विकासन्युज

सुनको मूल्यमा लगातार रेकर्ड ब्रेक, तोलाको २ लाख ३८ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुन २ हजार ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँमा पुगेको छ । यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो । मंगलबार प्रतितोला सुन २ लाख ३५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो । लगातारको वृद्धिसँगै नेपाली बजारमा सुनको मूल्यले यसअघि सबै रेकर्ड तोडेको हो । त्यसैगरी, चाँदीको मूल्य भने आज सामान्य रूपमा घटेको छ । बुधबार प्रतितोला चाँदी ५ रुपैयाँले घटेर २ हजार ९५५ रुपैयाँमा झरेको छ।   

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ । उक्त लाभांशको वितरण नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भइसकेपछि आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरूमा वितरण गरिनेछ ।   

ट्रम्प भन्छन् - केही बिदामा रहेका कामदारहरूले पारिश्रमीक नपाउन सक्छन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही बिदामा रहेका संघीय कर्मचारीहरूले सरकार खुल्ने बित्तिकै पारिश्रमीक नपाउन सक्ने बताएका छन् । बन्दको समयमा संघीय कर्मचारीहरूलाई हटाउने पहिलेको धम्की पछि ट्रम्पको यो भनाइ आएको हो ।  डेमोक्र्याटहरूले धेरै मानिसहरूलाई ठूलो जोखिममा पारेको बताए । अमेरिकी राष्ट्रपतिले कुन बिदामा रहेका संघीय कर्मचारीहरूले फिर्ता तलव नपाउन सक्छन् भन्ने बारेमा थप विवरण प्रदान भने गरेनन् ।  ट्रम्पले बन्दको गतिरोधको लागि डेमोक्र्याटहरूलाई दोष दिइरहँदा डेमोक्र्याट नेताहरूले रिपब्लिकनहरूलाई दोष दिइरहेका छन् । ३५ दिनसम्म चलेको र जनवरी २०१९ मा समाप्त भएको अघिल्लो सरकारी बन्दपछि ट्रम्पले भविष्यमा बन्दबाट प्रभावित संघीय कर्मचारीहरूको लागि तलब फिर्ताको ग्यारेन्टी गर्ने कानूनमा हस्ताक्षर गरेका थिए ।  कानून पारित हुनुअघि, अमेरिकी काँग्रेसले सरकार पुनः खोल्न कोष विधेयक स्वीकृत भएपछि संघीय कामदारहरूको लागि तलब फिर्ताको ग्यारेन्टी नियमित रूपमा स्वीकृत गरेको छ । गत हप्ता कंग्रेसनल बजेट कार्यालयले गरेको विश्लेषणअनुसार यस बन्दको समयमा लगभग ७ लाख ५० हजार संघीय कामदारहरूलाई बिदामा राख्ने अनुमान गरिएको छ । आवश्यक मानिएका संघीय कामदारहरू जस्तै हवाई ट्राफिक नियन्त्रकहरू र कानून प्रवर्तन अधिकारीहरू, सरकार पुनः नखुलेसम्म तलब बिना काम गरिरहनेछन् ।     

रातो नदीले तटबन्ध भत्काउँदा १५ करोड क्षति

जलेश्वर । रातो नदीको हालैको बाढीले तटबन्ध भत्काउँदा रु १५ करोड बराबरको क्षति भएको छ । नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको हानि भएको हो । करिब रु १५ करोड बराबरको तटबन्ध बगाएको जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा ७० र ८० मिटर, लोहारपट्टीको दुवैतर्फ तीन सय मिटर डाम्हीमा १५० मिटर तटबन्ध भत्काएको छ । नदीले तटबन्ध भत्काएपछि जिल्ला सदरमुकाम जलमग्न भएको थियो । बाढीबाट जलेश्वरका एक हजार ५०० परिवार विस्थापित भएका छन् भने जिल्लाको एकडारा, महोत्तरी गाउँपालिका, पिपरा गाउँपालिका, मटिहानी नगरपालिका, बलवा नगरपालिकासहित १० नगरपालिका र पाँच गाउँपालिकाका बासिन्दा प्रभावित भएका छन् ।

बाढीपहिरोबाट क्षति पुगेका सडक पुनर्निर्माणमा १२ अर्ब रुपैयाँ लाग्ने, कुन राजमार्गमा कति ?

