साझा यातायातको दशैंमा काठमाडौं-नारायणगढ-काठमाडौं बस सेवा सञ्चालन
काठमाडौं । साझा यातायातले दशैंमा काठमाडौं-नारायणगढ-काठमाडौं ननस्टप बस सेवा सञ्चालन गर्ने भएको छ । दशैंमा यात्रुहरूको चाप हुने भएकाले असोज ७ गतेदेखि असोज २० गते कोजाग्रत पूर्णिमासम्म काठमाडौंबाट चितवनको नारायणगढ र चितवनबाट काठमाडौं फर्किने गरी बस सेवा सुरु गरेको हो । काठमाडौं-नारायणगढसम्मको एकतर्फी भाडा ३ सय रुपैयाँ मात्रै तोकिएको साझा यातायातले जनाएको छ । साझा यातायात सहकारी संस्थाका अनुसार ललितपुरको पुल्चोकबाट लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकीबाट बसहरू नारायणगढ प्रस्थान गर्ने छन् । कलंकीबाट साझा यातायातको पहिलो बस बिहान ७ बजे नारायणगढ प्रस्थान गर्ने छ । त्यसपछि क्रमशः ८, ९, १०, ११ र १२ बजे प्रत्येक एक घण्टाको अन्तरालमा बसहरु नारायणगढ प्रस्थान गर्ने छन् । नारायणगढ पुगेपछि बसहरू यात्रुहरू लिई नारायणगढ बसपार्कबाट पुल्चोक हुँदै काठमाडौं फर्किनेछन् । साझाका अनुसार सिटमा बाहेक उभिएर वा मुडामा बसेर यात्रा गर्न पाइने छैन ।
कामना सेवा र यूनिभर्सल पावरको सेयर मूल्य समायोजन, कतिमा हुनेछ कारोबार ?
काठमाडौं । कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ८ गते एक दिनका लागि बुक क्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले कामना सेवा विकास बैंकको १० प्रतिशत र यूनिभर्सल पावर कम्पनीको ९ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन गरेको हो । समायोजनपश्चात कामनाको सेयर मूल्य ४७७.७३ रुपैयाँ र यूनिभर्सल पावरको ३८०.२८ रुपैयाँ कायम भएको छ । यहि मूल्यमा नै सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो दिन अर्थात मंगलबार कामनाको सेयर मूल्य प्रतिकित्ता ५२५.५० रुपैयाँ र यूनिभर्सलको ४१४.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७८ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले असोज २४ गते काठमाडौंमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा डाकेको छ । यस्तै, यूनिभर्सल पावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान १० बजे ललितपुरमा वार्षिक साधारण सभा बोलाएको छ ।
मञ्जुश्री फाइनान्सको १५ प्रतिशत लाभांश घोषणा, यस्तो छ लाभांश इतिहास
काठमाडौं । मञ्जुश्री फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले २० करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव विकास राज शाक्यले जानकारी दिए । यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ६.३५ प्रतिशत, आव २०७९/८० मा ५.२६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा ४६ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा २३.५ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा ११.५५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा २.९ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा ६.०३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आव २०७२/७३ मा १४.७४ प्रतिशत, आव २०७१/७२ मा १२ प्रतिशत, आव २०७०/७१ मा ७.५ प्रतिशत, आव २०६८/६९ मा ८ प्रतिशत र आव २०६७/६८ मा १२.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
