विकासन्युज

प्रभु महालक्ष्मीको पौने ३ करोडको सेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोज १९ गतेदेखि पौने ३ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीमा रहेको संस्थापक समूहको १ लाख ४२ हजार ३ सय कित्ता सेयर बिक्रीमा राखिएको छ ।  कम्पनीले प्रतिकित्ता २०३ रुपैयाँका दरले उक्त सेयर बिक्रीमा राखिएको हो । सो मूल्यका आधारमा कम्पनीको २ करोड ८८ लाख ८६ हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयर खरिदका लागि असोज २२ गतेसम्म बोलपत्र पेस गर्नुपर्नेछ । प्राप्त बोलपत्र असोज २३ गते बिहान ११ बजे खोलिने जनाएको छ ।  कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । 

दसैँमा महिलाहरू घरायसी काममा व्यस्त, पुरुष जाँडरक्सी र जुवा तासमा मस्त

काठमाडौं । दसैँको समयमा घरबाहिर रहेका वा रोजगारीमा रहेका घर फर्किएका छन् । यो समयमा परिवारका सबै सदस्य जम्मा हुने, खानपान तथा रमाइलो गर्ने चलन छ । यस्तो बेलामा घरायसी काम बढ्ने गर्दछ । घरायसी काम बढ्दा महिलालाई कामको बोझ बढ्ने गरेको महिला बताउँछन् । चाडपर्व भनेपछि प्रायजसो सबैलाई रमाइलो गर्न मनपर्छ । नेपाली समाजमा महिला घरायसी कामले पिल्सिने, पुरुष रमाइलो गर्ने, फुर्सदिला भएकाजस्तो देखिन्छ । भजनी नगरपालिकाकी साधना साउदका घरमा अहिले दसैँको रौनक छ । विदेशमा भएका श्रीमान् घर आएपछि घर आफन्त तथा पाहुनाले भरिएको छ । सबैलाई घरमा रमाइलो छ तर साधनाको भोक निद्रा हराएको छ । ‘दुई वर्षपछि श्रीमानसँग भेट भएकोमा खुसी छु, यसपाली श्रीमानसँग घुम्ने योजना थियो, तर घरको कामबाट फुर्सद छैन,’ उनले भनिन्, ‘बिहान ४ बजेदेखि राति ११ बजेसम्म कामै सकिँदैन, सबै रमाउनेहरु मात्रै छन्, काम जति मेरै जिम्मामा छ ।’ टीकापुरकी द्रोपती तिमिल्सिनाले चाडपर्वमा समाजमा महिलालाई भ्याइनभ्याइ भएको देखेकी छिन् । ‘दसैँ, तिहार बिदामा समाजमा पुरुष फुर्सदिला देखिने, महिला भने घर सरसफाइ, भान्साको काम, पाहुनाको स्वागतमा व्यस्त रहेको देखिन्छ,’ उनले भनिन्, ‘महिलाले पनि यो समयमा नयाँ ठाउँ घुम्ने, अध्ययन गर्ने, नयाँ काम गर्ने, आफ्ना लागि समय छुट्याउन पाएको देखिँदैन ।’ द्रोपतीका श्रीमान् भने निकै सहयोगी छन् । उनीहरू मिलेर घरायसी काम गर्छन् । चाडपर्वमा गरिने खर्च, किनमेल र नयाँ योजना बनाउँदा पनि सल्लाह गरेर गर्छन् । अर्की महिला जानकी कुँवर महिलालाई त्यसै पनि घरायसी कामको बोझ हुने गरेका बेला चाडपर्व तथा उत्सवले थप जिम्मेवारी थप्ने बताउँछिन् । ‘कामकाजी महिलालाई अझ दोहोरो जिम्मेवारी हुने हुँदा महिलालाई घरायसी काम व्यवस्थापन गर्न कठिन हुन्छ,’ उनले भनिन्, ‘यस्तो बेला परिवारका सदस्य सहयोगी हुनुपर्छ । चाडपर्वमा खुसी हुने अवसर सबैलाई दिनुपर्छ । परिवार भनेको सामूहिक खुसी हो भन्ने सबैमा भावना हुनुपर्छ ।’ पुरुष घुमघाम गर्ने, रमाइलो गर्ने, जाँडरक्सी खाने, जुवा तास खेल्ने गलत अभ्यास हाम्रो समाजमा अहिले पनि देखिन्छ । जसले समाजमा अशान्ति र हिंसा बढाउँछ, भन्नेमा सबै सचेत हुनुपर्ने अधिकारकर्मी चन्द्रावती शर्माको भनाइ छ । ‘महिला रातदिन घरको काममा व्यस्त हुने, पुरुष जुवा तासमा रमाउने गर्दा पारिवारिक कलह हुनसक्छ । परिवारका सबै सदस्य मिलेर घरायसी काम गर्ने, मिलेर रमाइलो गर्दै चाडपर्व मनाउने गरेमा चाडपर्व सबैका लागि रमाइलो हुन्छ । तर समाजमा यस्तो अभ्यास निकै कम छ,’ उनले भनिन् । अर्की महिला अधिकारकर्मी कौशल्या खनाल पितृसत्तात्मक समाजका कारण विगतमा छोराछोरीलाई बराबरी काम नसिकाएकै कारण अहिले महिलाले हिंसा भोगिरहेका बताउँछिन् । ‘घरायसी काममा असमानता महसुस गरिरहेकाले अबका आमा सचेत हुनुपर्छ । छोराछोरीले बराबरी काम गर्नुपर्छ भन्ने सन्देश दिनुपर्छ । सानैबाट छोरालाई घरायसी काम सिकाउनुपर्छ,’ उनले भनिन् ।  चाडपर्वका बेला महिलाले खानपान, काम मात्र नभनी आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने, धेरै तनाव नलिने, योग तथा ध्यान जस्ता कार्यमा सहभागी भएर आफूलाई सम्हाल्नुपर्ने स्वास्थ्यकर्मी हेमा ज्ञवालीको सुझाव छ । ‘चाडपर्व सबैका लागि आएको हुन्छ । चाडपर्वमा रमाउने, राम्रो लगाउने, मीठो खाने चाहना सबैको हुने भएकाले सबै मिलेर काम बाँडफाँड गर्ने, अनावश्यक खर्च नगर्ने, घर सल्लाहमा खर्च गर्ने गरेमा महिला पुरुष दुवै खुसी हुन्छन् । महिला पुरुष खुसी भएमा परिवार, समाजमा शान्ति छाउँछ,’ उनले भनिन् । रासस

