काठमाडौं । कम्पनी खारेजीको संख्या ६७ प्रतिशत बढेको छ । पछिल्लो समय सरकारले ल्याएकोे कम्पनी खारेजी प्याकेजको कारण संख्या बढेको हो । कम्पनी रजिस्ट्रारको कार्यालको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खारेज संख्या ६७ प्रतिशत बढेको छ ।

सरकारले उक्त प्याकेज ल्याए यता चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ६ महिनामा ३२८ कम्पनीहरु खारेज भएका छन् । जबकी गएको वर्षको सोही अबधिमा १९६ कम्पनी मात्रै खारेज भएको कार्यालयको भनाइ छ । रजिस्ट्रारको कार्यालयको तथ्याङ्क अनुसार दुधकोशी प्रेस एण्ड सप्लायर्स, प्रोजेक्ट फर स्कुल नेपाल, एसपि कृषि तथा पशुपालन प्रालि, हिमावारी एजुकेशन कन्सल्टन्सी, सप्तर्षि एकेडेमी गोलबजार, सवल खाद्य उद्योग प्रालि, काव्य मिडिया लगायत कम्पनीहरु खारेज भएका छन् ।
सरकारले गएको वैसाख १९ गतेदेखि लागु हुनेगरी कम्पनी खारेजीको प्याकेज ल्याएको रजिस्ट्रारको कार्यालय प्रमुख गीता कुमारी होमेगाँईले बताइन् । उनका अनुसार उक्त २०७४ वैशाख १९ भन्दाअघि कारोबार सञ्चालन नभएका विभिन्न किसिमका कम्पनीहरु खारेजीको प्याकेजमा आउन सक्नेछन् ।
प्याकेज अनुसार कम्पनीले जरिवाना रकम अथवा कम्पनीको चुक्ता पूँजीको शून्य दशमलब ५ प्रतिशत हुन आउने रकम मध्ये कुनै पनि जरिवाना भुक्तानी गर्न सक्नेछ । ‘प्याकेज आउनभन्दा अघि जरिवाना रकम बढी थियो,’ उनले भनिन् ‘प्याकेजको कारण सञ्चालन नभएका कम्पनीहरु खारेज गर्न आउने अपेक्षा गरेका थियौं तर, त्यस्तो भएन ।’
अपेक्षा अनुसार कम्पनीहरु खारेजीको लागि नआएको उनको भनाइ छ । ‘कार्यालयमा धेरै कम्पनीहरु दर्ता रहेका छन्,’ उनले भनिन् ‘तर, अपडेट भएका कम्पनीको संख्या कम छन् ।’ विगतमा लामो समयसम्म भएको द्वन्द, भुकम्प लगायको कारणले कम्पनीहरु सञ्चलनमा आउन नसकेको उनको बुझाइ छ । सञ्चालन हुन नसकेका त्यस्तो कम्पनीहरुको खारेजी अहिलेको अवश्यकता रहेको उनले बताइन्।
नियम अनुसार सम्पूर्ण आवश्यक प्रक्रिया अपनाएपछि सहजै कम्पनी खारेज गर्न सकिन्छ । ‘खारेज गर्न बाहिर आएजस्तो जडितलता छैन,’ उनले भनिन् । खारेजीको प्याकेज लागु भएको मितिले २ वर्षसम्म कायम रहेने रजिस्ट्रार कार्यालयले जनाएको छ ।
त्यस्तै कार्यालयको अनुसार गएको ६ महिनाको अबधिमा २७ ओटा सार्बजनिक कम्पनी, १० हजार ५५६ निजी कम्पनी र २०८ वटा मुनाफा वितरण नगर्ने कम्पनीको दर्ता सम्बन्धि कार्य सम्पादन भएको छ । सो अबधिमा १७ वटा कम्पनी गाभिएको, ४ हजार २३७ कम्पनीको शेयर खरिद विक्री वा जगेडा शेयर बिक्रि र मृत्युपछिको शेयर नामसारी(शेयर लागत) गरिएको कार्यालयले बताएकाे छ ।