काठमाडौं । नेपाल राष्ट्र बैंकमा सञ्चालक हुनका लागि दौड सुरु भएको छ । बालकृष्ण मान सिंहको (बीकेमान सिंह) पदावधि सकिन लाग्दा पूर्वसचिव, पूर्वकार्यकारी निर्देशकको सञ्चालक बन्न दौड शुरु भएको हो ।
सञ्चालक सिंहको कार्यकाल फागनु ४ गते सकिँदै छ । सिंह २०६९ फागुन ४ मा सञ्चालक भएका थिए । सञ्चालकको अवधि ५ वर्षको हुन्छ ।
सञ्चालक हुन पूर्वकार्यकारी निर्देशक शिवनाथ पाण्डे र भाष्करमणि ज्ञवाली दौडमा रहेका छन् । यस्तै पूर्वसचिव विमलप्रसाद वाग्ले र कृष्ण ज्ञवाली पनि दौडमा रहेको स्रोतले बतायो ।
राष्ट्र बैंकमा अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ रहेका छन् । यस्तै डा. श्रीराम पौडेल, रामजी रेग्मी र बीकेमान सिंह सञ्चालक छन् ।
गभर्नर सञ्चालक समितिका अध्यक्ष हुन्छन् । डेपुटी गभर्नर र अर्थसचिव बाहेक अन्य ३ जना सञ्चालक बाहिरबाट नियुक्त हुने गरेको छ ।
सञ्चालक हुनका लागि अर्थशास्त्री, मौद्रीक विज्ञ, बैंक तथा वित्त र वाणिज्य कानूनको ज्ञाता हुनुपर्ने व्यवस्था छ । सञ्चालकको नियुत्ति मन्त्रिपरिषदले गर्छ ।