काठमाण्डौं । सरकारले यातायात निर्देशिका र कार्यविधि संसोधन गरी कार्यान्वयनमा ल्याएपछि यातायात क्षेत्रमा कम्पनीहरुबिच प्रतिस्पर्धा सुरु भएको छ ।
पुराना व्यवसायीहरुको एकाधिकार जमाउँदै आएको यातायात क्षेत्र अब नयाँ व्यवसायीहरुको प्रतिस्पर्धात्मक आकर्षण बढेको छ । कम्पनीको रुपमा दर्ता भएका व्यवसायीहरुले नयाँ सञ्चालनमा ल्याउन लागेका बसहरुमा अत्याधुनिक सेवा सुविधा थप्न लागेका हुन् ।

दिगो शहरी यातायातले जेठ महिनाबाट सञ्चालनमा ल्याउनेगरी १७ ठुला बस काठमाडौंमा ल्याउने तयारी गरेको छ । यातायात प्रमुख लालप्रसाद गुरागाँईका अनुसार बस युरो ४ मापदण्डको हुनेछ । बस सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ ।
बस पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ ।
उपत्यकामा यातायात सेवा प्रदान गर्दै आएको साझा यातायातले आफ्नो सेवाको विस्तारलाई तिब्र बनाएको छ । हाल ३९ वटा बस सञ्चालन गर्दै आएको साझाले थप २४ वटा बस थप्ने तयारी गरेको छ । नयाँ थपिने बसहरुमा अपाङग, बालबालिका, गर्भवती महिला, जेष्ठ नागरिक लगायतलाई छुट्टै व्यवस्था हुनेछ ।

यातायातका प्रमुख महेन्द्र पाण्डेका अनुुसार साझाले महिनादिन भित्र ४ ठुला बस थप्नेछ भने ५ महिनाभित्र २० सिटीबस थप्ने तयारी गरेको छ । थपिएको नयाँ बसहरु सञ्चालन गर्ने रुटहरु भने बस काठमाडौं आइपुगेपछि मात्र टुङगो लाग्ने प्रमुख पान्डेले बताए ।
बजारमा आएको छोटो समयमै लोकप्रिय बन्न सफल मयुर यातायातले सेवा विस्तारलई आक्रामक बनाएको छ । हाल २३ वटा बस सञ्चालमा ल्याएको मयुरले केहि महिनाभित्रै बसको संख्या ४५ पुर्याउने सञ्चालक मोहन श्रेष्ठले बताए । मयुर यातायात अन्य बसहरुभन्दा फरक रहेको संचालक श्रेष्ठले बताए । यातायातले फ्रि वाइफाई, बस चढ्न अपाङग तथा जेष्ठ नागरिकलाई सहज लगायतका सेवा सुविधा रहेको छ ।

सूर्योदय यातायतले अशोक लेलैण्डका १५ थान नयाँ मोडेलका यात्रुवहाक बस पूर्वाञ्चलमा सञ्चालनमा ल्याएको छ । बसमा डिजिटल डिस्पले , टिभी, वाईफाई , जिपिएस, सीसी क्यामेरा लगायत अत्याधुनिक उपकरणहरु जडान गरिएको छ । कम्पनीको अनुसार गाडीमा विभिन्न किसिमका लाईफटाईम इन्जिन जडान गरिएको छ ।

कम्पनीले पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने बताएको छ । संस्थाका अध्यक्ष देवेन्द्रकुमार न्यौपानेले गाडीहरुमा फिल्टर र मोबिल खर्चबाहेक अन्य खर्च नआउने दाबी गरे ।
संस्थाका प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी गाडी विस्तार गर्दै यात्रुहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित गराउने जानकारी दिए ।
सरकारले यातायात सिण्डिकेट खारेजको घोषणा गरेपछि निजी क्षेत्रबाट संगठित रुपमा ठुला बस सञ्चालनमा आउन थालेका हुन् । सिद्धबाबा यातायात प्राइभेट लिमिटेडले केहि दिनभित्रै २० वटा बसञ्चालनमा ल्याउने जनाएको छ । यसैगरी नयाँ बस सञ्चालनमा ल्याउनेहरुमा सिला सालिग्राम यातायात, सप्तरंगी प्राली, टेकु सवारी परिक्षकले ११ वटा बस थपेका छन् ।
यस्तै इन्द्रेणी यातायातले २ वटा र अन्य कम्पनीहरुले पनि नयाँ बस सञ्चालन ल्याउने तायारी गरेको यातायात विभागका सूचना अधिकृत तुलसीराम अर्यालले जानकारी दिए ।
अहिले पञ्जिकरणमा १२१ भन्दा बढी कम्पनी आइसकेका छन् । सरकारले अब कम्पनीहरुबिच प्रतिस्पर्धा गराएर यातायात क्षेत्रलाई सेवामुखी बनाउने अर्यालले बताए ।
अन्नपूर्ण यातायात प्रालि, ओरेन्ज यातायात प्रालि र सिटी मेट्रो यातायात प्रालिले समेत कम्पनी दर्ता गराई बस सञ्चालनमा ल्याएको छ ।