विकासन्युज

आइतबार बिहानसम्म भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ ८ देखि आइतबार बिहान ८ बजेसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री कुलमान घिसिङले मनसुनको अवस्था र पूर्वतयारी सम्बन्धमा सरोकारवालासँग गरेको छलफलमा विभागका महानिर्देशक कमलराम जोशीले अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने बताएका हुन् । जोशीले विशेषगरी यस अवधिमा बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै ती क्षेत्रका नदी आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दाले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् । 'यी प्रदेशहरूमा आज राति १० देखि आइतबार बिहान २ बजेसम्म २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जरुरी छ', उनले भने । यो समयमा अनावश्यक रूपमा यात्रा नगर्न जोशीले आग्रह गरे । विभागका अनुसार देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहेको छ । 

पर्वतका ११ लघु जलविद्युत् आयोजना बन्द, करोडौं मूल्यका उपकरण अलपत्र

पर्वत । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् । विगत साढे दुई दशकभन्दा अघि युएनडिपी, विश्व बैङ्क र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्ण रुपमा बन्द भएका हुन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा करोडौँ मूल्यका उपकरण अलपत्र बनेका छन् । सात वर्षअघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेको भए पनि केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द भएका हुन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तार भएको हो । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–६ स्थित सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, वडा नं ४ हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, वडा नंं ७ भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुँवाकोट, फलेवास नगरपालिका–११ पाङराङको साढे सात किलोवाट क्षमताको गढिसिद्ध र ११ किलोवाटको बाच्छाखोला, मोदी गाउँपलिका–४ क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत् आयोजना पूर्ण रुपमा बन्द रहेका छन् । त्यस्तै विहादी गाउँपालिका–१ बाच्छा बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत् आयोजनामा पनि उत्पादन गर्न छाडेका छन् । मोदी गाउँपालिका–१ भुकताङ्गले मा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजना पनि सात वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र बनेको छ । यस्तै महाशिला गाउँपालिका–२ भोक्सिङको छ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत् आयोजना पनि पाँच वर्षअघि गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् । मर्मतको अभाव र थोरै क्षमता हुने भएपछि स्थानीयले मर्मतमा पनि बेवास्ता गरेका हुन् । तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेटसमेत अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयले मर्मतमा बेवास्ता गरेका हुन् । शिलाकारले गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताए । पछिल्लो समय स्थानीय तहहरूले पनि उक्त लघुविद्युत् मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हुँदै गएको बाच्छाका भीमबहादुर खड्काले बताए । जिल्लाका ११ लघुजलविद्युत् आयोजनाबाट १५६ दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भएको थियो । त्यसबाट एक हजार ४०३ घरधुरीका नौ हजार बासिन्दा लाभान्वित भएका थिए । 'पच्चीस वाट क्षमताको बल्ब महिनाभर चलाएको २५ तिरे पुग्थ्यो', तत्कालीन ऊर्जा अधिकृत शिलाकारले भने, 'केन्द्रीय लाइनभन्दा लघु जलविद्युत्बाट उत्पादित बिजुली सस्तो भए पनि ग्रामीण बासिन्दाले यसलाई बेवास्ता गर्न थालेका छन् ।' युएनडिपी, विश्व बैङ्क र नेपाल सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्नावशेष बनेका छन् । सबै आयोजनाका लागि दुई करोड २५ लाख खर्चिए पनि केन्द्रीय प्रसारण लाइनको विस्तार, स्थानीय तह र उपभोक्ताको बेवास्ता तथा मर्मत अभावले अलपत्र अवस्थामा पुगेका हुन् । रासस

देशभरका यी ४० जिल्लामा अतिभारी वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभरका ४० जिल्ला उच्च जोखिममा रहेको जनाएको छ । विभागका महानिर्देशक कमलराम जोशीका अनुसार नेपालको मध्यभागबाट मनसुन प्रवेश गरेको र आज बेलुका ७-८ बजेदेखि भोलि बिहान ८ बजेसम्म त्यसमा पनि विशेष गरी राति १० देखि बिहान २ बजेसम्म अतिभारी वर्षात्को सम्भावना रहेको छ ।  बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा रहेका नदी किनारमा बस्ने बासिन्दा र यात्रुलाई सावधानी अपनाउन उनले अनुरोध गरे ।  विभागका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रसुवा, नुवाकोट, धादिङ जिल्ला उच्च जोखिममा छन् ।  यस्तै, सुनसरी, उदयपुर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलुढंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, गोरखा, नवलपरासी पूर्व र पश्चिम जिल्ला, रुपन्देही, कपिलवस्तु जिल्ला उच्च जोखिममा रहेका छन् । 

पृथ्वी राजमार्गको आँबुखैरेनीमा सवारीसाधन रोकिए

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सवारीसाधन रोकिएका छन् । आज बिहानदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले आँबुखैरेनीमा सवारीसाधन रोकेको हो ।  मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला र मुग्लिन–काठमाडौंको जवाङ खोलामा पहिरोको जोखिम रहेकाले सवारीसाधन सुरक्षित ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीमा करिब दुई/तीन सय सवारीसाधन रोकिएका छन् ।  वर्षा भइरहेकाले अनावश्यक यात्रा नगर्न उनले आग्रह गरे । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा भने अहिलेसम्म अवरोध नरहेको कार्कीले उल्लेख गरे ।  