आज महाअष्टमी: मासु खाँदा चिकित्सकहरूका यी सुझाव अपनाऔं

नारायण अधिकारी काठमाडौं । आज दसैँको महाअष्टमी, घर घरमा खसी बोका, राँगा, च्याङ्ग्रा लगायतका पशु चौपायाको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरूको सुझाव छ ।चिकित्सकहरू मासु नै नखान भन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफैंमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरुको भनाइ छ ।  पुष्पाञ्जलि अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी खानपिनमा सामान्य ध्यान नदिँदा दसैँका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडा बान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि हुने बताउँछन् । एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा हुने उनको भनाइ छ । बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान सकिने उनले सुझाए ।  पकाउने तरिकामा विशेष ख्याल पुर्याउनुपर्ने भन्दै उनले पोलेर र तारेर मासु प्रयोग नगर्न सुझाव दिए । चाडपर्वमा बाहिर हिँडडुल धेरै गर्ने र खानपानमा ध्यान नदिने प्रचलन बढ्दै गएको जनाउँदै उनले भने, ‘नुन, चिल्लो, चिसो, गुलियो बढी खाने त्यसमा पनि मदिरा र चुरोट मिसाउँदा झनै समस्या हुन्छ ।’ साकाहारीले पनि धेरै मिठाइ, पनिर जस्ता वस्तु खान नहुने उनले बताए । उनका अनुसार मिठाइ लामो समयदेखि बनाएर राखिएको हुन्छ । जसले स्वास्थ्यमा असर गर्छ । पनिर पनि धेरै खाँदा कोलेस्ट्रोल बढ्ने भन्दै उनले ठिक्क मात्रामा खान सुझाए । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण साहले रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको जोखिम बढ्ने बताए । दसैँमा मासु खाँदै नखाने भनी रोक्न नसकिने बताउँदै उनले भने, ‘बासी नखाने, साग सब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछा खाने गर्नुपर्छ ।’ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विनय ठाकुर बोसो भएको मासुलाई आगोमा पकाएर खाँदा त्यसबाट उत्पन्न हुने प्रतिक्रियाबाट आन्द्राको क्यान्सर हुने जोखिम बढी हुने बताउँछन् । मासु खान हुने भन्दै उनले भने, ‘तर धुवाँसँग मासुलाई मिसाएर प्रशोधन गरिँदा रासायनिक प्रक्रिया भई क्यान्सर उत्पन्न गराउने खतरा हुन्छ ।’ स्वस्थ तरिकाले मासु पकाएर खान उनको सुझाव छ । मदिरा र मासु धेरै सेवन गर्ने व्यक्तिमा समेत आन्द्राको क्यान्सरको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन् । चितवन मेडिकल कलेज (सिएमसी) का डिएम इण्डो क्राइनोलोजिष्ट डा सौरभ खतिवडा अस्वस्थ तरिकाले पकाएको मासुले मानव स्वास्थ्यमा असर पर्ने बताउँछन् । बोसो बढी भएको मासु खाँदा मोटोपना बढ्ने बताउँदै उनले भने, ‘मासुसँगै खाद्य परिकार धेरै खाइने हुँदा यसले शरीरमा चिनीको मात्रा बढाउने जोखिम हुन्छ ।’ खाना खाएपछि चार घण्टामा सामान्य अवस्थामा आउनुपर्ने बताउँदै उनले बोसोसँगको खानाले १२ घण्टासम्म चिनीको मात्रा बढाइरहने बताए । ‘राति बोसोसहितको खाना खाँदा बिहानसम्म यसको प्रभाव रहिरहन्छ,’उनले भने ।  बोसो बढी भएको मासु खाँदा एलडिएल कोल्डस्ट्रोर, ट्राइग्लिसिराइडको मात्रा बढ्ने उनले बताए । डा खतिवडाले भने, ‘पोलेको, भुटेको र अधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक छ । बोसोरहित मासु कम खानुपर्छ ।’ चाडपर्व भन्नासाथ हामी हर्षोल्लासका साथ मनाउँछौँ, तर खानपिन र आहार विहारमा लापरबाही गर्ने चलन छ । अर्को कुरा, धेरै बिरामीहरू आफू मरणासन्न नहुँदासम्म अस्पताल वा स्वास्थ्य केन्द्रमा नजाने, सहेर बस्ने गर्छन् । खासगरी घरमा सबै जना जम्मा भएको बेला अरूलाई ‘डिस्टर्ब’ हुन्छ भनेर आफूलाई बेसरी छाती दुखे पनि वा श्वास फेर्न गाह्रो भए पनि सहने चलन छ, जसले गर्दा मुटु रोगीको जोखिम बढ्न जान्छ । यस बाहेक, यो बेला शारीरिक परिश्रम पनि बढ्छ र खानपिनका कारणले स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्न सक्छ, जसले गर्दा रोगले च्याप्न सक्छ । चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ प्रा.डा श्याम राज रेग्मीले मुटुरोग भन्ने बित्तिकै प्रेसर (हाइपरटेन्सन), सुगर (मधुमेह) र हाई कोलेस्ट्रोल (डिस्लिपिडिमिया) जस्ता रोगसँग जोडिने बताउँदै मुटु रोगसँगै सुगर, प्रेसर वा चिल्लोको मात्रा बढी भएको समस्या छ भने, तिनीहरूले खानपानमा अत्यन्तै सावधानी अपनाउनुपर्ने सुझाव दिए । उनले भने, ‘यदि शुद्ध मुटुरोग मात्र छ र मुटु कमजोर छैन भने अरू बिरामीको जस्तो साधारण खानपिनमा धेरै बार्नु पर्दैन ।’  सामान्यतया, हामीले मुटु रोगीलाई चिल्लो र मासु धेरै नखान सल्लाह दिने गरेको उनको भनाइ छ । ‘धेरै चिल्लोले मुटुलाई असर गर्न सक्छ र पाचन शक्तिमा गडबडी ल्याउन सक्छ । पेट फुल्यो भने पनि त्यसले अप्रत्यक्ष रूपमा मुटुको कामलाई असर गर्न सक्छ,’ उनले भने ।  उनले दसैँमा खान र रमाउन सुझाव दिँदै स्वस्थकर खाना थोरै खान आग्रह गरे । उनले भने, ‘चिल्लो, छाला र बोसो नभएको मासु थोरै खान हुन्छ । मासु छुँदै नछुने वा जिब्रोको स्वादलाई ध्यान नदिने भन्ने कुरा सामाजिक सञ्जालमा चर्चा पाए पनि, थोरै खानाले केही असर हुँदैन ।’  मधुमेह नियन्त्रणमा छ भने दिनमा एउटा वा दुइवटा मिठाइ खाँदा फरक नपर्ने उनको सुझाव छ । रासस

