सेयरधनीको लगानी सुरक्षित गर्न मौलाकाली केबलकार छिट्टै पुनः सञ्चालनमा आउने
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण मौलाकाली केबलकारमा ठूलो क्षति पुगेको छ । सार्वजनिक कम्पनीका रूपमा सञ्चालन हुँदै आएको यो केबलकार गण्डकी प्रदेशको साझा गौरव, स्थानीय पहिचान र राष्ट्रिय सम्पत्तिको प्रतीक मानिँदै आएको थियो । कम्पनीले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका दुःखद घटनामा परी ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमा भनिएको छ, 'मौलाकाली केबलकार कुनै व्यक्तिगत सम्पत्ति होइन, यो हजारौँ स्थानीय सेयरधनीहरूको संयुक्त लगानी र मेहनतको जगमा बनेको हो । यसले पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि, स्थानीय रोजगारी र उत्पादनको बजार विस्तारमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।' केबलकारमा भएको क्षतिले केवल साना लगानीकर्तामात्र होइन, गैँडाकोट र चितवनका स्थानीय बासिन्दा, कर्मचारी, परिवार तथा सम्पूर्ण पर्यटन क्षेत्रलाई गहिरो पीडा दिएको कम्पनीले जनाएको छ । आगजनी नियन्त्रण र क्षति न्यूनिकरणका क्रममा सक्रिय सहयोग पुर्याउने सुरक्षाकर्मी, स्थानीय समुदाय र कर्मचारीहरूप्रति आभार प्रकट गर्दै कम्पनीले भनेको छ, 'यति ठूलो क्षति भए पनि हाम्रो सपना र अठोट भाँचिएका छैनन् । हामी छिट्टै सेवा सुचारु गर्दै अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान दिनेछौँ ।' कम्पनीले स्थानीय समुदायसँग निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
मुलुकभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ
काठमाडौं । यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे । उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । कतिपय आफैँ फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी अभियान जारी रहेको उल्लेख गरे । कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि उनले सबैमा अनुरोध गरे । १३९ थुनुवा फर्किए, दुई हजार १०० फरार सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १३९ जना थुनुवालाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार अझै दुई हजार १०० थुनुवा फरार छन् । फरार भएकाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । तोडफोड, आगजनी र प्रदर्शनका कारण कैदीबन्दीहरू यही भदौ २४ गते भागेका थिए ।
जलेका नोटले बैंकलाई चुनौती, एउटै नोटमा फरक-फरक सिरियल नम्बर
