अब साइकलबाटै वारपार गर्न मिल्ने, बन्दैछ ५ करोडमा साइकलमैत्री आकासे पुल
काठमाडौं । ललितपुर महानगरपालिकाको सुन्दरीघाट मार्गबाट चक्रपथमा साइकल बाटै वार पार गर्न मिल्ने आकासे पुल निर्माण हुने भएको छ । महानगर प्रमुख चिरी बाबु महर्जनले वडा नं ३ र ४ धोबिघाट चोकको रिङरोड सडकमा निर्माण गरिने ३६.६१ मिटर लामो साइकलमैत्री एवं अपाङ्गतामैत्री आकासे पुलको शिलान्यास गरे । त्यस क्रममा उनले सडकको दुवै तर्फबाट साइकलमा सडक वार पार गर्न मिल्ने गरी आकासे पुल निर्माण गरिने जानकारी गराए । ‘समयमै गुणस्तरीय काम हुने विश्वास छ, यस क्रममा सरकार र महानगरका तर्फबाट कुनै पनि तहबाट बाधा-व्यवधान हुँदैन । निर्माण व्यवसायी, परामर्शदाताहरूबाट पनि यो काममा कुनै विलम्ब नहोस्,’ महानगर प्रमुख महर्जनले भने, ‘सम्भवतः यो नेपालमै पहिलो काम हुन्छ । यसलाई समयमै निर्माण गरी ठेकेदारप्रति रहेको नकारात्मक धारणा पनि परिवर्तन गर्न लागौँ ।’ महानगरको ५ करोड ४ लाख ४८ हजार ४२६ रुपैयाँको लागतमा निर्माण हुने पुल एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । लामा प्रगति-मनि बुद्ध जेभी, काभ्रेपलाञ्चोकले निर्माणको ठेक्का लिएको छ । गत असार २२ गते सम्झौता गरी १२ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको महानगरका सिडिई प्रदीप पौडेलले जानकारी दिए । शिलान्यास कार्यक्रममा वडा नं ४ का अध्यक्ष सन्तोष केसी, वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जन लगायतले आफ्नो धारणा राखे ।
सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने
काठमाडौं । सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले असोज २८ गतेदेखि दर्ता एवं सुनुवाइ हुने निर्णय गरेको हो । ‘यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू असोज २८ गतेदेखि दर्ता एवं सुनुवाइ हुनेछ।’ सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ । साथै सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदा सम्म म्याद, हदम्याद र तारेख नगुज्रने जनाएको छ । यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गा मुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियो । त्यसयता सर्वोच्चले त्रिपालमा इजलास बसेर सेवा दिइरहेको छ ।
विश्वकप क्रिकेट छनोट: युएईमाथि नेपालको जित, आज कतारसँग खेल्ने
काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ-१ मा आइतबार भएको खेलमा नेपालले युएईलाई १ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले जितका लागि दिएको १४१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो । युएईका लागि अलिशान सराफूले अर्धशतकीय पारि खेले पनि जितका लागि पर्याप्त हुन सकेन । उनले ३ चौका र ५ छक्काको मद्दतमा ५८ रन बनाए । यसैगरी ध्रुव पराशरले १८ बलमा ३२ रन बनाए भने जोनाथन फिगीले १९ रन बनाए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिँदा गुल्सन झा, सन्दीप लामिछाने र सोमपाल कामीले समान १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १४० रनको योगफल बनाएको थियो । नेपालका लागि आसिफ शेखले ४७ बलमा ५१ रन बनाए । यस्तै, कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० तथा गुल्सन झाले १४ रन बनाए । युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १/१ विकेट लिए । नेपालले दोस्रो खेल आज कतारसँग खेल्नेछ । उक्त खेल नेपाली समयअनुसार बेलुका ८:४५ बजे हुनेछ ।
एमालेको ११औँ महाधिवेशन मङ्सिर अन्तिम साता, प्रतिनिधिसभा पुनःस्थापनाको माग
