विकासन्युज

मुक्तिनाथ क्यापिटलले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा असोज १० गते काठमाडौंको हात्तिसारस्थित अरण्य बुटिक होटलमा सभा बसेको हो । सभाले सेयरधनीलाई चुक्ता पूँजीको ९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, आव २०८१/८२ को नाफा-नोक्सानी हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको छ । साथै, आगामी आव २०८२/८३ का लागि एनविएसएम एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित गरिएको छ ।

युनाइटेड अजोडको मुख्य काउन्टर दशैँ विदामा पनि खुला रहने

काठमाडौं । दशैँ बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले सेवाग्राहीहरुका लागि काउन्टर खुला गर्ने भएको छ । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा दशैँ बिदामा पनि काउन्टर खुला रहने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।  यो काउन्टले असोज १३, १४ र १५ गते खुला रहने कम्पनीले जनाएको छ । काउन्टर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ । कम्पनीको अन्य शाखाहरु भने दशैँको विदामा बन्द रहने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । दशैँको समयमा बीमा सेवालाई निरन्तरता दिनको लागि कम्पनीको प्रधान कार्यालयमा काउन्टर सञ्चालन हुने भएकोले ग्राहकले आवश्यक सेवालका लागि सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख गरेको छ । 

जेनजी आनदोलकर्ताले आगजनी गरेपछि गभर्नरका लागि घर खोज्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा.डा. विश्वनाथ पौडलका लागि घर भाडामा लिने भएको छ । गत भदौ २३ गते र भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरुले घरमा आगजनी गरेपछि राष्ट्र बैंकले गभर्नर पौडलका लागि घर भाडामा लिन लागेको हो ।  राष्ट्र बैंक खरिद विनियमावली, २०७१ (पाँचौ शंसोधन समेत) को विनियम ९० को उपनियम (१) को व्यवस्था बमोजिम घर भाडामा लिन लागिएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।  राष्ट्र बैंकमा ३० वर्ष काम गरिसकेका अधिकारले घर सुविधा लिन पाउने सुविधा छ । तर, कुनै पनि अधिकारीले त्यो सुविधा लिएका नलिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । तर, डा. चिरञ्जिवि नेपाल गभर्नर हुँदा घर भाडामा लिएर बसेको उनले बताए ।  राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर पौडलले घर सुविधा लिने सोच बनाएका थिएनन् । तर, जेनजी आन्दोलनका कारण आगजनी भएपछि आवासको व्यवस्थापन गर्ने निर्णय भएको हो ।  ‘विगतमा डा. चिरञ्जीवी नेपालको पालामा गभर्नरले आफ्नो निवासमा बस्नलाई उपयुक्त नठानेमा सञ्चालक समितिबाट निर्णय गराएर आवास सुविधा लिन सक्ने नीति छ । सोही अनुसार विगतमा कुनै समस्या नहुँदा पनि डा. नेपालले भाडाको घरमा बस्नु भएको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘गभर्नर पौडलले घर सुविधा लिने सोच बनाउनु भएको थिएन । तर, यो दुर्घटनापछि आवासको व्यवस्थापन गर्ने निर्णय भएको हो ।’ राष्ट्र बैंकका अनुसार ललितपुर महानगरपालिकाको मखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा अवस्थित कम्तीमा १६ आनादेखि २४ आनासम्म जग्गा भएको, कम्तीमा ६ वटा कार तथा जीप पार्किङ गर्न मिल्ने, आरसिसि स्ट्रक्चर सहित कम्तीमा १ हजार वर्ग फिट पिलिन्थ क्षेत्रफलमा निर्माण भएको घर भाडामा लिन लागिएको हो ।  घरमा कम्तीमा एउटा मास्टर बेडरुम सहित ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ्ग हल तथा स्टोर रुम भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवनको व्यवस्था भएको, सुरक्षित कम्पाउन्ड वाल भएको, कालोपत्रे सडकसँग जोडिएको तथा बिजुली, ढल निकास र खानेपानी लगायतका पूर्वाधारको यथोचित प्रबन्ध भएको हुनुपर्नेछ ।  साथै, २.५ तलादेखि ३ तलासम्मको घर भाडामा दिन इच्छुक व्यक्ति तथा कम्पनीले असोज २७ गतेभित्र प्रस्ताव पेस गर्न राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।  ‘प्रस्ताव के–कस्तो आउँछ, त्यो सबै बोलपत्र हेरेर मात्रै थाहा पाइन्छ । प्रस्ताव सञ्चालक समितिमा लगिन्छ । विगतमा १ लाखको हाराहारीमा घर भाडामा लिएको थियो । ७/८ वर्ष अगाडिको मूल्य र अहिलेको मूल्य फरक पर्न सक्छ । तर, विवरण पत्रमा उल्लेख भए बमोजिमको प्रस्ताव आएमा मूल्यको विषय पछि नै तोकिन सक्छ,’ स्रोतले भन्यो ।  