जेनजी आन्दोलनले निजी क्षेत्रमा मात्रै ८० अर्बको क्षति
रमेश लम्साल काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो । ऐतिहासिक धरोहरका रुपमा रहेको राष्ट्रपति कार्यालय शीतल निवासमाथि आक्रमण भयो, आगजनी गरियो । चीन सरकारको सहयोगमा निर्माण गरिएको र सङ्घीय संसद्ले प्रयोग गरेको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा पनि आगजनी गरियो । सरकारी संरचना, निजी क्षेत्रका उद्योग प्रतिष्ठानमाथि आक्रमण र आगजनी गरियो । राजनीतिक नेतृत्वका घर तथा आवास पनि उसैगरी आक्रमण र आगजनीको शिकार भए । आन्दोलनकारीले सवारीसाधनमाथि आगो झोसे । लुटपाट भयो । ठूलो क्षतिका बीच सरकारी र निजी क्षेत्र क्रमशः लयमा फर्कने प्रयासमा छ । नयाँ सोच, नयाँ विश्वास र भरोसाका साथ उभिने प्रण सबैले गरेका छन् । सरकारले यी सबै विषयमा अनुसन्धान गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा छानबिन आयोग गठन गरिसकेको छ । सो आयोगले सत्यतथ्य सार्वजनिक गर्ने नै छ । मुलुकको आर्थिक क्षेत्रमा झण्डै ८१ प्रतिशत योगदान गर्ने र रोजगारीमा ८६ प्रतिशत योगदान प्रदान गर्दै आएको निजी क्षेत्रमाथि पनि आन्दोलनका क्रममा आक्रमण भयो । नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका निजी संस्थाले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । यद्यपि, प्रारम्भिक विवरण भने सार्वजनिक गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार हालसम्म उपलब्ध तथ्याङ्क र सूचनाअनुसार निजी क्षेत्रको मात्रै करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । अध्यक्ष ढकाल निजी सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय भएको बताउँछन् । आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न र बुझाउन नसकिएको उनको बुझाइ छ । सरकारले छोटो समयमा नै निजी क्षेत्रको धारणाअनुसार राहतका प्याकेज घोषणा गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेको र यसलाई महासङ्घले सकारात्मक रुपमा लिएको उनको भनाइ छ । देशभर चेन निर्माण गरेर व्यापारमा विविधिकरण गर्दै आएको भाटभटेनी सुपरमार्केटमाथि आक्रमण भयो । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले १० अर्ब ८५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा विवरण दिए । सो व्यापारिक प्रतिष्ठानको १२ वटा स्टोर पूर्णरुपमा जलाइएको र ९ वटामा आशिंक क्षति पुगेको छ । कूल २८ स्टोरमध्ये १६ वटा भने पुनःसञ्चालनमा आइसकेको छ । भाटभटेनीले नेपालीको सबैभन्दा ठूलो चाड दसैँको अवसरमा स्टोर बन्द भएकै कारण कुनै पनि कर्मचारीलाई सेवाबाट नहटाउने यसअघि नै स्पष्ट पारिसकेको छ । दसैँ भत्तासमेत दिने उसको घोषणा छ । त्यस्तै, दूरसञ्चार सेवा प्रदायक एनसेलको लैनचौरस्थित मुख्य कार्यालयमा राखिएका दुई दर्जनभन्दा बढी सवारीमा गत भदौ २४ गते आगजनी गरिएको जनाएको छ । मुख्य कार्यालयको पहिलो तल्ला आगजनीका कारण क्षतिग्रस्त छ । १०औँ तल्लासम्म लुटपाट भएको छ । कर्मचारीका व्यक्तिगत सामानसमेत हराएका छन् । लैनचौरका साथै एनसेलको पोखरा, धनगढी र कञ्चनपुरको महेन्द्रनगरको कार्यालयमा तोडफोड र अगजनी गरिएको छ । सो कम्पनीका करिब ४ सय कर्मचारीले