देवभूमि नेपाल घोषणा, पर्यटक भिसा सेवा अनलाइनबाटै

काठमाडौं । सरकारले नेपाललाई आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न ‘देवभूमि नेपाल’ घोषणा गर्ने नीति अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई आधुनिक, डिजिटल र सुरक्षित बनाइने बताएका हुन् ।

नीति तथा कार्यक्रममा पर्वतीय पर्यटनलाई आधुनिक प्रविधिसँग जोडेर सुरक्षित बनाइने उल्लेख गरिएको छ । साथै, पर्यटक आगमनलाई सहज बनाउन पर्यटक भिसा सेवासहित विभिन्न सेवा अनलाइनमार्फत उपलब्ध गराइने सरकारको योजना छ ।

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न विशेष पहल गर्ने जनाएको छ । यात्रुहरूको प्रतीक्षा समय घटाउने तथा विमानस्थल सेवामा सुधार गर्ने नीति पनि कार्यक्रममा समेटिएको छ ।

त्यस्तै, पर्यटनसँग सम्बन्धित साहसिक पर्यटन पूर्वाधार सुदृढीकरण गरिने र पाँच हजार होमस्टेलाई प्राथमिकतामा राखेर प्रवर्द्धन गरिने सरकारको लक्ष्य छ ।

सरकारले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई पर्यटन विकाससँग जोड्दै नेपाललाई अन्तर्राष्ट्रिय आध्यात्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने योजना अघि सारेको छ ।

Share News