बाई बाई काठमाडौं, ह्याप्पी दसैं (तस्बिरहरु)

काठमाडौं । नेपालीहरूको महान पर्व विजया दशमीको लागि घर जानेहरूको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरूको आइतबार बिहानैदेखि उल्लेख्य भीड छ । काठमाडौंको कलंकी, कोटेश्वर, बालाजु लगायतका नाकाहरूबाट बाहिरी जिल्ला जानेहरू बिहानैदेखि सडकमा उभिएका थिए ।  दशैँ, तिहार लगायतका पर्वहरू मनाउन काठमाडौं उपत्यकामा बसेर काम गर्ने, अध्ययन गर्नेहरू फर्किरहेका छन् । जसकारण पनि काठमाडौंमा सवारी ट्राफिक कम हुँदै गएको छ । केही सडकखण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरू अलपत्र परेका छन् । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरूको गुनासो छ । दशैँ मनाउन घर जान हिँडेका नागरिकहरूको तस्बिर आजको फोटो फिचरमा । 

जेनजी प्रदर्शन : बनेपा नगरपालिकामा १० करोडको क्षति

काभ्रेपलाञ्चोक । गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनीबाट बनेपा नगरपालिमा करिब रु १० करोडबराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उक्त रकमबराबरको क्षति भएको जनाइएको हो । प्रदर्शनका क्रममा नगरको तीनतले मुख्य प्रशासनिक भवन, योजना शाखा र प्राविधिक शाखा रहेको भवन पूर्ण रूपमा क्षति भएको नगरले जनाएको छ । नगरको मूल्याङ्कनअनुसार तीनतले प्रशासनिक भवनको पहिलो तलामा रहेको सभाहल, प्रशासकीय अधिकृतको कार्यकक्ष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, प्रशासन, सहकारी तथा सामुदायिक विकास, राजस्व, जिन्सी, दर्ता चलानी शाखा, पुरुष र महिला शौचालय तथा शाखाका कार्यकक्षभित्र रहेका महत्त्वपूर्ण अभिलेख तथा दस्तावेज पूर्ण रूपमा नष्ट भएको छ । विसं २०४३ मा निर्माण भएको उक्त मुख्य भवनको ह्रासकट्टीसहितको प्राविधिक मूल्याङ्कनमा रु पाँच करोड ४२ लाख ५४ हजार ४८७ क्षति भएको जनाइएको हो ।   त्यसैगरी, दोस्रो तलामा रहेका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, गोप्यकक्ष, सचिवालय कक्ष, न्यायिक समितिको इजलास कक्ष, कानुन, शिक्षा, लेखा शाखा र दुईवटा शौचालय जलेर पूर्ण रूपमा नष्ट भएको पूाविधि मूल्याङ्कनमा उल्लेख गरिएको छ । यस्तै तेस्रो तलामा रहेको आन्तरिक लेखा परीक्षण, जिन्सी गोदाम कक्ष र लेखा शाखाका सबै अभिलेख रहेको कक्षसहित सबै सामग्री जलेर नष्ट भएको जनाइएको छ ।    योजना र प्राविधिक शाखा रहेको भवनका सबै शाखा तथा कार्यकक्ष र त्यहाँका सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् । सुरक्षा गार्ड र स्तनपान कक्ष रहेको भवनभित्रका सबै शाखा पनि जलेर नष्ट भएको उल्लेख गरिएको छ । मिनीट्रक रु ४९ लाख ५० हजार, तीन ट्याक्टरको रु ४५ लाख, एक टिपरको रु २५ लाख ९० हजार, एक मोटरसाइकलको रु एक लाख ४२ हजार ९००, दुई कारको रु २३ लाख, एक जीपको रु पाँच लाख आठ हजार २६८, पाँच साइकलको रु ५० हजार क्षति भएको छ । डेक्सटप कम्प्युृटर सेट ४४, ल्यापटप १६, ट्याबलेट १४, २१ मोबाइल, ५३ प्रिन्टर, डिजिटल क्यामेरा तीन, भिडियो क्यामेरा एक, टेलिभिजन तीनलगायत ६१ प्रकारका सामानको मूल्य रु आठ करोड २२ लाख ४९ हजार ५३१ बराबरको क्षति भएको उल्लेख छ ।   त्यस्तै, खर्च भएर जाने एक सय ४९ प्रकारका जिन्सी सामान जलेकामा रु १४ लाख ६० हजार क्षति भएको जनाइएको छ । विपद् प्रकोप व्यवस्थापनसम्बन्धी सम्पूर्ण सामग्री, सहरी तथा वातावरणीय सुधार परियोजनाका सामग्री तथा पुरातात्विक सामानसमेत पूर्ण रूपमा जलेर नष्ट भएका छन् । पुरातात्विक सामान पितलको कोपडा, चार धलौटका घण्टी, सिला भएको सूर्यनारायणको मूर्ति, ढुङ्गाको शिलापत्र, ढुङ्गाको मुखुण्डो, धलौटको सिनमुलगायत सामग्री चोरी भएको उल्लेख गरिएको छ । नगर कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नको पहिचान गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लिखित जानकारी गराएको नगरप्रमुख शान्तिरत्न शाक्यले बताए । हाल बनेपा १० नं वडा कार्यालयमा नगर कार्यालय व्यवस्थापन गरी सेवा प्रवाह गरिएको छ । रासस