काठमाडौं । ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानतप्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १ हजार रुपैयाँ तुरुन्त पाइनेछ,’ एक हजार दरको नोटको मध्य मागमा उल्लेखित शब्द हुन् । नोटमा राष्ट्र बैंकका गभर्नरको पनि हस्ताक्षर छ । राष्ट्र बैंकले नोट जारी गर्दा प्रयोग हुने कागज पनि सही छ । नोटमा प्रयोग भएका विभिन्न किसिमका संकेतसहित पनि ठीक छन् । तर, नोट भने नक्कली हो । किनभने एउटै नोटमा फरक-फरक सिरियल नम्बर छन् । नोटको दायाँ भागमा सिरियल नम्बर ग ६१-३१६२६४ र बाँया भागमा ग ६२-४७२०६६ पनि उल्लेख छ । जेनजी आन्दोलनपछि एउटै नोटमा फरक-फरक सिरियल नम्बर रहेका नोटहरू बजारमा भेटिन थालेका छन् । भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रदर्शनकारीहरूले राजनीतिक दलका नेता र निजी क्षेत्रका संरचनामा क्षति पुर्याए । विभिन्न माध्यममा सार्वजनिक भएका भिडियो र फोटोहरूलाई आधार मान्दा त्यहाँ राष्ट्र बैंकले जारी गरेका विभिन्न दरका नोटहरूमा पनि क्षति पुग्यो । केही नोटहरू जलेका छन् भने केही नोटमा आंशिक क्षति पुगेको छ । तर, अहिले आंशिक क्षति भएका नोटहरूलाई संकलन गरेर जोडेर बजारमा कारोबार गरिरहेको भेटिएका छन् । आधी-आधी (केही भाग मात्रै) जलेका नोटहरूलाई एक आपसमा टाँसेर बजारमा चलनचल्तीमा ल्याइरहेकाले सजग रहन बैंकहरूले आग्रह गरेका छन् । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल आंशिक क्षति भएका नोटहरूलाई जोडेर बजारमा चलनचल्तीमा ल्याइरहेको बताउँछन् । बजारमा कारोबार भइरहेका त्यस्ता नोटहरू बैंकमा समेत आउने तर डिटेक्टर मेसिनले समेत पहिचान गर्न नमिल्ने भएकाले नगद कारोबार गर्दा सजग रहन उनले आग्रह गरे । | उनका अनुसार फरक-फरक सिरियल नम्बर भएका नोटलाई जोडेर पसलमा चलनचल्तीमा ल्याइरहेको र विस्तारै त्यस्ता नोटहरू बैंकमा समेत आइपुग्ने जाेखिम छ । ‘नोट आधी मात्रै छ । आधी मात्रै जलेको वा क्षति भएको नोटमा अर्काे आधी जलेको वा क्षति भएको नोट टाँसेको छ । यस्ता नोट ठूल्ठूला बन्डलमा हाल्दा एउटै जस्तै देखिन्छन्,’ उनले भने, ‘बैंकको नोट डिटेक्टरले गन्दा फेक नोट आईडिन्टीफाई (पहिचान) गर्छ । तर, बैंकको फेक नोट डिटेक्टरले समेत यस्ता नोट पहिचान गर्न सक्दैनन् । किनभने नोटको कागज ओरिजिनल छ ।’ यस्ता जोडिएका नोटहरू सक्कली नोट भनेर बजारमा कारोबार भइरहेकाले सिरियल नम्बर जाँच गरेर मात्रै कारोबार गर्न सीईओ खनालले आग्रह गरे । आन्दोलनमा परेर वा अन्य कुनै कारण जलेका वा च्यातिएका नोट संकलन गरेर जोडेर चलाउने काम भइरहेको उनले बताए । यस्ता नोट बैंकको डिटेक्टरले समेत पत्ता लगाउन नसक्ने गरी बनाइएका हुने उनको भनाइ छ । ‘यस्ता नोट बैंकमा आइसकेको छैनन् । तर, यस्ता नोट बैंकमा आउन सक्ने सम्भावना छ । साथै बजारमा भने पसल-पसलमा यस्ता नोट कारोबार भइरहेका देखिन्छन् । त्यसैले नगद कारोबार गर्दा नोट भेरिफाई गरेर मात्रै कारोबार गर्नुपर्ने हुन्छ,’ सीईओ खनालले भने । जेनजी आन्दोलनपछि यस्ता नक्कली नोटको बिगबिगी बढेकाले यस्ता नोटहरू जाँच गरेर मात्रै कारोबार गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । बजारमा एउटै नोटमा फरक-फरक सिरियल नम्बर भए/नभएको जाँच गरेर मात्रै नगद कारोबार गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
