काठमाडौं । नेपाल फाइनान्स लिमिटेड (नेफिन्सको) समस्याग्रस्त अवस्थाबाट मुक्त हुने भएको छ । समस्याग्रस्त अवस्थाबाट फुकुवा गर्न फाइनान्सका संस्थापक सेयरधनीले १२५ प्रतिशत बराबरको हकप्रद सेयरवापतको रकम अग्रिम जम्मा (कल इन एडभान्स) गर्नुपर्ने भएको छ ।
फाइनान्सले आउदो ७ दिनभित्र सो रकम जम्मा गर्न संस्थापक सेयरधनीलाई आग्रह गरेको छ । नेपाल राष्ट्र बैैंकले आवश्यक पुँजी पर्याप्तता अनुपात पुरा गरेर फुकुवाका लागि निवेदन पेश गर्न निर्देशन दिएपछि फाइनान्सले संस्थापकबाट हकप्रद सेयरवापत अग्रिम पुँजी जम्मा गर्न लागेको हो ।
राष्ट्र बैंकले पुँजी पर्याप्तता पुरयाएर निवेदन दिन भनेपछि तत्कालका लागि अग्रिम रुपमा हकप्रद सेयर वापतको रकम मागेको फाइनान्सले जानकारी दिएको छ । फाइनान्सको गत फागुनमा २९ गते बसेको विशेष साधारणसभाले पुँजीवृद्धि गरी १२५ प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो ।
मंगलबार बसेको फाइनान्सको सञ्चालक समिति बैठकले समस्याग्रस्त मुक्त हुन सेयरधनीबाट हकप्रदबाट थप रकम माग गर्ने निर्णय गरेपछि १ साताभित्र रकम जम्मा गर्न भनिएको हो ।
हकप्रद सेयर जारी गर्न समय लाग्ने भएपछि फाइनान्सले तत्काल समस्याग्रस्तबाट पुृmकुवा हुन र पछि हकप्रदको हिसावमा समायोजन हुने गरी अग्रिम रकम जम्मा गर्न मागेको जानकारी दिएको छ ।
संस्थागत सुशासन कमजोर भई संकट आएपछि राष्ट्र बैंकले २०७१ मंसिर १७ गतेदेखि फाइनान्सलाई समस्याग्रस्त घोषणा गरी निक्षेप परिचालनलगायत अन्य वित्तीय कारोबार गर्न प्रतिवन्ध लगाएको थियो । राष्ट्र बैंकले त्यसबेला फाइनान्सलाई ६ महिनामा सुध्रिने मौका दिदा पनि संस्था सुधारमा नआएपछि समस्याग्रस्त घोषणा गरेको हो । सो प्रतिवन्ध हालसम्म कायम छ ।
त्यसबेला फाइनान्सको खराब कर्जा ५४ प्रतिशत पुगेको थियो । ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने वित्तीय संस्थालाई राम्रो मानिन्दैन । कम खराब कर्जा भएको संस्थालाई मात्रै राम्रो मानिन्छ । केन्द्रीय बैंकले फाइनान्सलाई ६ महिनाभित्र खराब कर्जा ५ प्रतिशतमा झार्न निर्देशन दिएको थियो । फाइनान्सको चुक्तापूँजी १३ करोड ५८ लाख रुपैयाँ छ ।
फाइनान्सले निक्षेप संकलन गर्न कर्जा प्रवाह गर्न प्रतिवन्ध लाग्दै आएको छ । निक्षेपकर्तालाई दुई लाख रुपैयाँभन्दा बढी निक्षेप फिर्ता गर्दा राष्ट्र बैंकलाई सोध्नु पर्ने अवस्था छ । स्थिर सम्पति खरीद तथा बिक्री, शाखा विस्तार र नयाँ कर्मचारी भर्ना गर्न पनि रोक लगाइएको छ ।
फाइनान्सका संस्थापक तथा पुर्व प्रमुख कार्यकारी अधिकृत रविन्द्रमान प्रधान र उनको परिवारसंग सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा कम्पनीको ३६ प्रतिशतभन्दा बढी स्वामित्व छ । प्रधान लामो समयसम्म फाइनान्सको सीईओ भएका थिए ।
एउटै ग्राहक, र्फम तथा कम्पनीलाई राष्ट्र बैंकको निर्देशन विपरित प्राथमिक पुँजीको २५ प्रतिशतभन्दा वढी लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।