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरमा आयोजना गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा आज सम्पन्न बैठकले आगामी मङ्सिर अन्तिम साता महाधिवेशन आयोजना गर्ने निर्णय गरेको उप-महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । महाधिवेशनको मिति र स्थान यही असोज २९, ३०, ३१ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले तय गर्ने जानकारी दिँदै उनले देशको विषम परिस्थितिका कारण एक वर्षअघि नै महाधिवेशन गर्न लागेको उनले बताए । विसं २०७८ मङ्सिर १० देखि १४ गतेसम्म भएको १०औँ महाधिवेशनले पाँच वर्षका लागि ओली नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो भने एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको थियो । बैठकले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग समेत गरेको उनले जानकारी दिए । यस्तै, सरकारले सबैलाई एकताबद्ध बनाएर लैजान सक्नुपर्ने बैठकको निष्कर्ष रहेको सुनाए । आजको बैठकमा उप-महासचिव पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुवीर महासेठ र लेखराज भट्टले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा राखेका थिए । यसअघि शुक्रबार सचिवालयका अन्य सदस्यले धारणा राराखेका थिए ।
त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको भए पनि सार्वजनिक गरिएको थिएन । अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुनले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन् । यसअघि नै उनले उक्त प्रतिवेदन सार्वजनिक गर्ने घोषणा गरेका थिए । विसं २०८१ जेठ १७ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेको जग्गा तथा सम्पत्ति खोजबिन गर्न शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो । समितिले साढे पाँच महिनामा प्रतिवेदन तयार पारेर १४ मंसिर २०८१ मा तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईसमक्ष पेश गरेको थियो ।
संकटमा अमेरिकी अर्थतन्त्र : चीनको कदमले बढायो विश्व अर्थतन्त्रमा त्रास
काठमाडौं । अमेरिकाको बढ्दो ऋण अब ठूलो चिन्ताको विषय बन्दै गएको छ । चीनले अमेरिकी ऋणबाट दूरी बनाउन थालेको छ र यो विषय विश्व अर्थतन्त्रका लागि डरलाग्दो संकेत मानिएको छ । यसले विश्व अर्थतन्त्रमा ठूलो हलचल ल्याउन सक्छ । यसको असरले अमेरिकी डलरको स्थिति कमजोर पार्ने अनुमान गरिएको छ । यस्तै अवस्थामा एक महत्त्वपूर्ण प्रश्न उठेको छ — जब विश्वको सबैभन्दा ठूलो ऋणी देश आफ्नो ऋण फिर्ता गर्न असफल हुन थाल्छ, तब के हुन्छ ? विश्लेषकका अनुसार यो प्रश्नले चाँडै नै विश्व अर्थतन्त्रको रूपरेखा नै बदल्न सक्छ । किनभने ठूला देशहरूले अमेरिकाबाट आफ्नो पूँजी फिर्ता लिन थालेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चेतावनी दिएको छ कि अमेरिकी ऋणको जालो अब नियन्त्रणबाहिर गइसकेको छ । अमेरिकामाथि युरोप, अफ्रिका र दक्षिण अमेरिकाको संयुक्त जीडीपीभन्दा बढी ऋण छ । प्रत्येक अमेरिकी नागरिकमाथि १ लाख डलरभन्दा बढी ऋण परेको छ । यो चेतावनी आईएमएफले अमेरिकाको संघीय ऋण ३६ ट्रिलियन डलर पुगेको पछिल्लो तथ्यांक सार्वजनिक गरेपछि आएको हो । यो ऋण मुख्यतः २००८ को आर्थिक संकटपछिका बेलआउट प्याकेज, अभूतपूर्व रक्षा खर्च र कोभिड महामारीका बेला दिइएका प्रोत्साहन योजनाका कारण बढ्दै गएको हो । अहिले अमेरिकाका सबैभन्दा ठूला ऋणदाता देशहरूले आफ्नो पैसा फिर्ता लिन थालेका छन् । चीन, जापान, बेलायत र क्यानडा जस्ता देशहरूले शान्तिपूर्वक अमेरिकी ट्रेजरी बन्डहरू (सरकारी प्रतिभूति) बेच्न थालेका छन् । विश्लेषकहरूका अनुसार अमेरिकाको सबैभन्दा ठूलो ऋणदाता चीनले यो प्रक्रिया सुरु गरिसकेको छ। जापान पनि सोही बाटोमा छ । निवेशकहरूलाई आकर्षित गर्न अमेरिकाले ब्याजदर बढाउँदैछ, तर यसले संकटलाई झन् गहिरो बनाइरहेको छ । अहिले अमेरिकाको वार्षिक ब्याज भुक्तानी १ ट्रिलियन डलरभन्दा माथि पुगेको छ, जुन अमेरिकी रक्षा विभाग (पेन्टागन) को बजेटभन्दा पनि बढी हो । विश्व पूँजी प्रवाहमा पनि परिवर्तन देखिन थालेको छ — विभिन्न मुलुकका केन्द्रीय बैंकहरू अहिले सुनतर्फ आकर्षित भइरहेका छन् र उदीयमान बजारहरूमा चिनियाँ युआनले व्यापारिक मुद्राको रूपमा स्थान पाउँदैछ । विश्लेषकहरूले धनी वर्गमाथि कर बढाउने सुझाव दिएका छन् । उनीहरूको भनाइमा रक्षा, स्वास्थ्य र सामाजिक कल्याणका क्षेत्रमा खर्च कटौती गर्ने प्रयासले देशभित्र आर्थिक तथा सामाजिक अस्थिरता निम्त्याउन सक्छ । उनीहरूका अनुसार सम्भावित विकल्पका रूपमा आयातमा शुल्क (ट्यारिफ) बढाउने र आप्रवासन (इमिग्रेशन) घटाउने नीति मात्र बाँकी देखिन्छ । तर यस्ता कदमले अमेरिकालाई अन्तर्राष्ट्रिय स्तरमा झन् एक्ल्याउने जोखिम समेत रहन्छ । विश्लेषकहरूले यदि वर्तमान आर्थिक अवस्थाको समाधान चाँडै खोजिएन भने अमेरिकी डलरको अवमूल्यन सुरु हुन सक्ने र यसको असर विश्व अर्थतन्त्रमै पर्न सक्ने चेतावनी दिएका छन् । टिकटकदेखि दुर्लभ खनिजसम्म : ट्रम्प–सी बीचको ‘ट्रेड वार’ झन् गहिरिँदै मन्सा मुसा : विश्व इतिहासका सबैभन्दा धनी राजा जसको सम्पत्ति आज पनि एलन मस्कभन्दा धेरै