भारी वर्षासँगै फर्किन थाले सवारीसाधन

काठमाडौं । मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै शनिबार बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए । 'अहिले पहिरोका कारण उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि काठमाडौंतिर नै फिर्ता भइरहेका छन्, यतिबेला उपत्यकाका चारै तिरका नाका बन्द छन्', उनले भने, 'सुरक्षित तरिकाले सवारीसाधनहरू होल्ड भएका छन्, भौतिक र मानवीय क्षति कम गर्न सडक यात्रा सुरक्षित छैन ।' सडक विभागले बिपी राजमार्गमा अहिले बिहान १० बजेपछि सवारीसाधनको प्रवेश रोक लगाइएको जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नै भारी वर्षा हुने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।   

कान्ति लोकपथमा आवागमन पूर्ण रूपमा बन्द

ललितपुर । सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कान्ति लोकपथमा अर्को सूचना नआएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको पूर्वानुमानअनुसार हाल बागमती प्रदेशलगायतका क्षेत्रमा मनसुनी गतिविधि तीव्र बनेको र उच्च मात्रामा वर्षा भइरहेको हुँदा जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ बन्द गरिएको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयको स्थानीय प्रशासन शाखाद्वारा आज जारी गरिएको सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा क्षति न्यूनीकरणका लागि सो निर्णय गरिएको उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले जारी गरेको उक्त सूचनामा यात्रु तथा सम्बन्धित सबैलाई सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।     

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा अन्तर बागलुङको निसीखोला गाउँपालिका-४ स्थित कालापैराखोलामा सामान्य वर्षा हुँदा पनि लेदोसहितको बाढी आउँछ । बाढीले करिब दुई मिटर सडकमा क्षति पुर्‍याएको छ । चार वर्ष अगाडि कालोपत्र भएको लोकमार्ग अहिले पूर्ण रूपमा जीर्ण बन्दा यात्रा असहज बनेको छ । दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने राजमार्गको दूरावस्थाका कारण सास्ती खेप्नुपरेको छ । ठूलो वर्ष हुँदा सवारीसाधन ठप्प हुन्छन् । सवारीसाधन नचल्दा पश्चिम बागलुङको निसीखोलासहित पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा, जाजरकोट, सल्यान, डोल्पालगायत जिल्लाबाट राजधानी काठमाडौँ, पोखरा, चितवन, बुटवल पुग्ने यात्रुले सास्ती खेप्नुपरेको छ । निरन्तर वर्षा हुँदा एक सातासम्म पनि लोकमार्ग बन्द हुने गरेको छ । हिउँदमा पनि वर्ष भयो भने सडक बन्द हुने गरेको छ । सडक बन्द हुँदा घण्टौँसम्म अलपत्र पर्नुपर्ने बाध्यता रहेको गाडी चालक प्रितम थापा मगरले बताए । बन्द हुने सडक समयमा नखुल्दा धेरै पटक सडकमै बास बस्नुपरेको गुनासो गर्नुभयो । बाढीसहित आएको लेदोमा गाडी फस्दा पाटपुर्जा बिग्रिएको उनको भनाइ छ । सडकलाई व्यवस्थित बनाउनका लागि सरोकारवाला निकाय उदासिन बनेको थापा मगरले बताए । उनले भने, 'यो लोकमार्गले पश्चिम नेपाललाई जोडेपछि धेरैजसो यात्रु यही मार्ग प्रयोग गरेर काठमाडौँ जाने गर्छन्, पहिले हामीहरू सुर्खेतबाट दाङ, बुटवल हुँदै काठमाडौँ जाने गर्थ्यौं, अहिले यो राजमार्गले काठमाडौँसँगको दूरी छोटो बनाएको हुँदा यताबाट जाने गर्छौं तर कालापौराखोलामा आउने बाढीले धेरै पटक दुःख पायौँ, दुईरतीन वर्ष भयो, अहिलेसम्म पनि व्यवस्थित बन्न सकेको छैन ।' मध्यपहाडी लोकमार्ग बागलुङमा सबैभन्दा बढी खण्ड निसीखोलामा पर्छ । पाखुट्टेदेखि पातीहाल्नेसम्म करिब ३८ किलोमिटर रहेको छ । अन्य ठाउँमा सडक सहज भए पनि कालापौराखोलामा बढी जोखिम छ । मध्यपहाडी लोकमार्गका सूचना अधिकारी उज्वल शर्माले ग्रामीण सडक व्यवस्थित नहुँदा लोकमार्गमा क्षति भएको बताए । निसीखोला गाउँपालिकाले कानाबगर बजारदेखि ओखरेनी गाउँ जोड्ने सडक निर्माण गरेपछि वर्षा हुँदा लेदोसहितको बाढी आएर लोकमार्ग अवरुद्ध हुने गरेको उनको भनाइ छ । कालापैराखोलामा आउने बाढी रोक्नका लागि ग्रामीण सडकनै व्यवस्थित बनाउनुपर्ने शर्माले बताए । यहाँको समस्या समाधान गर्नका लागि सडक विभागमै पत्र पठाउने उनी बताउँछन् । 'अहिले जनु ठाउँमा बाढीले सडक क्षति बनाएको छ, त्योभन्दा माथि ग्रामीण सडक छ, त्यो ठाउँ पनि अलिकति कच्ची रैछ, वर्षा भयो भने सबै बगेर आउँदो रहेछ, बाढी पन्छाएर सडक सुचारु गर्नका लागि एउटा मेसिन स्टानबाई राख्नु राखेका छौँ', उनले भने, 'स्थानीय तहले माथिल्लो क्षेत्रमा रहेको सडकलाई व्यवस्थित गर्‍यो भने यसको समाभान हुने थियो, हामीहरूले पनि अध्ययन गरेर समाधान कसरी गर्न सकिन्न छ भन्ने निचोड निकाल्ने छौँ ।' सडकमा हिलो बग्दा कानाबगर बजारनै कुरूप बन्न थालेको छ । यसको दीर्घकालीन समाधान नहुँदा सामान ढुवानी र यात्रा गर्न धेरै गाह्रो हुने गरेको निसीखोला गाउँपालिका–५ का स्थानी थमबहादुर घर्ती मगरले बताए । लोकमार्गको वैकल्पिक सडक भए पनि सुचारु नभएको उनको भनाइ छ । लामो समयसम्म निरन्तर वर्षा भएर धेरै दिन लोकमार्ग बन्द हुँदै आएको घर्तीले बताए । रासस

