विकासन्युज

१४ वर्षदेखि अलपत्र कन्काई पुल निरीक्षणमा मन्त्री घिसिङ, पुलबारे छिट्टै निर्णय गरिने

झापा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गरेका छन् ।  हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगति बारे जानकारी लिनुकासाथै स्थानीयसँग छलफल गरेका छन् । करिब ७२३ मिटर लम्बाइ भएको पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि आर्थिक वर्ष २०६७/६८मा पप्पु महादेवखिम्ती संयूक्त उपक्रम (जेभी)सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशत मात्र छ ।  लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै मन्त्री घिसिङ अव यसको विस्तृत रुपमा अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताए । उनले भने, ‘पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्ने बारे तत्काल निर्णय लिनेछौं, जनजीविकासँग जोडिएको रणनीतिक महत्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौं,चाँडै निकास दिन्छौं ।’ स्थानीय बासिन्दाबाट पुल नहुँदा सास्ती बेहोर्नु परेको, व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमासमेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न माग गरिएको थियो । निर्माण व्यवसायीकातर्फबाट २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटी देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटीलाई सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संसोधनवमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ ।  हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको विमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी रहेको छ ।  यसैगरी, मन्त्री घिसिङले असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका—२ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गर्नुभएको थियो । बाढीका कारण उक्त पुल भाँचिएको थियो । उहाँले पुलको प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन आग्रह गरे । मन्त्री घिसिङको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, गृह सचिव रामेश्वर दङ्गाल, सडक विभागका महानिर्देशक विजय जैशी, झापा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलगायत थिए ।   

मुक्तिनाथ कृषि कम्पनीको ८.४२ प्रतिशत लाभांश घोषणा, ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ७० करोड रुपैयाँको ८ प्रतिशतका दरले ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशतका दरले २९ लाख ४७ हजार रुपैयाँ नगद गरी कुल ८.४२ प्रतिशत अर्थात् ५ करोड ८९ लाख ४० हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीको हाल कायम र प्रस्तावित बोनस सेयर वितरण पश्चात हुने जम्मा चुक्ता पुँजी ७५ करोड ५९ लाख ९३ हजार रुपैयाँको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।  लाभांश र हकप्रद सेयर प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २१ गते साढे ११ बजे काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ ।  लाभांश तथा वार्षिक साधारण सभा प्रयोजनार्थ कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारण सभामा सहभागिता जनाएर लाभांश प्राप्त गर्न सक्नेछन् । 

टाटा जेन्युइन पार्ट्स मेलामा १५० सीसीको पल्सर जित्ने मौका

काठमाडौं । दशैं–तिहार र छठ पर्वलाई लक्षित गर्दै सिप्रदी अटोपाट्र्स प्रालिले ग्राहकहरूका लागि ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ नामक विशेष लक्की ड्र योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स तथा टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा बम्पर उपहार र क्यासब्याक जित्ने अवसर पाउनेछन् ।  १ लाखभन्दा माथि खरिद गर्ने ग्राहकले बजाज पल्सर १५० सीसीको बम्पर उपहारको रूपमा पाउने जनाइएको छ। यसैगरी, ७५ हजार माथिको खरिदमा टीभीएस स्कुटर (१२५ सीसी), २५ हजार माथिको खरिदमा स्मार्ट टिभी, ५ हजार माथिको खरिदमा स्मार्टफोन र हरेक खरिदमा १ हजारसम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ उपलब्ध हुने सिप्रदीले जनाएको छ । टाटा जेन्युइन पार्ट्सले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्त्वपूर्ण अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्ने जनाइएको छ । यसले मर्मत खर्च घटाउने मात्र नभई सवारीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ । नेपालमा टाटा मोटर्सद्वारा उत्पादित र वितरित यी पार्ट्सका एक मात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि रहेको छ ।  योजना केवल दुई हप्ता मात्रै लागू हुने भएकाले ग्राहकहरूले ढिलो नगरी टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा भाग लिन र बम्पर उपहार जित्ने सुनौलो अवसरको फाइदा उठाउन सक्नेछन् ।

जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपिन जोशी

काठमाडौं । इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपिन जोशी पनि रहेका छन् । उनको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ ।      सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको विनाशकारी आक्रमणपछि दुई वर्ष लामो युद्ध सुरु भएको थियो । हमासको उक्त आक्रमणमा करिब एक हजार दुई सय जनाको मृत्यु भयो र २५१ जना अपहरणमा परे ।      गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार सो लडाइँले हालसम्म ६७ हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिइसकेको छ । त्यसमा झण्डै आधा महिला र बालबालिका रहेका छन् । हाल गाजाको जनसङ्ख्याको करिब ९० प्रतिशत विस्थापित भइसकेको अनुमान गरिएको छ ।      गाजामा हाल ४८ जना बन्धकहरू रहेका छन् । तिनमा अघिल्ला युद्धका एक सैनिकको शव पनि समावेश छ । इजरायली अधिकारीहरूले कम्तीमा २५ जना बन्धक मरेको पुष्टि गरेका छन्, तर बाँकी २० जनामध्ये कति जीवित छन् भन्ने अझै स्पष्ट छैन । तिनै बन्धकमध्ये एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि हुन् । उनलाई जीवित रहेको विश्वास गरिएको छ ।      चौबिस वर्षीय नेपाली युवा विपीन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए । उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए ।      कार्यक्रमका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाको क्रममा फ्याँकिएका जीवित ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि विपीन जोशी घाइते भएर अपहरणमा परेका थिए ।      विपीनका परिवारका अनुसार उनी गाजामा जीवित रहेको हुनसक्छ भन्ने विश्वास अझै बलियो छ । उनीकी १७ वर्षीया बहिनी पुष्पा जोशीले आफ्ना दाजुको रिहाइका लागि अहोरात्र प्रयास गरिरहेका छन् ।      अधिकारीहरू र कूटनीतिक निकायहरूसँग भेट गरी दाजुको रिहाइका लागि आवाज उठाउन सकियोस् भनेर उनी पश्चिम नेपालको आफ्नो गाउँबाट प्रत्येक हप्ता काठमाडौं आउन आठ–आठ घण्टाको बस यात्रा गरे ।     गत अगस्टमा जोशी परिवारले राष्ट्रपति आइज्याक हर्जोगलाई भेट्न र तेल अभिवको ‘होस्टेज स्क्वायर’ मा बन्धक परिवारहरूले आयोजना गर्ने प्रदर्शनमा सहभागी हुन इजरायल यात्रा पनि गरेको थियो । उनीहरूले नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग पनि जोशीको उद्धारका लागि सक्रिय भूमिका खेल्न आग्रह गर्दै आएका छन् । विपीन जोशी अहिले पनि गाजामा जीवित रहेको विश्वास इजरायली अधिकारीहरूले राखेका छन् । उनका साथीहरूले विपीन अध्ययनशील, मिलनसार र सहयोगी स्वभावका युवा रहेको बताएका छन् । विपीनले आफ्नो भविष्य कृषि विकासमा योगदान गर्ने सपनासँग इजरायल यात्रा गरेका थिए ।      इजरायलले युद्धविराम सुरु भएपछि बाँकी रहेका बन्धकहरूलाई ७२ घण्टाभित्र रिहा गरिने आशा व्यक्त गरेको छ । यसको बदलामा करिब दुई हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्ने तयारी भइरहेको छ ।  विपीनको परिवार भने आशाको झिल्को निभ्न नदिई, दाजु–छोरा फर्किने दिनको प्रतीक्षा गर्दै अझै पनि प्रतीक्षामा छ । परिवारका अनुसार ‘विपिन फर्किए त्यो केवल हाम्रो परिवारको जित होइन, यो नेपाल र मानवताकै जित हुनेछ ।’ रासस     

नेविसंघले बालेन र सुदनविरुद्ध प्रहरीमा दियो उजुरी

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेन–जेड युवा आन्दोलनमा घटेका घटनाका सम्बन्धमा उनीहरू विरुद्ध अनुसन्धानको माग गर्दै नेविसंघले जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपुरमा छुट्टाछुट्टै उजुरी दर्ता गरेको हो । नेविसंघले बालेन र सुदनले विद्यार्थीलाई आन्दोलनमा सहभागी हुन उक्साएको, आन्दोलनका क्रममा आगजनी र तोडफोड गरी राष्ट्रिय सम्पदामा क्षति पुर्‍याएको, साथै सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको आरोप लगाएको छ । संगठनले उनीहरूमाथि तत्काल अनुसन्धान सुरु गर्न माग गरेको छ । उजुरी दर्ता गर्नेहरूमा नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाह रहेका छन् । उनीहरूले प्रहरीलाई २४ घण्टाभित्र उजुरी दर्ता गरी बालेन र सुदनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन् । यसअघि सुदन गुरुङसहितका युवाहरूले आन्दोलनमा भएको दमनका विरोधमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतविरुद्ध पनि जाहेरी दिएका थिए । सो घटनापछि नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि बालेन र सुदनविरुद्ध उजुरी दर्ता गरेको थियो ।

