काठमाडौं । इण्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ घटाएको सूची पठाए पनि नेपाल आयल निगम लिमिटेड (एनओसी) ले मूल्य नघटाउने भएको छ ।
आईओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सुचि नेपाल आयल निगमलाई पठाउने गरेको छ । यो पटक आईओसीले पेट्रोलियमको भाउ घटेको मूल्य सुचि पठाए पनि एनओसीले नघटाउने भएको हो ।
भारतमा बढ्दा नेपालमा पनि बढ्ने र त्यहाँ घट्दा यहाँ पनि घट्ने स्वचालित मूल्य प्रणाली विपरित निगमले मूल्य समायोजन नगर्ने भएको हो । निगमले करोडौ रुपैयाँ अझै संचित नोक्सान भएको जिकिर गर्दै मूल्य नघटाउने बताएको छ । स्वचालित मूल्य प्रणाली लागु गरेको निगमले भारतबाट भाउ बढेको मूल्य सूचि आउने वित्तिकै यहाँ पनि मूल्य बढाउने गरेको छ ।
अन्तराष्ट्रिय बजारमा निरन्तर भाउमा कमी आएपछि भारतमा पनि पेट्रोलियमको मूल्य घटेको छ । १० दिनदेखि भारतमा लगातार पेट्रोलियम पदार्थको भाउमा गिरावट आइरहेको फाइनान्सियल एक्सप्रेसले अनलाईन संस्करणमा उल्लेख गरेको छ । शुक्रबार ब्रेन्ट क्रुड आयलको मूल्य घटेर प्रतिव्यारेल ६४.३३ डलरमा झरेको छ । अघिल्लो महिना प्रतिव्यारेल ७१ डलर थियो । भारतमा पेट्रेलमा ८९ पैसा र डिजेलमा १ रुपैयाँ भारु भाउ घटेको छ ।
पेट्रोलियम पदार्थमा केही महिनादेखि निगम घाटामा गएको भन्दै मूल्य यथावत राखिएको निगमका प्रवक्ता वीरेन्द्र गोईतले बताए ।
भारतबाट केही मात्रामा पेट्रोल र डिजेलको मूल्य घटेर आएको गोइतले स्वीकारे । केही महिनादेखिको घाटा अझैसम्म कायम रहेकोले निगमले मूल्य नघटाएको उनको तर्क छ ।
उनले गएको १५ दिनको अबधिमा निगमलाई १४ करोड ९२ लाख रुपैयाँ घाटा भएकोमा अहिले पेट्रोल र डिजेलको मूल्य घटेर आएकोले आगामी १५ दिनको अबधिमा ७ करोड १५ लाख रुपैयाँ मात्रै घटा हुने बताए । ‘गएको पाक्षिकको तुलनामा आगमी पक्षिकमा पेट्रोलियम पदार्थबाट हुने घाटा घट्नेछ,’ उनले भने ।
गोइतकाअनुसार गएको पाक्षिकमा प्रतिलिटर डिजलबाट निगमलाई ३ रुपैयाँ ७३ पैसा घाटा भएकोमा अब १ रुपैयाँ ७६ पैसामा झरेको छ । यस्तै पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ८६ पैसा नाफा छ । जबकी गएको पाक्षिक उक्त पेट्रोलमा २ रुपैयाँ १ पैसा मात्रै नाफा थियो । मट्टीतेलमा प्रतिलिटर १५.७९ पैसा नाफा रहेको प्रवक्ता गोईतले जानकारी दिएका छन् ।
तर एलपीजी ग्याँसमा प्रतिसिलिण्डर अहिले निगमलाई २०२ रुपैयाँ २५ पैसा घाटा भइरहेको उनले बताए । अहिलेसम्म भारतबाट पेट्रोल र डिजेलको मूल्य मात्रै पठाएकोले एलपीजी ग्याँस लगायको पेट्रोलियम पदार्थको मूल्य भने थपघट हुन सक्ने उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा भने इरानमा पेट्रोलियम पदार्थको उत्पादन बढाउने भएपछि पेट्रोलियम पदार्थको मूल्य गिरावट आइरहेको छ । जसको प्रत्यक्ष प्रभाव भारतको पेट्रोलियम पदार्थको मूल्य घट्नेक्रम जारी रहेको देखिएको छ ।