ग्रामीण अस्पतालमै सम्भव भयो जटिल प्रसूति, आमा र शिशु सुरक्षित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आधारभूत अस्पतालमा गर्भमै उल्टो भएर निसास्सिदा जटिल अवस्थामा जन्मिएका नवजात शिशुको सफल प्रसूति गराइएको छ । मालिका गाउँपालिका–४ ओखरबोटकी १७ वर्षीया किशोरी सुत्केरी बेथा सुरु भएको सात घण्टापछि शुक्रबार बिहान १०ः३० मा मालिका गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा आएका थिए । ती किशोरी पहिलोपटक आमा बनेकी हुन् । अस्पतालका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक यमन नेपालीका अनुसार पहिलोपटक सुत्केरी भएकी किशोरीको ३७ हप्ता एक दिनको गर्भमा शिशु उल्टो अवस्थामा थियो । आमाको उमेर कम र गर्भ उल्टो भएकाले आमा र शिशुको जीवन जोखिममा रहेको थियो । गर्भ उल्टो हुँदा शिशु जन्मँदा टाउको अड्किएको र जन्मिँदा निसास्सिएर शरीर नीलो भएको थियो । 'शिशु उल्टो भएको र पूरै घर खुुलिसकेको रिफर गर्दा थप समस्या हुने देखेर जोखिम मोलेरै भए पनि सुत्केरी गराउन ढिलाइ गर्न नहुुने निर्णय लियौँ', उनले भने, 'निसास्सिएर शरीर नीलो, मुटुको घड्कनको गति १०० भन्दा कम, स्वासप्रस्वासको दर न्यून भएको र शरीर पनि नचल्ने अवस्थामा जन्मिएको शिशुलाई करिब दुई घण्टाको प्रयासमा सामान्य अवस्थामा फर्कायौँ ।' जनस्वास्थ्य निरीक्षक नेपाली र सिनियर अनमी दीपा परियारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला र बेनी अस्पतालका चिकित्सकहरूको परामर्श तथा निर्देशनमा प्रसूति गराएका हुन् । 'जटिल अवस्थामा जन्मिएको शिशुलाई डा बास्तोलाको अनलाइन परामर्शको आधारमा हरसम्भव उपचार प्रयास गरियो', नेपालीले भने, 'ब्याग एण्ड मास्क’को सहायताले करिब १२र१३ पटक हावा दिएपछि शिशुको ओठ पनि गुलाबी हुँदै रुन थालेपछि खुसीको सीमा रहेन ।' स्वास्थ्यकर्मी तथा चिकित्सकहरूका अनुसार गर्भमा उल्टो भएका र निसास्सिएर जन्मिएका शिशुलाई बचाउन कठिन हुन्छ । वीरलै मात्र नवजात शिशुलाई बचाउन सकिन्छ । सहरका सुविधा सम्पन्न अस्पतालमा यस्तो अवस्था शल्यक्रियामार्फत प्रसूति गराइन्छ । ग्रामीण क्षेत्रमा रहेको दरवाङ अस्पतालका स्वास्थ्यकर्मीहरूले सीमित स्रोत र साधनका बाबजुत जटिल किसिमको प्रसूति सेवा दिएका हुन् । शिशुको तौल दुई किलोग्राम ५०० ग्राम छ । हाल आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ । थप निगरानी तथा व्यवस्थापनको लागि बेनीमा रहेको प्रदेश अस्पतालमार्फत पोखरा पठाइएको जनस्वास्थ्य निरीक्षक नेपालीले बताए । रासस