विकासन्युज

प्रदेश गौरबका दुई सडक योजनाको काम अगाडि बढेन

काठमाडौं । गण्डकी प्रदेश सरकार अन्तर्गत पर्वतमा निर्माणाधीन दुई सडक आयोजना निर्माण सुरु भएको ६ वर्ष हुँदा पनि सम्पन्न भएका छैनन् । जिल्लाको जलजला गाउँपालिकामा पर्ने मिलनचोक-सल्यान-घाखेत-धारापानी ठोट्नेरी सडक र लुंखुदेउराली-मिलनचोक-बालाकोट-होश्राङदी सडक अलपत्र अवस्थामा छन् । दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाइएका यी सडक ६ वर्षसम्म पनि पूरा हुन सकेका छैनन् । २८ करोड १३ लाख रुपैयाँमा काम सुरु भएको मिलनचोक-सल्यान-घाखेत-धारापानी ठोट्नेरी सडकको हालसम्म ६४ प्रतिशत मात्रै प्रगति भएको छ । यो खण्डमा मिनचोकदेखि सल्यानसम्म कालोपत्र भए पनि सल्यानदेखि घाखेत हुँदै धारापानीसम्म काम अगाडि बढेको छैन । सडक सम्पन्न गर्न पटकपटक म्याद थपे पनि विभिन्न बहाना बनाउँदै ढिलासुस्ती गरिरहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले बताए । १० किलोमिटर सडकमा स्तरोन्नति गर्ने योजनासहित काम सुरु भए पनि हालसम्म करिब चार किमी मात्र कालोपत्र भएको छ । अन्य खण्डको काम सुस्त गतिमा भएको कार्यालयले जनाएको छ । निर्माण सामग्री अभाव, भौगोलिक कठिनाइलगायत कारण देखाउँदै निर्माण व्यवसायीले आलटाल गरेको कार्यालय प्रमुख अर्यालले बताए ।  सडक कालोपत्र गर्न विसं २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाख रुपैयाँमा हिमदुङ एण्ड थोकर प्रालीसँग ठेक्का सम्झौता भएको थियो । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सञ्चालित यो सडक विसं २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य थियो । यसैगरी, ११ करोड २२ लाख ६६ हजार रुपैयाँमा निर्माण सम्झौता भएको लुंखुदेउराली-मिलनचोक- बालाकोट-होश्राङदी सडक पनि ४ वर्षदेखि अलपत्र अवस्थामा छ । यो सडक खण्डमा हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । लामो समयदेखि निर्माण व्यवसायी सम्पर्कमा नआउँदा काम अगाडि नबढेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए । पटकपटक लिखित र मौखिक रूपमा काम थाल्न अनुरोध गरिए भए पनि निर्माण व्यवसायी सम्पर्कमा नआएको उनको भनाइ छ । सडक निर्माणका लागि रु चार करोड १३ लाख भुक्तानी भइसकेको छ । पछिल्लो पटक थप गरिएको अवधि पुस मसान्तमा पूरा हुँदैछ, तर  ठेकेदार काममा नफर्किएको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले बताए । निर्माण व्यवसायीले नाली व्यवस्थापन नगरी भत्काएर छोडेकाले वडा नंं ५ काफल डाँडामा रहेको गाउँपालिका कार्यालय, बालाकोट र होश्राङ्दीका बासिन्दालाई दैनिक आउजाउ गर्न निकै सास्ती भइरहेको उनको भनाइ छ । पूर्वाधार विकास कार्यालय काम सुरु नगरे अब ठेक्का तोड्ने तयारी गरिएको जनाएको  छ । 

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ घाइते, बस चालकको खोजी

काठमाडौं । बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टी-स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रु वाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका-११ का ४६ वर्षीय दिनेश कुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका-२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिए । ​​​​​ घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताए । दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ । 

कुमारीलाई तलेजुको दर्शन गराइयो

काठमाडौं । नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ ।  तलेजुको दर्शनबाट जीवित देवी कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ । वसन्तपुरस्थित कुमारी घरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्याइएको कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले बताए । तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराएका हुन् । 

काठमाडौंका सडक सुनसान

काठमाडौं । विजयादशमीको बिहान आज काठमाडौं उपत्यकाका सडक सुनसान जस्तै छन् । काठमाडौंबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागन भएको देखिन्छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ । टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ । दसैँको नवमीका दिनसम्म ६ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्याङ्क छ ।