नवघोषित कुमारी आर्यताराले आज आसन ग्रहण गर्ने

काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यले आज मङ्गलबार आसन ग्रहण गर्ने भएकी छिन् । स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्यान्हको शुभ साइतमा विधि विधान पूर्वक कुमारी घरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको हो ।  विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए ।  उनका अनुसार जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक समेत मानिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ । कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो । कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको कुमारी घर व्यवस्थापन समितिका संयोजक शाक्यले बताए । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ ।

बडादसैँको नवौँ दिनः आश्विन शुक्ल अष्टमी ‘महागौरी देवी’को पूजाआराधना गरिँदै

काठमाडौं । बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।   किंवदन्तीअनुसार महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान शिवले एकदिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको हो । दोस्रो दिन असोज ७ गते मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौँथो दिन बिहीबार र पाँचौँ दिन शुक्रबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । पाँचौँ दिन पनि सूर्योदयकालमा चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीको पूजाआराधना गरिएको हो । यस वर्ष नवरात्रको छैटौँ दिन परेको आश्विन शुक्ल पञ्चमीका अवसरमा शनिबार स्कन्दमाताको पूजाआराधना गरिएको थियो । आश्विन शुक्ल षष्ठीका दिन आइतबार कात्यायनी देवी, आश्विन शुक्ल सप्तमीका दिन सोमबार कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । यसै दिन दसैँघर वा पूजाकोठामा फूलपाती पनि भित्र्याइएको थियो । आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको घुइँचो बढ्ने गरेको छ । नवरात्रको सातौँ दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ । यसै दिनदेखि बडादसैँको विशेष रौनक सुरु हुन्छ ।

मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी  भू-भाग तथा तराईका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना  छ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको  महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी, र बागमती र गण्डकी प्रदेशका  केही स्थानहरूमा र बाँकी भू-भागका मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

इन्डोनेसियाका राष्ट्रपतिको यो निर्देशनले रोकिँदैछ राज्यको ४५ ट्रिलियन घाटा

काठमाडौं । इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले अवैध टिन खानी बन्द गर्न निर्देशन दिएका छन् । सोमबार देशको प्रमुख टिन उत्पादन गर्ने क्षेत्र सुमात्रा टापुको बङ्गका बेलितुङ प्रान्तमा करिब १ हजार अवैध टिन खानी बन्द गर्न आदेश दिएका हुन् ।  राष्ट्रपति प्रबोवोको यो कदमले २०२६ सम्ममा ४५ ट्रिलियन (लगभग २.८ बिलियन अमेरिकी डलर) सम्मको राज्यको घाटा रोक्ने अनुमान गरिएको छ । ‘बङ्गका बेलितुङबाट हुने टिन उत्पादनको करिब ८० प्रतिशत साना डुङ्गादेखि यात्रु डुङ्गासम्म विभिन्न च्यानल मार्फत विदेशमा तस्करी भइरहेको छ,’ राष्ट्रपति प्रबोवोले भने । सबै तस्करी मार्गहरू हाललाई बन्द गरिएको बताउदै तस्करीको लागी कुनै बाटो नरहेको र डुङ्गाबाट तस्करी गर्न नसक्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।  अवैध उत्खननलाई रोक्न र राज्यको राजस्वलाई सुदृढ पार्ने आफ्नो प्रशासनको दृढतालाई उल्लेख गदै प्रबोवोले खनिजहरू पहिचान गर्न मद्दत गर्न रसायन शास्त्री भर्ती गर्न भन्सार महानिर्देशनालयलाई निर्देशन दिए ।

घटस्थापनादेखि आजसम्म ४ लाख ६७ हजारले छाडे उपत्यका, साढे २ लाख काठमाडौं भित्रिए

काठमाडौं । पछिल्लो २४ घण्टामा १ लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । दसैँ मनाउनका लागि १ लाख ११ हजार ६३९ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा ४ लाख ६७ हजार ९७७ जना काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।  यसैगरी घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमा कम्तीमा २ लाख ५२ हजार ७५५ जना काठमाडौं उपत्यका भित्रिएका प्रहरीले जनाएको छ । दसैँको चहलपहल सुरुभएसँगै गाउँ फर्किने नागरिकको सङ्ख्या बढ्न थालेका कारण काठमाडौं उपत्यकाभन्दा बाहिरी राजमार्गमा सवारीसाधनको चाप बढ्दै गएको प्रवक्ता सुवेदीले बताए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट १८ हजार ६१३ सवारीसाधन बाहिरिएका छन् भने १३ हजार ९२९ सवारीसाधन र ६१ हजार ८२२ यात्रु काठमाडौं भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।