हाल घरैबाट सेवा दिइरहेका छन् । आगजनी र लुटपाटमा बाबजूत सो कम्पनीले तीन दिनसम्म आफ्ना सबै सेवा निःशुल्क दिएको थियो । नेपाल टेलिकमले जस्तै भ्वाइस, इन्टरनेट र एसएमएस निःशुल्क प्रदान गरेको सो कम्पनीले जनाएको छ । एनसेलको सिमकार्ड बिक्री गर्नेदेखि त्यससँग जोडिएका झण्डै एक लाख बढीले रोजगारी पाएका छन् । मुलुकमा रोजगारी दिनेदेखि आर्थिक क्रियाकलापमा सहयोग गर्ने सङ्घ संस्था, उद्योग प्रतिष्ठानमाथि भएको आक्रमणले निजी क्षेत्र तस्त्र अवस्थामा रहेको महासङ्घले जनाएको छ । होटल एशोसिएशन अफ नेपाल (हान) का अनुसार जेनजी आन्दोलनका क्रममा होटल क्षेत्रमा मात्रै झण्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ । काठमाडौंमा रहेको अन्तर्राष्ट्रिय चेन होटल हिल्टनको मात्रै ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । राजनीतिक व्यक्ति जोडिएको भन्ने हल्ला चलाएर दाङको माला इन, मोरङको नेपालीरिका होटलमाथि आक्रमण भएको सम्वद्ध पक्षले जनाएका छन् । यसैगरी पोखराको सरोवर होटल, बगैँचा रिसोर्ट, गुडबिल होटल, अशुंभरा होटलमाथि आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको छ । यस्तै, काठमाडौंको वर्णवास होटल पनि आक्रमणको शिकार भएको छ । व्यवसायी विनोद चौधरीको गुर्जुधारामा रहेको सिजी पार्कमा आगजनी र तोडफोड भएको छ । त्यहाँ राखिएका सामान लुटपाट भएको छ । चौधरीको निवासमा पनि आक्रमण र आगजनी गरिएको विवरण सार्वजनिक भएको छ । चौधरी समूहमा मात्रै करिब पाँच अर्बको क्षति पुगेको प्रारम्भिक आकलन छ । महासङ्घका अध्यक्षसमेत रहेका ढकाल सम्वद्ध चन्द्रागिरि केवलकारको बेस स्टेशनमा लुटपाट र तोडफोड भएको छ । आगजनीका कारण केवलकार बन्द छ । मौलाकालिका केवलकारमा ठूलो क्षति पुगेको छ । चन्द्रागिरिको केवलकार मर्मतपछि तत्कालै सञ्चालनमा ल्याउन सकिए पनि मौलाकालिकाको सञ्चालन भने अनिश्चित रहेको ढकालको भनाइ छ । ढकालको आइएमई समूहले सातै प्रदेशमा केवलकार निर्माण गर्ने योजना अगाडि सारेको छ । सोही क्रममा पूर्वको पाथीभरामा केवलकार निर्माणका लागि स्थापना गरिएको कार्यालयमा आक्रमण र तोडफोड भएको जनाइएको छ । यस्तै, काठमाडौंको थापाथली, पानीपोखरी, नक्साललगायतका स्थानका गाडी शोरुममा आगजनीका कारण ठूलो धनमालको क्षति भएको छ । विभिन्न प्रदर्शनी तथा मेला आयोजना गरेर अटो व्यवसायमा नयाँ उभार आइरहेको बेला जेनजी आन्दोलनका नाममा भएको आगजनी र तोडफोडले ठूलो क्षति पुगेको व्यवसायीहरुको भनाइ छ । सरकारले यसबीचमा के गर्याे ? जेनजीको प्रदर्शनका क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षतिको मूल्याङ्कनका निम्ति राष्ट्रिय योजना आयोगको सचिवालयको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विषयगत मन्त्रालय र जेनजीका प्रतिनिधिसहितको समितिले ४५ दिनभित्र क्षतिको मूल्याङ्कनको प्रतिवेदन सरकारलाई प्रस्तुत गर्ने निर्णय गरेको छ । आगजनी तथा तोडफोडबाट सिंहदरबारस्भित्र क्षति भएका भौतिक संरचना, सवारीसाधन, मेसिनरी औजारलगायतको मिनाहा गर्ने र लिलाम बिक्री गर्ने सरकारले निर्णय गरिसकेको छ । जेनजी प्रदर्शनको क्रममा सृजना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सञ्चालन गर्नको निमित्त नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बीमाकम्पनीहरूले विभिन्न किसिमका राहत सुविधाका कार्यक्रम सुरु गर्ने निर्णय भएको भएको अर्थमन्त्री डा रामेश्वर खनालले जानकारी दिए । क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने प्रबन्ध गरिएको छ । बीमाबाट अग्रीम रुपमा क्षतिको ५० प्रतिशतसम्म दिनुपर्ने गरी व्यवस्था मिलायएको छ । त्यसैगरी सरकारले आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायीले तिर्नुपर्ने ऋणको म्याद सार्नुपर्ने निणर्य गरेको छ । जसले कर्जा लिएर भुक्तानी गर्न सक्नेछन् । यस्तै, सहुलियतपूर्ण कर्जा र जसले कर्जा लिएर भुक्तानी गर्न नसक्नेका लागि राष्ट्रियस्तरमा खडा हुने पुनःनिर्माण कोषबाट प्रदान गरिनेछ । त्यस्तै, सरकारले पुनःनिर्माणका लागि पुनःनिर्माण कोण खडा गर्ने निर्णय गरिसकेको छ । कोषमा नेपालभित्र र नेपाल बाहिरबाट नेपालीले इच्छाअनुसार योगदान गर्न पाउने छन् । अर्थमन्त्री खनालका अनुसार बैंक तथा वित्तीय संस्था र औद्योगिक प्रतिष्ठानले कम्पनीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकम राख्न पाउने र त्यस्तो रकममा करकट्टी गर्न पाउनेछन् । यस्तै, प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई कठिन परिस्थितिबाट दृढताका साथ उठ्न आह्वान गर्दै सरकार पूर्ण साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यही असोज ५ गते निजी क्षेत्रका प्रतिनिधिहरुसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले हालैको जेनजी प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान तथा उद्योगमा ठूलो क्षति पुगेको भन्दै राज्य र निजी क्षेत्र दुवैलाई साझा चुनौती आएको बताउनुभएको थियो । सरकारले अर्थतन्त्रका सुधारका लागि छिट्टै सुधारात्मक प्याकेज घोषणा गर्ने तयारी गरेको छ । बीमा दाबी २२ अर्ब २५ करोड जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबर पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा दाबी सबैभन्दा बढी बागमती प्रदेशमा रहेको छ । बागमती प्रदेशमा १७ अर्ब ९७ करोड ७२ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । कूल १ हजार ३४३ वटा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । माइक्रो इन्स्योरेन्स कम्पनीसहित कूल १८ वटा बीमा कम्पनीमा २ हजार ४७८ वटा बीमा दाबीको आवेदन हो । ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिएको छ । यो निजी क्षेत्रको क्षतिको मात्रै दाबी हो । सरकारी संरचनाको भने बीमा नभएका कारण दाबी भुक्तानी हुन सक्दैन । प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार, दिन ओरियन्टल इन्स्योरेन्स कम्पनीमा मात्रै ५ अर्ब २२ करोड ९८ लाख रुपैयाँ बराबरको दाबीको आवेदन परेको छ । यस्तै, सिद्धार्थ इन्स्योरेन्समा ५ अर्ब ८ करोड २८ लाख रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ । सम्पत्ति बीमाको ५३८, मोटर बीमा १ हजार ७७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमका १३२, परिवहन बीमा ११ र अन्य बीमाका १९ वटा आवेदन प्राप्त भएको जनाइएको छ । रासस
बडा दसैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको साधना गरिँदै, को हुन् चन्द्रघण्टा देवी ?