फ्रेन्चाइज लिगदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता स्थगित, खेलाडी त्रसित
काठमाडौं । जेनजीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् । यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यी संरचनाहरूलाई पुरानै स्थितिमा फर्काउन धेरै समय लाग्न सक्ने स्पष्ट छ । यो आन्दोलन र घटनाक्रमले समग्र अर्थतन्त्रमा नै दीर्घकालसम्म ठूलो असर पर्नेछ । यसबीच केही समय देश नै ठप्प रह्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भइसकेको छ । यो चुनावी सरकार हो, त्यसैले अबको ६ महिनासम्म यसबाट धेरै आशा गर्ने अवस्था छैन । यस्तोमा धेरै क्षेत्रले क्षति व्यहोर्नेछन् । तीमध्ये खेलकुद र पर्यटन यो अस्थिरताले अलि बढी प्रताडित हुनेछन् । अब चर्चा गरौँ खेलकुदको । यो आन्दोलन अघि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजनाको तयारी अवस्थामा थिए । जुन अहिले धमाधम स्थगित भइरहेका छन् । केही खेल आयोजनाहरू सञ्चालन भइरहेका पनि थिए, जुन बीचमै बन्द गर्नुपर्यो । आन्दोलन हुनुअघि नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादले नेपाली खेलकुदमा केही हलचल देखिएको थियो । यद्यपि यसबाहेक अन्य गतिविधि भने नियमित नै थिए । खेलाडीहरूले दैनिक रूपमा अभ्यासमा व्यस्त देखिन्थे । केही खेल संघहरूले आफ्ना नियमित क्यालेन्डरअनुसार कार्यक्रम गरिरहेका थिए । पोखरामा फ्रेन्चाइज महिला भलिबल लिग भइरहेको थियो । भलिबलको हब मानिने पोखरामा युरोप, अमेरिका, दक्षिण अमेरिका र एशियाका स्तरीय खेलाडीले एभरेस्ट महिला भलिबल लिगमा खेल्दा नेपालको भलिबलमा छुट्टै उत्साह छायो । स्तरीय खेलाडीको आगमनले महिला भलिबल पनि नयाँ उचाइमा पुर्याउने आशा गरिएको थियो । तर एकाएक आन्दोलन हुँदा फ्रेन्चाइज भलिबल लिग प्रभावित हुन पुग्यो । अब कहिले हुन्छ भन्ने अन्योलपूर्ण नै छ । त्योभन्दा ठूलो क्षति विदेशी खेलाडी बसेका होटलमा आन्दोलनकारीले आगो नै लगाए । यो घटनामा ती खेलाडीका सरसामान पनि जल्न पुगे । ती खेलाडीले आग्रह गर्दागर्दै आन्दोलनकारीले उनीहरूका सरसामानमा क्षति पुर्याए । यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल सुरक्षित स्थान नरहेको सन्देश जानेछ । ‘हामीले पटकपटक आग्रह गर्दा पनि खेलाडीको सामान निकाल्न दिइएन । त्यसबेला विदेशी खेलाडीहरू धेरै आतिनुभयो । 'यो देशमा कहिल्यै आउँदैनौँ' भने,’ आयोजक टिमका एक सदस्यले भने, ‘त्यो सुन्दा धेरै दुःख लाग्यो । साँच्चै अब उहाँहरू आउनुहुन्छ जस्तो लाग्दैन । अरुलाई पनि 'नेपाल सुरक्षित छैन' भने भने अर्को क्षति व्यहोर्नुपर्छ ।’ आयोजकका प्रमुख आमिर अख्तरले पनि बीचमै नै आयोजना प्रभावित हुँदा क्षति व्यहोर्नुपरेको र अहिले नै 'यति क्षति भयो' भन्ने अवस्थामा नरहेको उल्लेख गरे । ‘आँट गरेर यो आयोजना गर्यौँ । तर अनपेक्षित घटना भयो । यसले सबै फ्रेन्चाइज लिगलाई असर गर्नेछ,’ उनले भने, ‘यो घटनाले अर्थतन्त्रमा पनि असर पारेको छ । एउटा व्यवसायिक खुशी भएर नै खेलमा प्रायोजना गर्छन् । तर अब उहाँहरू खुशी हुनुहुन्न । त्यसैले नेपाली खेलकुदका लागि यो ठूलो घाटा हो । अबको एक वर्ष ठूलो क्षति बेहोर्नु पर्नेछ ।’ उनले यो घटनाका कारण विदेशी खेलाडी त्रसित भएपनि आफूहरूले सम्झाएको बताए । ‘११ राष्ट्रका १८ जना विदेशी महिला खेलाडी हुनुहुन्थ्यो । त्यो घटना हुँदा आतिनुभयो । महिलाहरू त्यसै पनि सेन्सिटिभ हुनुहुन्छ । होटलमा जसरी आक्रमण भयो, त्यो सहन नसक्ने अवस्था नै थियो । २/४ जना खेलाडीको डकुमेन्ट र सरसामान त्यहीँ जले । जसोतसो पासपोर्ट जोगायौँ,’ उनले भने, ‘हामीले ती खेलाडीहरूसँग बसेर एउटा सेसन राखेका थियौँ । नेपाल शान्त देश हो र यस्तो पहिलोपटक भयो । यस्तो हुन्छ भन्ने आँकलन पनि थिएन भन्यौँ । बाहिर नराम्रो सन्देश नलगिदिनुस् भन्यौँ । कोही खेलाडी अब आउन चाहन्नन्, केही आउन पनि सक्छन् । हिजो मात्र खेलाडी जानुभयो र अब यो आयोजना कहिले हुन्छ भन्न सक्दैनौँ ।’ उनले भारतका एमपी विक्रम साहनी र भारतीय दूतावासको सहयोगमा ब्रोडकास्टिङ टिमलाई आफ्नै देश पठाउन सफल भएको बताए । ‘कठिन समयमा एकताबद्ध भएर अगाडि बढ्न सक्छौँ भन्ने सन्देश दियौँ । आयोजक, फ्रेन्चाइज टोली, ब्रोडकास्टिङ क्रु र भेन्डर मिलेर खेलाडीमाथि कुनै घटना हुन दिएनौँ र एक भएर लड्यौँ । तर त्यो घटनालाई रोक्न सक्दैनथ्यौँ,’ उनले भने । व्यावसायिक खेल आयोजनाले नेपाली खेलकुदलाई माथि उकास्दैछ । विभिन्न देशका स्टार खेलाडीहरू नेपालमा आएर खेल्दा खेलाडीहरूको पनि मनोबल बढेको छ । नेपाल प्रिमियर लिग (एनपीएल), एभरेस्ट महिला भलिबल लिग, नेपाल सुपर लिग (एनएसएल) र नेपाल कबड्डी लिगजस्ता फ्रेन्चाइज लिग नेपाली खेलकुद विकासमा मद्दत पुग्ने ठूला आधार हुन् । तर देशको राजनीतिक अस्थिरताले यी आयोजनालाई दीर्घकालसम्म अगाडि बढ्न दिने छैन । आयोजकहरूले पनि यस्ता प्रतियोगिता गर्न धेरैपटक सोच्नेछन् । आगामी मंसिर १ देखि २७ गतेसम्म एनपीएलको दोस्रो संस्करण हुने तयारी छ । सम्भवतः त्यसलाई पनि असर पर्न सक्छ । यसबीच एनपीएलको ट्रफी टुर थियो । त्यो प्रभावित भएको छ । यो टुरबाट एनपीएलको ब्रान्डिङ गर्ने नेपाल क्रिकेट संघ (क्यान) को योजना पनि पूरा हुन सकेन । एनपीएलको तयारीमा केही असर भने पर्नेछ । फ्रेन्चाइज टोलीमा व्यावसायिक घराना रहेका र उनीहरूको व्यवसायमाथि पनि आक्रमणबाट ठूलो क्षति भएको छ । यस्तोमा उनीहरू छिट्टै एनपीएलको तयारीमा नलाग्न सक्छन् । क्यानका प्रवक्ता छुम्बी लामाले भने, समय बाँकी रहेकाले यो घटनाले तयारीमा असर नपर्ने बताए । ‘एनपीएलका लागि समय छ, त्यसैले असर पर्ने छैन । टी–२० विश्वकप छनोटका लागि वेस्ट इन्डिज टुरको तयारीमा छौँ र यसले राष्ट्रिय टोलीको प्रशिक्षण भने नियमित गर्न सकेका छैनौँ,’ लामाले भने । आन्दोलन चर्किँदा बंगलादेश र नेपालबीच मैत्रीपूर्ण फुटबल नै स्थगित हुन पुग्यो । पाहुना टोली घर फर्कन धेरै