काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा लक्ष्यको झण्डै ५३ प्रतिशत राजश्व संकलन भएको छ । चालु आवको माघसम्म सरकारले ३ खर्ब ८५ अर्ब १९ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
सरकारले चालु आवमा ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । ७ महिनामा लक्ष्यको आधा भन्दा ३ प्रतिशत बढी राजश्व संकलन गरेको छ ।
७ महिनामा सरकारले कुल बजेटको ३५.६४ प्रतिशत खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार माघसम्म सरकारले ४ खर्ब ५५ अर्ब ८८ करोड रुपैयाँ बजेट खर्च गरेको छ । चालु आवमा सरकारले १२ खर्ब ७९ अर्ब ९९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।
यसमध्ये चालुखर्च ४५.३८ प्रतिशत भएको छ । गत माघसम्म ३ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ चालु खर्च भएको छ । सरकारले चालु आवमा ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ चालु खर्चका लागि बजेट विनियोजन गरेको छ ।
यस्तै विकास खर्च २० प्रतिशत नजिक पुगेको छ । चालु आवमा सरकारले ६६ अर्ब १९ करोड रुपैयाँ विकास खर्च गरेको छ । चालु आवमा सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
वित्तीय व्यवस्थापनमा विनियोजन गरिएको मध्ये १७.८६ प्रतिशत खर्च भएको छ । यसअन्र्तगत हालसम्म २५ अर्ब ५ करोड रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ । राजश्व संकलन र खर्चको तुलनामा सरकारको वजेट घाटा ७० अर्ब ६९ करोड १२ लाख रुपैयाँ छ ।