काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएकैदिन स्थिर सरकार आउने आशामा सेयर बजार बढेको छ । बिहीबार नयाँ प्रधानमन्त्री ओलीलाई सेयर बजारले स्वागत गरेको छ ।
बिहीबार बजार ३६ अंकले बढेर नेप्से परिसुचक १ हजार ४२५ अंकमा पुगेको छ ।चुनाव लगत्तै ओरालो लागिरहेको सेयर बजार एमालेको सरकार बनेको दिन एक्कासी उकालो लागेको हो ।
एमालेका अध्यक्ष ओलीले नयाँ सरकार बनेपछि सेयर बजार तथा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताएका कारणले बिहीबारको बजारमा उछाल आएको हो । उनले एमालेको सरकार बनेपछि सेयर बजार गिरावट रोकिने र सेयर बजारमा उछाल आउने भन्दै लगानीकर्नाको विश्वास जित्ने प्रयास गरेका थिए । केही दिनअघि ओलीले सेयर बजारमा मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने बताएको केही दिन बजार बढेको थियो ।
बजारमा नेप्से परिसूचक सँगै सेयर कारोबारमा पनि सुधार आएको छ । बिहीबार ६६ करोड ३३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा २७ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा ३८ करोडको सेयर कारोबार भएको थियो ।
सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ । कुमारीको प्रतिकित्ता २८१ रुपैयाँमा ३ करोड ५८ लाख रुपैयाँ सेयर कारोबार भएको छ । दोस्रामा नेपाल इन्भेष्टमेन्ट बैंकको कारोबार भएको छ । इन्भेष्टमेन्टको प्रतिकित्ता ६८५ मा ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबार कारोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह २१३ अंकले उकालो लागेको छ ।
बजारमा सबैभन्दा बढी श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता २२ रुपैयाँ कमाएका छन् ।