काठमाडौं । गत असोज १८, १९ तथा २० गते र त्यस अगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । गत वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए । अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवं मन्त्रालयका तर्फबाट नियमित अनुगमन भइरहेको मन्त्री घिसिङले उल्लेख गरे ।  यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट-मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै ३ अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।  त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा ४ अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । वैकल्पिक सडक पुनर्निर्माणका लागि १ अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

उत्पादन बढी र माग कम हुँदा अलैंचीको मूल्य प्रतिमन ८० हजारमा झर्याे

काठमाडौं । सङ्खुवासभामा यो वर्ष अलैंचीको मूल्य घटेको छ । गतवर्ष यही समयमा प्रतिमन (४० किलो) ९० हजार रुपैयाँ रहेकामा यसपटक भने ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ । एक दशक अघिदेखि ओरालो लागेको अलैंचीको मूल्य गत वर्ष सुधार भए पनि यसवर्ष फेरि मूल्य घटेको छ । कालो सुनको रूपमा चिनिँदै आएको अलैंचीको मूल्य प्रतिमन ८० हजार रुपैयाँमा कारोबार भइरहेको अलैंची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार गत वर्ष प्रतिमन १ लाख १० हजार रुपैयाँसम्म कारोबार भएको थियो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैंचीको माग घटेपछि मूल्य पनि घटेको व्यवसायीको हो ।  ‘उत्पादन बढी र माग कम भएका कारणले अलैंचीको मूल्य घटेको हो । गत वर्ष ९० हजार रुपैयाँदेखि १ लाख १० हजार रुपैयाँसम्म कारोबार भएको थियो । हाल ग्रेडिङ राम्रो भएको अलैँची ८२ हजार  रुपैयाँ र ग्रेडिङ नभएको अलैंची ८० हजार  रुपैयाँमा कारोबार भइरहेको छ,’ अध्यक्ष श्रेष्ठले भने ।  मसलाको रूपमा प्रयोग हुँदै आएको अलैंची ९८ प्रतिशत नेपाल बाहिर निर्यात हुने गरेको बताइन्छ । सङ्खुवासभामा करिब २ हजार ८७१ हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो । अलैंची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा यसको उत्पादन हुन्छ । यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन नसकेका गुनासो छ । व्यवसायीका अनुसार अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको हुन्छ । सोहीअनुसार मूल्य पनि फरक रहेका छ । 

सिजनमै पर्यटक आगमन खुम्चियो, सेप्टेम्बरमा ७८ हजार मात्रै​​​​​​​ भित्रिए​​​​​​​

काठमाडौं । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ । यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए । गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए । बोर्डको तथ्याङ्कअनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन् । 

रामेछाप-लुक्ला दैनिक ५० देखि ६० वटा उडान, काठमाडौं रुटमा सातामा ३ दिन हुने

काठमाडौं । मंगलबारदेखि रामेछाप-काठमाडौं रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज लगायतको पहलमा आजदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन् ।  केही दिनयता रामेछाप-लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप-काठमाडौं उडान हुन सकेको थिएन । यही असोज १७, १८ र १९ गते परेको भारी वर्षााका कारण वीपी राजमार्ग अवरुद्ध भएपछि हवाई उडान सुरु गरिएको हो । मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौंसम्मको दूरी १२५ किलोमिटर दूरी छ भने चरिकोट हुँदै दोललघाट निस्केर काठमाडौँको दूरी करिब २०० किमी छ । अबदेखि प्रत्येक बुधबार समिट, शुक्रवार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप–काठमाडौं–रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ ।