काठमाडौं । आगामी बैशाख १ गतेदेखि पाटन दरबार स्क्वायर क्षेत्र सवारी साधन निशेधित क्षेत्र बन्ने भएको छ । ललितपुर महानगरापालिकाले बैशाख १ गतेदेखि पाटन दरबार स्क्वायर आसपास क्षेत्रलाई सवारी साधन निशेधित बनाउन लागेको हो ।

‘हामीले ललितपुर महानगरपालिकाका सम्पदा क्षेत्रलाई सवारी साधन निशेधित क्षेत्र बनाउने तयारी गरेका छौं, बैशाख १ गतेदेखि मंगलबजार क्षेत्रमा यो लागु हुनेछ’, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले पनि पाटन दरबार स्क्वायर क्षेत्रलाई सवारी निशेधित क्षेत्र बनाउन अध्ययन भैरहेको बताए । ‘पाटन क्षेत्रलाई सवारी साधन मुक्त बनाउनका लागि अध्ययन भैरहेको छ, २० दिनभित्र अध्ययन सकिन्छ’, महानगरपालिकाका प्रवक्ता महर्जनले भने ।
उनले मंगलबार आसपासका वल्खो, क्वाल्खो, हखा, महापाल, स्वठ लगायतका क्षेत्रमा सवारी साधन निशेधित गर्न लागिएको हो । यस अघि नै ठमेल क्षेत्रमा सवारी साधन मुक्त बनाईसकेको छ । ठमेललाई सवारी साधन मुक्त बनाएपछि त्यसको सर्वत्र प्रसंशा भैरहेको छ । ललितपुर महानगरपालिकाले सोलार वत्तिलाई हटाएर सडकमा समेत विद्युतिय वत्ति जडान गर्न लागेको मेयर महर्जनले बताए ।
उनले निर्वाचन पुर्वको उत्साह घट्दै गएको बताउँदै कर्मचारी संयन्त्रले स्थानीय सरकारलाई नटेरेको गुनासो पनि पोखे । उनले महानगर भित्र पर्ने चक्रपथमा चार ठाउँमा इन्टर कनेक्सन फ्लाइओभर बनाउने पनि बताए । महर्जनले फोहर उठाउन ब्रोमरसहितका आधुनिक उपकरण खरिद गर्ने प्रक्रिया अघि बढाएको पनि जानकारी दिए ।