देशभित्रै आक्रमण हुने राष्ट्रपति ट्रम्पको चेतावनी, यी शहरमा असुरक्षित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्रै ‘आक्रमण’ को सम्भावना रहेको चेतावनी दिएका छन् । यसलाई उनले ‘विदेशी शत्रुभन्दा फरक छैन, तर अझै गाह्रो’ भन्दै चिन्ता व्यक्त गरेका छन् ।  उनका अनुसार यस्ता शत्रुहरूले वर्दी नलगाउने हुनाले तिनीहरूलाई शत्रुहरू पत्ता लगाउन कठिन हुन्छ । भर्जिनियाको क्वान्टिकोस्थित मरीन कप्रस बेसमा शीर्ष अमेरिकी सैन्य अधिकारीहरूको भेलालाई सम्बोधन गर्दै ट्रम्पले भित्री शहरहरूलाई सुरक्षा चुनौतीका रूपमा चित्रण गरे ।  उनले रक्षामन्त्री पिट हेग्सेथलाई खतरनाक अमेरिकी शहरहरूलाई सैन्य तथा नेशनल गार्ड प्रशिक्षणका लागि प्रयोग गर्न सुझाव दिए । ‘हाम्रा भित्री शहरहरू अहिले युद्धको ठूलो हिस्सा बनेका छन् । मैले पिटलाई भनेँ, यी खतरनाक शहरहरूलाई हामीले हाम्रो सेना र नेशनल गार्डको प्रशिक्षण मैदान बनाउनुपर्छ । हामी चाँडै सिकागो जाँदैछौँ,’ उनले भने ।  राष्ट्रपति ट्रम्पले सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क र लस एन्जलसलाई विशेषगरी ‘असुरक्षित’ क्षेत्रका रूपमा उल्लेख गर्दै आफ्नो प्रशासनले तिनीहरूलाई एक/एक गरेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘सान फ्रान्सिस्को, शिकागो, न्युयोर्क, लस एन्जलस- यी सबै धेरै असुरक्षित ठाउँहरू हुन् । हामी तिनीहरूलाई एक–एक गरेर समाधान गर्नेछौँ । यो हाम्रो लागि एउटा प्रमुख युद्ध हो र यो भित्रैबाट हुने युद्ध हो,’ उनले भने । यसअघि, सेप्टेम्बर २१ मा राष्ट्रपति ट्रम्पले वासिङ्टन डिसीमा अपराध दर उल्लेखनीय रूपमा घटेको दाबी गरे । उनले सो क्षेत्रलाई गत वर्षको तुलनामा पूर्ण रूपमा फरक र सुरक्षित भएको बताउँदै यसलाई आफ्नो प्रशासनको ‘सुशासन र कडाइका कारण सम्भव भएको’ बताए ।  यसैबीच, अमेरिकी प्रशासनले अपराध नियन्त्रण र आप्रवासन दमन योजनाअन्तर्गत शिकागोमा नेसनल गार्ड तैनाथ गर्ने तयारी गरेको बताइएको छ ।

दसैँले एकापसमा भ्रातृत्व र राष्ट्र प्रेमप्रति प्रोत्साहित गर्नेछ: अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न चाडपर्वहरूले मुलुकमा राष्ट्रिय एकताको भावनालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।  बडादसैँका अवसरमा शुभकामना दिँदै उनले देशमा रहेको भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच एकता कायम गर्न यस्ता पर्वले महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।  ‘नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा रहेका विभिन्न समुदायका मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्न आवश्यक छ । यसले दिगो शान्ति र सामाजिक सहिष्णुता कायम गर्न सघाउ पुग्छ,’ अध्यक्ष नेपालले भने ।  उनका अनुसार दसैँले सबै जाति समुदायलाई एकापसमा भ्रातृत्व र आपसी मेलमिलाप तथा राष्ट्र प्रेमप्रति प्रोत्साहित गर्नेछ । दसैँले असत्यमाथि सत्यको विजय सन्देश प्रवाह गर्ने, पारिवारिक मिलनका साथै हिमाल, पहाड र तराईका जनताबीच आपसी मित्रता, सहिष्णुता अभिवृद्धि गर्दै प्रगतिशील समाज निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनि उनले कामना गरे ।

मिथिलामा आज रावण वध उत्सव

काठमाडौं । मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो । श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ ।   वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गर्नुभएको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ । विजयादशमीको दिन साँझको बेला दशानन (१० टाउको भएको) अजङ्को रावण प्रतिमालाई श्रीरामले चलाउनुभएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा गरिएको छ । यस प्रयोजनका लागि दुर्गा मन्दिर परिसरमा अजङ्को रावणको पुतला बनाइएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताए ।  मिथिलामा विजयादशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई सम्हार गर्नुभएको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको छ । यसैअनुसार मटिहानीमा वर्षौं वर्षदेखि यो उत्सव मनाउन थालिएको उनले जानकारी दिए ।  ‘हामी विजयादशमीका दिन बिहान देवी पूजन विसर्जन गर्छौं, साँझ रावण वध उत्सव मनाउँछौँ,’ मण्डल भन्छन्, ‘विजयाको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गर्नुभएको विश्वासमा यहाँ त्यसैबेला पारेर अजङ्को रावण आकृतिलाई तिरले ढालिन्छ ।’ दशहारा (दसैँ) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको सम्हार गर्र्नुभएको प्रतीकात्मक रहेझैँ मटिहानीमा रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ । सत्ययुगमा देवीले दैत्य सम्हार गरेझैँ त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गर्नुभएको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ । खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन सम्हार गर्नुभएको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको मटिहानी-७ निवासी प्रेस स्वतन्त्रता सेनानी ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डलको कथन छ । मर्यादा पुरुषोत्तम श्रीरामले दश इन्द्रीयका दास दशानन (रावण) माथि विजय प्राप्त गर्नुभएको हुँदा ‘दशहारा’ (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नाउँले प्रसिद्धि पाएको मैथिल लोकपरम्पराका ज्ञाता तथा मिथिला माहात्म्यका नेपाली अनुवादक जलेश्वर-५ निवासी सेवानिवृत्त सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ । बडादसैँ  नाउँ पनि ‘वर्जय दश इन्द्रीय’ बाट बनेको रायको भनाइ छ । रावण वध उत्सव यस क्षेत्रको महत्त्वपूर्ण संस्कृति र परम्पराको अभिन्न अङ्ग नै बनेको नगरप्रमुख मण्डलको भनाइ छ ।  ‘हामी देवी उपाशनामा पनि रमाउँछौँ, यद्यपि रावण वध उत्सव हाम्रा लागि दसैँको खास परम्परा हो । यस उत्सवमा मटिहानीका जनजन परिचालित हुन्छन्,’ उनले भने ।  मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको अजङ्को प्रतिमा भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजासाथ जलाशयमा पुर्याइ गहिरो पानीमा विसर्जन गर्ने परम्परा रहेको छ ।

राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् ।  देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए । विगतमा राष्ट्रपतिबाट बडा दसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।