काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा प्रवेश गरेको भन्दै सबै प्रदेशको समानुपातिक आर्थिक विकास आवश्यक रहेको बताए । त्यसको लागि स्वदेशी तथा विदेशी लगानी भित्राउन प्रदेश–प्रदेशबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने उनको भनाइ छ ।
‘उद्योग, व्यापार, कृषि एवम् पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार दाङको घोराहीमा आयोजित चौथो दाङ व्यापारिक तथा पर्यटन महोत्सवमा उनले त्यस्तो धारणा राखेका थिए ।
उनले छिमेकी देश भारतको प्रदेश सरकारले लगानी भित्राउन विभिन्न विदेशी लगानी र निजी क्षेत्रलाई सुविधा दिने गरेको स्मरण गर्दै नेपालमा पनि समुचित लगानी भित्राउन प्रदेश–प्रदेशबीच प्रतिस्पर्धा हुनु पर्ने उनको बुझाइ छ । कार्यक्रममा विभिन्न वत्ताहरुले दाङमा कृषि, पर्यटन र खानी उद्योगको क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै सोको विकासको लागि निजी क्षेत्र र लगानी गर्न इच्छुक सबै मिलेर काम गर्न पर्ने जोड दिइएको थियो ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा लगायतको उपस्थिति रहेको थियो ।