तिहारअघि आधा दर्जन कम्पनीको लाभांश, २१ कम्पनीमध्ये कुनको कति ?
काठमाडौं । तिहारअघि आधा दर्जन कम्पनीले सेयरधनीको खातामा लाभांश पठाउने तयारी गरेका छन् । सेयर बजारमा सूचीकृत ७ कम्पनीले तिहारअघि नै लाभांश वितरण गरेर सेयरधनीकाे खातामा पठाउने तयारी गरेका हुन् । लगानीकर्ताले चाडपर्वमा लाभांश रकमबाट खर्च गर्ने सोच बनाएका हुन्छन् । दशैं-तिहार अगावै लाभांश प्राप्त पाउँदा लगानीकर्ताहरु मख्ख हुने गर्छन् । लगानीकर्ताको इच्छा पनि चाडपर्व अघि नै राम्रो प्रतिफल पाएर धुमधामका साथ चाडपर्व मनाउने हुन्छ । पैसा जम्मा गरेर परिवारसँग घुम्ने, साथीभाइहरूसँग रमाइलो गर्ने अभ्यास पनि छ । सकेसम्म आफूले लगानी गरेको कम्पनीले दशैं अगाडि नै लाभांश देओस् भन्ने अपेक्षा गरेका हुन्छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूमध्ये २१ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । तर, ७ कम्पनीले मात्रै तिहार अगाडि लाभांश वितरण गर्ने देखिएका छन् । यसपटक सूचीकृत कम्पनीहरूमा माछापुच्छ्रे बैंकले मात्रै दशैं अगाडि लाभांश वितरण गर्न सफल भयो । लाभांश घोषणा गरेका कम्पनीहरुमा सानिमा बैंक, कामना सेवा विकास बैंक, मञ्जुश्री फाइनान्स, भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी र नेपाल ल्युब आयलले मात्रै तिहार अगाडि लाभांश वितरण गर्ने गरी प्रक्रिया अगाडि बढाएका छन् । दशैंमा नसकेपनि सकेसम्म तिहार अगाडि नै लाभांश वितरण गर्न सूचीकृत कम्पनीहरुले प्रयास गरिरहेका हुन्छन् । तर, लाभांश घोषणा गरेर पनि एभरेष्ट बैंक, मुक्तिनाथ विकास बैंक, हाथवे इन्भेष्टमेन्ट नेपाल, युनिलिभर नेपाल, मुक्तिनाथ कृषि कम्पनीले भने तिहार पछि मात्रै वार्षिक साधारण सभा बोलाएका छन् । ‘यसपालिको चाडपर्वमा लगानीकर्ताको हात रित्तो भयो, विगतमा केही कम्पनीले दशैं-तिहारमा लाभांश दिन्थे, अहिले ती कम्पनीहरुले पनि वितरण गर्न छाडे, यसपालि दशैं तिहारमा लगानीकर्ताको हात रित्तो भयो,’ एक लगानीकर्ताले भने । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँको ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको छ । गत असोज १० गते पोखरामा सम्पन्न २७औँ वार्षिक साधारणले उक्त लाभांश पारित गरिसकेको छ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न बैंकले कात्तिक १२ गते बिहान ११ बजे ३१औँ वार्षिक साधारण सभा बोलाएको छ सानिमा बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित ७.३६ प्रतिशतका दरले १ अर्ब ७ लाख ५४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न बैंकले कात्तिक २ गते बिहान १० बजे काठमाडौंमा २१औँ वार्षिक साधारण सभा बोलाएको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँको ५ प्रतिशतका दरले ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँको ५ प्रतिशतका दरले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.५३ प्रतिशतका दरले ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ नगद गरी कुल १०.५३ प्रतिशत अर्थात् १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७९ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गरेको हो । असोज २४ गते काठमाडौंमा सम्पन्न १९औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँको १३.५३ प्रतिशतका दरले ९५ करोड ३४ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजसहितका लागि ४.६७ प्रतिशतका दरले ३२ करोड ९० लाख ९२ हजार रुपैयाँ नगद गरी कुल १८.२० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कात्तिक १५ गते बिहान १० बजे पोखरा कास्कीमा १९औँ वार्षिक साधारण सभाले डाकेको छ । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न असोज ३१ गते काठमाडौंमा बिहान ११ बजे १८औँ वार्षिक साधारण सभा डाकेको छ । भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५९ करोड ४९ लाख ४७ हजार रुपैयाँको १४ प्रतिशतका दरले ८ करोड ३२ लाख ९२ हजार ६ सय रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशतका दरले ३ करोड ५६ लाख ९६ हजार ८३६ रुपैयाँ नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कात्तिक २ गते बिहान ११ बज पोखरामा २५औँ वार्षिक साधारण सभा बोलाएको छ । यूनिभर्सल पावर कम्पनीले आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २७ करोड ९९ लाख २९ हजार रुपैयाँको ९ प्रतिशतका दरले २० करोड ५१ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले १ करोड ७ लाख ९९ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते वार्षिक साधारण बोलाएको थियो । तर, गणपूरक संख्या नपुगेपछि कम्पनीको साधारण सभा स्थगित भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ८४ करोड ८० लाख ३ हजार रुपैयाँको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । मिड सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ७४ करोड ८४ लाख रुपैयाँको १५ प्रतिशतका दरले ११ करोड २२ लाख ६० हजार रुपैयाँ बोनस सेयर र ०.७८ प्रतिशतका दरले ५९ लाख ८ हजार रुपैयाँ नगद गरी १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सिक्लेस हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजी ८५ करोड रुपैयाँको १५ प्रतिशतका दरले १२ करोड ७५ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ६७ लाख १० हजार रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१ प्रतिशतका दरले १ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । लाभांश पारित गर्न कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँको प्रतिसेयर १८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कात्तिक २५ गते ३२औँ वार्षिक साधारण सभा डाकेको छ । नेपाल ल्युब आयलले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७ करोड २८ लाख ६२ हजार रुपैयाँको २० प्रतिशत बोनस र १.०५ प्रतिशतका दरले ७ लाख ६६ हजार रुपैयाँ नगद गरी २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते ललितपुरमा ३४औँ वार्षिक साधारण सभा बोलाएको छ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार रुपैयाँको करसहित ८ प्रतिशतका दरले ८ करोड २७ लाख २५ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ६५ लाख ८ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशतका दरले ८ लाख ६८ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । मुक्तिनाथ कृषि कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ ।
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार गोदाममा जफत गरी राखिएको सुनसहितको ‘इलेक्ट्रोनिक सिगरेट’ हराएको घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् । भन्सार ऐन, २०६४ अन्तर्गतको आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेको ठहरसहित ललितपुर महानगरपालिका–२६, खुमलटार बस्ने ६८ वर्षीय महरालाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । २०७९ साल पुस १० गते फ्लाई दुबैको एफजेड ०५८७ फ्लाइटमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हान्सङले २ वटा सुटकेशमा ७३ बट्टा अर्थात् ७३० थान भेप्स अवैध रूपमा ल्याउने क्रममा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए । जफत गरिएका ती ‘भेप्स’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा राखिएको थियो । तर, नायव सुब्बा रेवन्त खड्का लगायतको संलग्नतामा उक्त स्टोरबाट ७३० थान सुनसहितका भेप्स चोरी गरी बेचबिखन गरिएको अनुसन्धानमा खुलासा भएको सीआईबीले जनाएको छ । जफत सामग्रीको कुल मूल्य करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ रहेको छ । सीआईबीका अनुसार महरा पक्राउ परेसँगै घटनामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि थप अनुसन्धान भइरहेको छ । सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले यस प्रकरणमा आपराधिक समूहले संगठित रूपमा लाभ लिएको प्रमाण फेला परेको जानकारी दिए ।