काठमाडौं । मुलुकको ४१ औं प्रधानमन्त्रीका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारदेखि कार्यभार सम्हालेका छन् । भारतीय नाकाबन्दी सामु नझुकेर राष्ट्रियता र स्वाभिमानका पक्षमा उभिएर लोकप्रियताको शिखरमा पुगेका ओली सामु आगामी दिनमा अवसर र चुनौती दुबैको ठुलो चाङ छ । राष्ट्रियताको चर्को नारा, पानी जाहाजदेखि चीनबाट रेल ल्याउने महत्वकाँक्षी योजना ल्याएर एकाएक चर्चाको शिखरमा पुगेको प्रधानमन्त्री ओलीले कसरी पुरा गर्छन हेर्न बाँकी छ ।

सिमित श्रोत-अधिकत आवश्यकता
खर्चिलो व्यवस्था, सुस्त कर्मचारी प्रशासन र पुरातन कार्यशैली, सानो आकारको बजेट लगायतका अनेकौं चुनौती ओलीका सामुन्ने छ । ओली आफैं विकास र समृद्धिको नारा बाढेर लोकप्रियताको शिखरमा पुगेका राजनीतिज्ञ हुन् । उनले समुन्द्र पानी जहाजदेखि चिनियाँ रेलसम्मको सपना बाढेका छन् । त्यसका अलवा वृद्ध भत्तालाई ५ हजार रुपैयाँ पुर्याउने घोषणा पनि गरेका छन् । उनले आफ्ना पुर्वप्रतिवद्धताको कार्यान्वयन कुन ढंगले अघि बढाउँछन्, त्यो महत्वपुर्ण कुरा हुनेछ ।
सरकार र न्यायलय टक्कर
नेपालमा पछिल्लो समय सरकार र सरकारबीच टक्कर चलिरहेको छ । तत्कालिन प्रधानन्यायधिश सुशिला कार्कीमाथीको महाअभियोग प्रकरण, आईजीपी नियुक्त प्रकरण जस्ता घट्नाहरुले न्यायलय र सरकारको सम्बन्ध बिग्रिएको देखिन्छ । गोपाल पराजुली नेतृत्वको न्यायलयसँगको सुमधुर सम्बन्ध स्थापित गर्नु पनि ओलीका लागि कम चुनौतीपुर्ण भने पक्कै पनि छैन् ।
अन्तरपार्टी शक्ति सन्तुलन र वृहत्तर मोर्चा निर्माण
ओलीलाई सीमित गुटको घेरामा बसेर पार्टी सञ्चालन गरेको आरोप लाग्दै आएको छ । प्रदेश सरकार गठन र प्रदेशमा मन्त्रीहरुको नियुक्तले पनि ओलीको गुटिय चरित्रलाई उदांगो पारेको छ । उनलाई वर्तमान एमालेमा शक्ति सन्तुलनका साथै माओवादी केन्द्रसँगको पार्टी एकतापछि पनि शक्ति सन्तुलन र एकता कायम गराउनु अत्यावश्यक छ । आफ्नो सीमित गुटको घेराबाट बाहिर निस्केर वृहत्तर देशको हितमा काम गर्नु पनि ओलीका लागि अर्काे चुनौती हो ।
सन्तुलित छिमेक सम्बन्ध
ओलीलाई परराष्ट्र सम्बन्ध बिगारेको आरोप लगाउनेहरु थुप्रै छन् । उनले बिशेष गरी भारतलाई चिढ्याएर चीनसँग नजिकिएको आरोप खेपिरहेका छन् । दुई ठुला छिमेकीलाई समदुरीमा राखेर सन्तुलित विदेश नीति मार्फत देशको स्वाभिमान जोगाउनु उनको अर्काे चुनौती हो ।
ओलीलाई अवसरै अवसर
ओलीका अगाडी चुनौती मात्रै छैनन् । ओली अवसरै अवसरको चाङमा पनि छन् । २०७५ सालको नयाँ बर्षमा मेलम्चीको पानी राजधानीबासीका धारामा आइपुग्नेछ । त्यस्तै, आउदो मंसिर भित्र ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाबाट विद्युत उत्पादन भएर राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ । यी दुबै आयोजनाको उद्घाटन गर्ने अवसर ओलीले पाउनेछन् । वाकपटुतामा अब्बल ओलीले यी दुबै आयोजना आफैंले सम्पन्न गरेको ‘जस’ लिने अवसर ओलीले नै पाउनेछन् ।
अबको १८ महिना भित्र गल्छी–त्रिशुली–रसुवागढी सडक दुईलेनमा कालोपत्रै भैसक्नेछ भने बेनी–जोमसोम–कोरला सडक पनि स्तरोन्नति भैसक्नेछ । ओली आफैंले चिनियाँ नाका जोड्ने यी सडकहरुको स्तरोन्नतिका लागि यथेष्ठ बजेट विनियोजन गरेका थिए । यी दुबै सडक उद्घाटन ओलीकै पालामा हुनेछ ।
तातोपानी नाका प्रवेशको मार्ग पनि नयाँ ढंगले पुनस्थापित हुनेछ । त्यसबाहेक किमाथांका र हिल्सा नाकाबाट पनि चिनियाँ बजार प्रवेश सहज बनिसक्नेछ ।
यहि अवधीमा काठमाडौं–निजगढ फास्ट ट्रयाकको निर्माण कार्य सम्पन्न हुनेछ भने भैरहवा विमानस्थलको निर्माण सम्पन्न भैसक्नेछ । पोखरा विमानस्थल निकै अघि बढिसक्नेछ भने निजगढ विमानस्थलको कामले पनि धेरै गति लिईसकेको हुनेछ । १२०० मेगावाट क्षमताको जलासययुक्त बुढिगण्डकी आयोजनाको निर्माणले पनि एउटा गति प्राप्त गरिसक्नेछ । हुलाकी राजमार्गको अधिकांश काम सम्पन्न भैसक्नेछ भने मध्यपहाडी लोकमार्गको निर्माणले पनि धेरै गति पाइसक्नेछ ।
करिब १० अर्ब खर्चेर देशभर अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भैसकेको हुनेछ । यसले जनतामा सूचना प्रबिधीको पहुँच व्यापक रुपले विस्तार मात्रै गर्ने छैन् । सबै जसो सामुदायीक विद्यालयमा द्रुतगतिको इन्टरनेट सुबिधा प्रदान गर्नेछ । त्यस बाहेक जनकपुर–बिजलपुरा खण्डमा रेल गुडिसक्नेछ भने बर्दिबास–लालबन्दी हुँदै सिमरासम्मको रेल मार्ग तयार भैसकेर सो भन्दा पुर्व र पश्चिमको रेलमार्ग निर्माणले पनि धेरै गति लिईसकेको हुनेछ । केरुङ–काठमाडौं विद्युतिय रेलमार्गको अध्ययन सम्पन्न गरेर निर्माण प्रक्रिया अघि बढिसकेको हुनेछ भने काठमाडौं बिरगञ्ज विद्युतिय रेलमार्गको काम पनि द्रुत गतिमा अघि बढिरहेको हुनेछ । काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणको काम पनि धेरै मात्रामा अघि बढिसक्नेछ ।
ओली सरकारको सानो पहल कदमीले मात्रै धेरै विकासका कामले स्वभाविक रुपले गति पाउनेछन् । सरकारले दृढ इच्छा शक्ति देखाउने हो भने अन्य धेरै कामले गति लिनेछन् । जसका कारण नागरिकले देश विकासको बाटोमा अघि बढेको महसुश गर्नेछन् ।