विद्युतीय सवारीमा नयाँ लहर : जिली ईएक्स फाइभले नेपाली बजार तताउँदै

काठमाडौं । हालसालै नेपाली बजारमा प्रवेश गरेको विश्वविख्यात विद्युतीय सवारी ब्रान्ड जिली ईएक्स फाइभले छोटो अवधिमै नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ । नेपालमा सार्वजनिक भएको दुई महिनाभित्रै नै काठमाडौंको गैरीधारास्थित शोरूममा ग्राहकहरूको भीड लाग्न थालेको छ भने टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनीय वृद्धि भएको कम्पनीले जनाएको छ । जिली अटोमोबाइल ग्रुपको विश्वसनीयता र नवप्रवर्तनशील प्रविधिप्रतिको उपभोक्ताको विश्वासले यस ब्रान्डप्रतिको आकर्षण थप बढाएको देखिन्छ । काठमाडौं, पोखरा र विराटनगरका उत्साही ग्राहकहरूले गैरीधारा शोरूममा आएर प्रत्यक्ष रूपमा जिली ईएक्स फाइभ र प्रो मोडेलका स्मार्ट, आकर्षक र वातावरणमैत्री एसयूभीहरू अनुभव गर्दै प्रशंसा व्यक्त गरेका छन् । एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले सोचेभन्दा धेरै राम्रो प्रतिक्रिया पाएको बताए । धेरै ग्राहकहरूले ईएक्स फाइभको रेन्ज, विश्वसनीयता र अत्याधुनिक सुविधाहरूका कारण यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय एसयूभीको रूपमा व्याख्या गरिरहेका छन् । उच्च मागका कारण कम्पनीले शोरूम समय विस्तार गर्दै बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म सेवा प्रदान गर्ने र शनिवार तथा सार्वजनिक बिदामा पनि खुला रहने घोषणा गरेको छ । त्यसैगरी, आगामी चाडपर्व लक्षित गर्दै एलआरआर मोटर्सले विशेष फेस्टिभ अफरहरू समेत ल्याएको छ । अफरअन्तर्गत नयाँ खरिदकर्ताहरूले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, थप बोनस र उपहार प्याक जस्ता आकर्षक लाभ प्राप्त गर्न सक्नेछन् ।

५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंककाअनुसार अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो । ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  अहिले कुल निक्षेप ७३ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालिन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।  

कैलाली उद्योग वाणिज्य संघको नेतृत्व पुष्कर ओझालाई, रोचक प्रतिस्पर्धामा ६१ मतको जित

काठमाडौं । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष पदमा पुष्कर ओझा विजयी भएका छन् । कुल १ हजार ९४० मत खसेकोमा ओझाले ९५० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी रुपेश स्वाँरलाई ६१ मतको झिनो अन्तरले पराजित गरे । स्वाँरले ८८९ मत ल्याए ।  चुनावको प्रारम्भदेखि नै ओझा र स्वाँरबीच कडा टक्कर चलेको थियो ।  अन्तिमसम्म पनि अग्रता परिवर्तन भइरहेकै अवस्थामा ओझाले निर्णायक मत ल्याउँदै अध्यक्ष पद प्राप्त गरेका हुन् । यो निर्वाचनमा दुवै उम्मेदवार आफ्ना-आफ्ना प्यानलसहित चुनावी मैदानमा होमिएका थिए। निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको भूमिका निभाएका ओझाको नेतृत्वमा प्रस्तुत प्यानलका अधिकांश सदस्यहरू विजयी भएका छन् । यस जितसँगै ओझाले आगामी कार्यकालमा कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । संघभित्र आर्थिक, व्यापारिक र नीतिगत सुधारका अपेक्षा बढिरहेका बेला नयाँ नेतृत्वबाट सदस्यहरू आशावादी छन् । ओझा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का उपाध्यक्षसमेत हुन् ।