नै सकसपूर्ण रह्यो । ठूलो आयोजना काभा महिला भलिबल लिगसँगै घरेलु प्रतियोगिता नेपालगञ्ज नाइट रन, दोस्रो पर्वतीय दौड र अन्य थुप्रै घरेलु प्रतियोगिता स्थगित भइसकेका छन् । नेपालमा हुने भनिएको सेन्ट्रल एसियन भलिबल एसोसिएशन ९काभा० महिला आउटडोर भलिबल लिग २०२५ स्थगित भएको छ । काभा बोर्ड अफ एड्मिनिस्ट्रेसनको शनिबार बसेको भर्चुअल बैठकले लिग स्थगित गर्ने निर्णय गरेको नेपाल भलिबल संघले उल्लेख गरेको छ । प्रतियोगिता आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने तय थियो । जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै लिग स्थगित भएको हो । केही व्यावसायिक प्रतियोगितासँगै आगामी २०औँ एशियाली खेलकुदका लागि नेपालका राष्ट्रिय टिमको नियमित तयारी थियो । जुन अहिले प्रभावित भइरहेको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी विभागीय टोली आर्मी, पुलिस र सशस्त्र प्रहरीमा आबद्ध छन् । उनीहरू अहिले विभागको जिम्मेवारीमा छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) राष्ट्रिय टिम तयारी समितिका निर्देशक दीपक बिष्टले अवस्था सामान्य हुँदै आएपछि खेलाडी प्रशिक्षणमा फर्कने बताए । ‘हामी प्रशिक्षण सुचारु गर्ने तयारीमा छौँ । तर अधिकांश विभागका खेलाडीहरू हुनुहुन्छ । उहाँहरू अहिले विभागको जिम्मेवारीमा हुनुहुन्छ । अवस्था सामान्य भएपछि खेलाडी फर्काइ दिने सूचना आएको छ,’ बिष्टले भने, ‘छिट्टै मिशन–२६ को तयारी सुरु गर्छौँ ।’ भदौ २९ गते पोखरामा २०६० सालदेखि सुरु भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड हुने तयारीमा थियो, जुन स्थगित भइसकेको छ । तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आयोजना स्थलमा आगो लगाइएपछि अवार्ड प्रभावित भयो र आयोजकले पनि केही क्षति बेहोर्नु परेको छ । नेपाली खेलकुदलाई नै प्रोत्साहन गर्ने अवार्ड होस् या राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, पछिल्लो घटनाले ठूलो क्षति पुर्याएको छ । यी आयोजनाहरू स्थगित भइरहँदा दीर्घकालसम्म नेपाली खेलकुदले क्षति व्यहोर्नु पर्नेछ ।
आन्दोलनको मनोवैज्ञानिक मूल्य : डर, चिन्ता र डिप्रेशनको बढ्दो खतरा
काठमाडौं । राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेनजी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ । यस आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिले राजनीतिक अनिश्चिततासँगै सामाजिक तथा मानसिक जटिलतासमेत थपेको छ । यस्ता घटनाक्रमले समाजमा निराशा, अनिश्चितता र असहायताजस्ता भावनात्मक समस्या गहिरिँदै जानसक्ने देखिन्छ । राजनीतिक अस्थिरता र सामाजिक तनावबीच नागरिकको मानसिक स्वास्थ्यमासमेत नकारात्मक असर पर्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गर्न थालेका छन् । प्रस्तुत छ, पछिल्लो राजनीतिक परिवर्तनहरूले नेपाली समाजमा मानसिक स्वास्थ्यमा पर्ने प्रभावबारे