख नाफा कमाउन सफल भएको छ ।
सिद्धार्थ इन्स्योरेन्सले ८ करोड ७८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ८ करोड ४२ लाख, एनएलजीले ७ करोड ८५ लाख, सगरमाथाले ७ करोड २ लाख नाफा कमाएका छन् ।
थोरै नाफा कमाउने इन्स्योरेन्स कम्पनीमा भने प्रभु परेको छ, उसले जम्मा एक करोड २९ लाख मात्रै नाफा आर्जन गरेको देखिन्छ ।