‘इभी’ सवारी साधान दुर्घटनामा १७ जना घाइते

काँक्रेविहार । नेपालगञ्जबाट सुर्खेत आइरहेको कप्र०२००१ख ११२९ नम्बरका इभी गाडी आज बिहान वीरेन्द्रनगर नगरपालिका–११ ठूलो ब्यूरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सुर्खेत बराहताल गाउँपालिका–४ का ३८ वर्षीय हरि मल्ल सहित जुम्ला चन्दननाथ नगरपालिका–१ का १८ वर्षीय दीपेन्द्र दमाई, जुम्ला सिंजा गाउँपालिका–५ का २८ वर्षीय महेन्द्र शाही, वीरेन्द्रनगर नगरपालिका–३ का ३८ वर्षीय लालबहादुर शाही, २७ वर्षीया लक्ष्मी कठायत, वीरेन्द्रनगर–११ का ३८ वर्षीय नरेश शाही घाइते भएका छन् । त्यसैगरी, अन्य घाइतेहरूमा लेकबेँसी नगरपालिका–६ का ३५ वर्षीय पर्शुराम घर्तीमगर, दैलेख दुल्लु नगरपालिका–६ का २३ वर्षीय शम्सेर खड्का, दुल्लु–११ कै ३० वर्षीया लक्ष्माण कार्की, जुम्ला सिंजा गाउँपालिका–३ का २४ वर्षीया राज्यलक्ष्मी हमाल, दैलेख दुल्लु नगरपालिका–१० का २६ वर्षीय गणेश योगी, कालीकोट पचाल झरना गाउँपालिका–३ का २२ वर्षीय रोशन विक, जुम्ला सिंजा गाउँपालिका–४ का २२ वर्षीय ऐन रोकाय, १६ वर्षीया रक्षा धिताल, वडा नं ५ की २२ वर्षीय विष्णु शाही, मुगु सोरु गाउँपालिका–९ का ३२ वर्षीय दिनेश शाही, जुम्ला चन्दननाथ –१ का २१ वर्षीय श्री परियार घाइते प्रहरी उपरीक्षक रिमालले जानकारी दिए । घाइते सबैको उपचार भइरहेको छ ।

यती एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । यती एयरलाइन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले सेयर प्रिमियममा आईपीओ जारी गर्ने निर्णय गरेको हो । आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते दिउँसो ३ बजे रजिस्टर्ड कार्यालय तिलगंगा काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा डाकेको छ ।  सभाले कम्पनी प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने छ ।  सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति र कार्य योजना पारित गर्नेछ । 

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले असोज २६ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले असोज २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पाका स्थानीय बासिन्दा, १० प्रतिशत अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, १ लाख ५४ हजार ९६९ कित्ता सामूहिक लगानी कोष र १ लाख २३ हजार ९७५ कित्ता कर्मचारीलाई बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले बाँकी रहेको २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँको २५ लाख १० हजार ४९३ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्नेछ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा छिटोमा असोज २९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए कात्तिक ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।