
काठमाडौं । नेपाली क्रिकेट टिमले अब विश्वकप छनौट खेल्न पाउने भएको छ ।
नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलमा क्यानडालाई पराजित गरेपछि विश्वकप खेल्ने पक्का भएको हो ।
बुधबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको छ ।
विन्डहुकस्थित वान्डरर्स क्रिकेट मैदानमा क्यानडाले दिएको १९५ रनको लक्ष्य जवाफमा ५० ओभरमा ९ विकेट गुमाएर पुरा गरेको छ ।अब नेपाल डिभिजन टु को फाइनलमा पुगेको छ । यस्तै नेपालले मार्चमा जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ ।
बसन्त रेग्मीले ३ विकेट लिए भने सन्दिप लामिछानले २ विकेट लिए । घुँडाका चोटका कारण सन्दिपको बलिङ प्रभावित भएको थियो । उनले ९ ओभर मात्र बलिङ गरे । शरद भेषावकरले र करण केसीले एकएक विकेट लिए ।