काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा अनुसन्धान भइरहेको विभिन्न १२ विभिन्न ठूला गाडी बिक्रेता कम्पनीमध्ये ६ कम्पनीको फाइल जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा जाहेर गरिएको छ ।
इस्टर्न एजेन्सी प्रालि, जिओ अटो मोबाइल्स, कन्टीनेन्टल ट्रेडिङ प्रालि, एड्भान्स्ड अटोमोबाइल्स प्रालि लगायतको फाइल जाहेर गरिएको छ ।
विभागका शाखा अधिकृत राजेशकाजी श्रेष्ठले उक्त कम्पनीहरुका फाइलहरु बुधबार मुद्वाअगाडी बढाउने उद्धेश्यले राय सुझाबको लागि सरकारी वकिल समक्ष जाहेर गरिएको बताए । ‘उनीहरुबाट विभागले कुन मुद्वा, कसरी लिएर अघि बढ्ने राय सुझाब मिल्ने छ,’ उनले भने ।
उनका अनुसार विभागले केही हप्तादेखि एक दर्जन गाडी बिक्रेता कम्पनीहले बढी मूल्य लिएको आशंकामा अध्ययन भइरहेको थियो । जसबाट ६ कम्पनीको फाइल वकिलसमक्ष जाहेर गर्ने सोमबार विभागले निर्णय गरेको थियो । कम्पनीहरुले गाडी बिक्री गर्दा २० प्रतिशतभन्दा बढी नाफा लिएको अध्यनको निचोड निस्किएपछि फाइल जाहेर गरिएको हो ।
त्यस्तै विभागका निर्देशक लक्ष्मण श्रेष्ठले ती कम्पनीहरुलाई हदैसम्मको कार्बाही गर्नको लागि दरिलो आधार बनाउन पनि सरकारी वकिलको रायसुझाब अवश्यक हुने भएकोले विभागले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल बुझाएको बताए । ‘वकिलहरुको राय सुझाब आएपछि कार्बाहीको प्रक्रियामा विभाग अघि बढ्ने छ,’ उनले भने ।
महिनादिनअघि मात्रै विभागले मारुती कारको आधिकारीक बिक्रेता अरुण इन्टरकन्टिनेन्टल टेडर्स र महिन्द्रा स्कोर्पियाको आधिकारीक बिक्रेता अग्नी इन्कपोरेटेडले विभिन्न शिर्षकमा गाडी बिक्री गर्ने क्रममा बढी मूल्य लिएको भन्दै महनागर प्रहरी परिसर टेकुमा फाइल बुझाएको थियो ।