स्थिर सरकारसँग आशावादी निजी क्षेत्र, दोहोरो करको त्रास कायमै

<p>काठमाडौं । स्थिर सरकारको नारा लिएर निर्वाचन जितेको बाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएसँगै निजी क्षेत्र उत्साहित भएको छ । उत्साहित निजी क्षेत्रको एउटा ज्वलन्त उदाहरण बिहिबार सेयर बजारमा पनि देखिएको थियो । निरन्तर ओरालो लागेको सेयर बजार बिहिबार ३६ अंकले बढेको थियो । सेयर बजार मात्रै होइन, निजी क्षेत्रका नेतृत्वकर्ताहरुले [&hellip;]</p>

काठमाडौं । स्थिर सरकारको नारा लिएर निर्वाचन जितेको बाम गठबन्धनका तर्फबाट एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएसँगै निजी क्षेत्र उत्साहित भएको छ । उत्साहित निजी क्षेत्रको एउटा ज्वलन्त उदाहरण बिहिबार सेयर बजारमा पनि देखिएको थियो । निरन्तर ओरालो लागेको सेयर बजार बिहिबार ३६ अंकले बढेको थियो । सेयर बजार मात्रै होइन, निजी क्षेत्रका नेतृत्वकर्ताहरुले पनि स्थिर सरकारसँग आशा जागेको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले भने–‘स्थायी सरकार आएसँगै निजी क्षेत्र उत्साहित भएको छ, सरकारसँग सहकार्य गर्न आतुर छौं, मिलेर देशको आर्थिक विकास र समृद्धिको यात्रा तय गर्छाै ।’ सबै राजनीतिक दलहरुले निर्वाचनको घोषणा पत्रमा विकास र समृद्धिलाई मुल एजेण्डा बनाएकाले निजी क्षेत्रमा उत्साह थपिएको पनि उनले बताए । उनले नयाँ सरकार निजी क्षेत्र मैत्री हुने विश्वास पनि व्यक्त गरे ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले पनि नयाँ सरकारसँग निजी क्षेत्र उत्साहित भएको प्रतिक्रिया दिए । ‘नयाँ सरकारसँग हामी धेरै उत्साहित भएका छौं, विकास र समृद्धिका कुरा गर्ने नेता प्रधानमन्त्री बन्नु भएको छ, हामी सहकार्य गरेर देश विकासमा लाग्छौं’, परिसंघ उपाध्यक्ष अग्रवालले भने ।
उनले नयाँ सरकारले पुराना कानुनहरुको संसोधनलाई उच्च प्राथमिकतामा राख्नुपर्नमा पनि जोड दिए ।

प्रदेश र स्थानीय सरकारका कारण दोहोरो करको त्रास भने उद्योगी व्यवासयीमा कायमै रहेको अग्रवालले बताए । ‘तीन तहको सरकार बनेको छ, दोहोरो करको मारमा परिन्छ की भन्ने त्रास हटेको छैन, नयाँ सरकारले बेलैमा स्पष्ट पारोस’, अग्रवालले भने ।

बिहिबार नै परिसंघ र चेम्बरले प्रेस विज्ञप्ति प्रकाशित गरेर नयाँ सरकारलाई स्वागत गरेका छन् । दुबै संस्थाले नयाँ सरकारको अगुवाईमा मुलुकले विकास र समृद्धिको यात्रा तय गर्ने र निजी क्षेत्रले सहयोग गर्ने बताएका छन् ।

Share News