काठमाडौं । एनआइडीसी डेभलपमेन्ट बैंकले साधारण सेयरधनीलाई पैसा लिन बोलाएको छ । राष्ट्रिय बाणिज्य बैंकसँग मर्जमा जाने निर्णय गरेको बैंकले साधारण सेयरधनीलाई प्रतिकित्ता ४ हजार ४ सय ८४ रुपैंयाँ ३० पैसाका दरले सेयर बेच्न भनेको हो । एनआईडीसी डेभलपमेन्ट बैंकमा सर्वसाधारणको ३० हजार ९ सय १० कित्ता सेयर रहेको छ । बैंकले आफ्नो जगेडा कोषमा रहेको रकमबाट साधारण सेयरधनीको सेयर खरिद गर्ने निर्णय गरेको हो ।
तर सबै सेयरधनीले आफ्नो सेयर नबेचेमा भने एनआइडीसीले राष्ट्रिय बाणिज्य बैंकको सेयर मूल्यमा समायोजन गर्नेछ । अर्थात ०.७४ प्रतिशत सेयर स्वामित्व ओगटेका सबै साधारण सेयरधनीले सेयर नबेचेमा भने उनीहरुको सेयर स्वामित्व बाणिज्य बैंकको सेयरमा सर्नेछ । अर्थमन्त्रालयको निर्णय अनुसार नै एनआइडीसीको बिशेष साधारण सभाले सबै साधारण सेयर खरिद गर्ने तर सबैले बेच्न नचाहेमा बाणिज्य बैंकमा समायोजन गरिदिन उपयुक्त हुने राय दिएको थियो ।
अब साधारण सेयरधनीले ९० दिन भित्र आफ्नो सेयर बेच्न सक्नेछन् । अन्यथा राष्ट्रिय बाणिज्य बैंकको सेयर मूल्यमा समायोजन भएर उनीहरु बाणिज्य बैंकका लगानी कर्तामा रुपान्तरित हुनेछन् । ‘सबै सेयरधनीले बेचे भने किन्ने हो नत्र बाणिज्य बैंकको सेयर मूल्यमा समायोजन हुन्छ, अहिले एनआइडीसीका साधारण सेयरधनी त्यसपछि बाणिज्य बैंकका सेयरधनी हुनेछन्’, राष्ट्रिय बाणिज्य बैंकका अध्यक्ष रविन्द्र पाण्डेले विकासन्युजसँग भने ।