काठमाडौं । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्व प्राध्यापक तोयराज नेपालले जानकारी दिए । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरूपलाई नाश गर्छिन् । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ । चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उनले सुनाए । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् । घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् । दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ । बडा दसैँका बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
मुग्लिन-नारायणगढको विकल्पमा प्रयोग गर्न सकिन्छ यो सडक
काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा पहिरो खस्दा केही दिनयता दैनिक जसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन् । मुग्लिन-नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ । साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली-खैरेनीटारबाट बाँयातर्फबाट भीमाद-मानपुर हुँदै डेढगाउँ-वुलिङटार-ढोडेनी-गैँडाकोट पुग्न सकिने यो बाटो प्रयोग गरिसकेका प्रकाशचन्द्र भट्टराईले जानकारी दिए । मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार-भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद-मानपुर कच्ची सडक ३५ किलोमिटर छ । मानपुर-डेढगाउँ कालोपत्रे (४० किमि), डेढ गाउँदेखि नारायणगढ ७० किमी रहेको छ । मोटरसाइकल चालकले दमौलीबाट केशवटार सुखौरा हुस्लाङ धरमपानी हुँदै घुमाउने झोलुङ्गे पुल तरेर मुग्लिन-नारायण सडक खण्ड निस्किएर यात्रा गर्न सक्ने धरमपानीका स्थानीय विजय रानाको भनाइ छ । मुग्लिनको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेको उनले बताए ।
जेनजी आन्दोलनबाट भाटभटेनीमा ११ अर्बको क्षति, ६ अर्बका सामग्री पूर्णरूपमा जलाइए
काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरूले काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको विवरण संकलनका क्रममा यो बराबरको क्षति भएको देखिएको हो । बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरुपमा आगजनी गरिएको छ । १२ वटा भवनसहित त्यसभित्र रहेका सम्पूर्ण सामग्री जलाइएको छ । स्केलेटर, लिफ्ट, फ्रिजलगायतका महंगा सामग्री पनि भवनसँगै जलेर नष्ट भएका थिए । भवनभित्र रहेका सबै सामग्री पूर्णरुपमा आगजनी गरिएको थियो । त्यसबाहेक ९ वटा स्टोरमा तोडफोड र लुटपाट गरिएको छ । ९ वटा स्टोरमा आंशिक क्षति पुगेको भाटभटेनीले जनाएको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले १२ वटा स्टोर पूर्णरुपमा जलाइएको, बाँकी ९ वटामा आंशिक क्षति पुर्याइएको जानकारी गराएका थिए । उनले भाटभटेनीमा कार्यरत १० हजार बढी कर्मचारीलाई बिदा नगर्ने योजना रहेको बताउँदै दसैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने जनाएका थिए । ‘सबै स्टोरमा गरी भाटभटेनीमा १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँको क्षति भएको छ,’ गुरुङले भने । प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटक पटक प्रतिवद्धता जनाउँदा पनि भाटभटेनीमाथि नै ‘टार्गेट’ गरिएको बताएका थिए । भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका ९ वटा गरी १९ वटा स्टोरमा ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको छ भने ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरुपमा जलाइएको छ । ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट गरिएको छ ।
ट्राफिक प्रहरीलाई गोल्छा ग्रुपले दियो २० वटा मोटरसाइकल
काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सुदृढ बनाउनका लागि ट्राफिक प्रहरीलाई २० वटा मोटरसाइकल प्रदान गरेको छ । एक विशेष कार्यक्रमको आयोजना गर्दै गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई ती मोटरसाइकलहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । सहयोगस्वरूप प्रदान गरिएका सबै मोटरसाइकलहरू १५० सीसीका बजाज पल्सर मोडलका छन् । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई सशक्त बनाउने उद्देश्यले उक्त मोटरसाइकल प्रदान गरेको गोल्छा ग्रुपका अध्यक्ष गोल्छाले बताए । कार्यक्रम उनले ट्राफिक व्यवस्थापनमा बजाजको योगदानले अझ प्रभावकारी सेवा दिन ट्राफिक प्रहरीलाई सहज हुने विश्वास व्यक्त गरे । यसैगरी यस सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले भने, ‘बजाजको यो सहयोगले हाम्रो सेवा कार्यलाई थप गतिशील बनाउनेछ । यस्तो सहयोगले निजी क्षेत्र र राज्य संयोजनको राम्रो उदाहरण पेश गरेको छ ।’ गोल्छा ग्रुपले ट्राफिक प्रहरीको कार्य सहज र प्रभावकारी होस् भन्ने उद्देश्यका साथ यी सवारीसाधनहरू उपलब्ध गराएको हो ।