काठमाडौं । आयातमा निरन्तर वृद्धि र रेमिट्यान्स आप्रवाह कमी आउन थालेपछि मुलुकको विदेशी मुद्रा संचिती घटेको छ ।चालु आर्थिक वर्षको ६ महिनामा विदेशी विनिमय संचिती १.१ प्रतिशत घटेपछि यसको असर वस्तुत आयातको समय पनि घटेको छ ।

हालको विदेशी विनिमय संचितिले १०.६ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्ला महिनामा एक वर्षका लागि वस्तु तथा सेवा आयात धान्ने गरी विदेशी विनियम संचित हुने गरेकोमा आयात बढेको र रेमिटेयान्स आप्रवाह घटेपछि यसको असर परेको हो ।
गत असार मसान्तसम्म १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेकोमा पुस मसान्तमा कमी आई १० खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँमा झरेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.९ प्रतिशत रहेको छ ।
वाह्य क्षेत्रतर्फ, चालू आर्थिक वर्षको पहिलो छ महिनामा आयातमा उच्च वृद्धि भएको एवम् विप्रेषण आप्रवाहमा केही कमी आएकोले चालू खाता घाटामा वृद्धि भई ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको छ महिनामा ४५ अर्ब रुपैयाँ बचतमा थियो ।
यस्तै वैदेशिक व्यापार घाटा १५ प्रतिशत बढेर ४ खर्ब ४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । यसले गर्दा मुलुकको समग्र शोधनान्तर ६ अर्ब ६६ करोडले घाटामा गएको छ । मुलुकको अर्थतन्त्र घाटामा गएपनि वाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै रहेको राष्ट्र बैंकको दावी छ ।
विनिमय दर मजवुत
गत असारको तुलनामा पुस मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.३ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दर १.७ प्रतिशतले अवमूल्यन भएको थियो । गत पुस मसान्तमा अमेरिकी डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा पुगेको छ । २०७४ असार मसान्तमा उक्त विनिमय दर १०२ रुपैयाँ ८६ पैसा थियो ।