चितवन । मौरी चराउन चितवनका ४ सय किसान चिउरी फूल्ने पहाडतिर लागेका छन् । अहिले मौरीले मह पार्ने मौसम भएकाले फूलको नजिक घार बोकेर किसान पहाड पुगेका हुन् ।

चितवनको शक्तिखोर सिद्धी क्षेत्रमा मात्रै एक सय भन्दा बढी किसान अहिले मौरी चराउन पुगेको चितवनका मौरिपालक किसान शिवप्रसाद पौडेलले बताए । उनी १ सय १० घार मौरीको घार लिएर चितवनको विकट क्षेत्र सिद्धी पुगेका छन् ।
उनीसँगै रोशन पंण्डित, श्याम गुरुङ, प्रल्हाद अर्याल, नगेन्द्र थापा, गीता देवकोटा, लक्ष्मीनारायण मानन्धर, पदम अम्गाई, बालकृष्ण चापागार्इं, सोमलाल चौधरी, मदन मोक्तान र अशोक थपलिया पनि अहिले मौरी चराउन घार लिएर पहाडी क्षेत्र पुगेका छन् ।
नेपाल मौरीपालक महासंघ चितवनका अध्यक्ष रोशन पंण्डितको १ सय घार मौरी पनि अहिले सिद्धीमै छ । यसपाली उत्पादन राम्रो रहेको छ तर बजारको भने समस्या रहेको उनले बताए ।
किसानलाई अहिले मह निकाल्न भ्याइनभ्याइ छ । जिल्लामा करिब ४०० मौरीपालन किसान रहेका छन् । अहिले महको थोक मूल्य प्रतिकिलो रु २८० देखि रु ३०० तथा खुद्रा मूल्य रु ५०० को हाराहारीमा रहेको किसानले बताएका छन् । रासस