काठमाडौं । संस्थागत लगानीकर्तालाई खुला गर्दा पनि बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) बिक्री भएको छैन । सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त आवेदन नपरेपछि बीपीसीले गत शुक्रबारदेखि संगठित संस्थालाई एफपीओ बिक्री खुला गरेको थियो ।
बुधबारसम्म १ अर्ब ३५ करोड रुपैयाँ बराबरको २६ लाख ९४ हजार ६१० कित्ता एफपीओ मात्र बिक्री भएको बिक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।
गत माघ १५ गतेदेखि बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको हो ।
आवेदन धेरै परेपनि लगानीकर्ताले कम रकम माग गर्दा एफपीओ बिक्री कम देखिएको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीजेस घिमिरेले बताउँछन् ।
“अहिलेसम्म एफपीओ खरिदका लागि ८३ हजार २२० वटा आवेदन परेको छ” उनले भने “यति धेरै आवेदन पर्दा पनि बिक्री नहुनु भनेको सबैमा १० कित्ताको मनोवैज्ञानिक असर भएको हो । सबैले अन्तिम दिन कुरेको पाएका छौ । फागुन १५ गतेसम्म एफपीओ बिक्री हुने छ ।”
बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बीपीसीले ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाका लागि एफपीओ ल्याएको हो । २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ ।
एफपीओ खुल्ने बित्तिकै सामाजिक सञ्जालमा बीपीसीका विरुद्ध नकरात्मक टीकाटिप्पणी भएपछि यसको असर परेको हो । धरै नपर्ने आशंकामा लगानीकर्ताले बढीमा २० कित्ता मात्र आवेदन हालेको पाइएको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।
आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको छ । दुई महिना अघिसम्म बीपीसीको सेयर मूल्य प्रतिकित्ता ७४६ रुपैयाँ पुगेको थियो ।
बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् । एफपीओ निष्कासन गरेपछि मात्र बीपीसीले लाभांश घोषणा गर्ने भएको छ । गत आर्थिक वर्षमा बीपीसीले ६४ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेको छ । बीपीसीले गत पुससम्म ५९ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा १३ करोड ९ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । हिमाल पावर लिमिटेडबाट गत आर्थिक वर्षमा गरेको नाफाबाट ४९ करोड ६० लाख रुपैयाँ लाभांश प्राप्त गरेपछि नाफा बढेको बीपीसीले जानकारी दिएको छ । ६० मेगावाटको खिम्ती आयोजनामा बीपीसीको १७ प्रतिशत स्वामित्व छ ।