नवीन पौडेलले मनोरोग विशेषज्ञ डा. अज्वनी रिमालसँग गरेको कुराकानीको सम्पादित अंश : नेपालमा अहिले जेनजीले गरेको प्रदर्शनलाई स्वास्थ्यकर्मीको दृष्टिकोणले तपाईंले कसरी हेर्नु भएको छ ? एक मानसिक स्वास्थ्यकर्मीका दृष्टिले हेर्दा अहिलेको आन्दोलनले जनमानसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने देखिन्छ। अहिलेको वातावरणले जनमानसमा ठूलो मानसिक अन्योलता ल्याएको छ । ‘अब के होला ?’ भन्ने डर र असुरक्षाको भावनाले स्वस्थ मानसिक अवस्था भएका व्यक्तिहरूसमेत त्रसित, चिन्तित र बेचैन भइरहेका छन् । पहिले नै मानसिक स्वास्थ्य समस्या भोगिरहेकामा त झन बढी प्रभावित हुने सम्भावना हुन्छ । उनीहरुमा निद्रामा समस्या, नकारात्मक सोच, आत्मविश्वास घट्नु, समाजसँग टाढिनु तथा दैनिक क्रियाकलापमासमेत कठिनाई आउने जस्ता लक्षण देखिन सक्छ । यस्तो अवस्थामा सामूहिक ट्रमा उत्पन्न गर्ने खतरा पनि रहन्छ । आन्दोलनमा प्रत्यक्ष संलग्न भएका युवा, त्यसलाई नजिकबाट नियाल्ने वा परिवारका सदस्य गुमाउनेहरूले दीर्घकालीन मनो–सामाजिक समस्या भोग्नसक्ने सम्भावना हुन्छ । सकारात्मक पक्षमा हेर्दा युवा पुस्ताले आफ्नो आवाज उठाउन पाएको अनुभवले सशक्तीकरण, सामूहिक एकता र उद्देश्य बोधमा परिवर्तन ल्याएको महसुस गर्न सक्छन् । यसले केही युवामा आत्मबल र आत्मविश्वास बढाउन पनि मद्दत गरेको देखिन्छ । राजनीतिक आन्दोलन र अस्थिरताले सामान्य नागरिकको मानसिक स्वास्थ्यमा के–कस्ता समस्या ल्याउँछ ? यस्तो आन्दोलन र अस्थिरताले नागरिकको मानसिक स्वास्थ्यमा तत्कालिकदेखि दीर्घकालीन असर पारेको हुन्छ । आन्दोलन, प्रदर्शन र हिंसात्मक घटनाको प्रत्यक्ष वा परोक्ष अनुभवले मानिसमा डर लाग्ने, असुरक्षा महसुस हुने, मन स्थिर नहुने, छटपटी र हतारहतार हुनेजस्ता प्रतिक्रियाहरू देखिन सक्छन् । व्यक्तिहरू के गरूँ, के नगरुँ भन्ने मानसिक द्वन्द्वमा फस्ने, अनावश्यक चिन्ता लिने, मनमा निरन्तर कुराहरू खेलिरहने, निद्रा नलाग्ने तथा बेचैनी र आत्तिनेजस्ता लक्षणहरू देखिने हुन्छ । दीर्घकालमा यसले व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पुर्याउछ । छोटो अवधिका लक्षणहरू लामो समयसम्म रहिरहेमा डिप्रेशनजस्ता मानसिक समस्या विकसित हुनसक्ने जोखिम उच्च हुन्छ । अझ आन्दोलनमा प्रत्यक्ष संलग्न हुने र हिंसात्मक दृश्यहरूको आँखै अगाडि देख्नेमा पोस्ट–ट्राउमाटिक स्ट्रेस डिसअर्डरजस्ता समस्या देखापर्न सक्छन् । विशेषगरी युवा र किशोरकिशोरीजस्ता संवेदनशील उमेर समूहमा दीर्घकालीन तनावले शैक्षिक प्रगति, दैनिक व्यवहार, सामाजिक सम्बन्ध र शारीरिक स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने हुन्छ । मनोरोग विशेषज्ञ डा. अज्वनी रिमाल यस्तो अवस्थाले आममानिस र युवापुस्तामा देखिने सामान्य मानसिक लक्षणहरू के–के हुन सक्छन् ? राजनीतिक प्रदर्शनीका समयमा मानिसहरूमा डर, बेचैनी, चिन्ता, आत्तिने भावना, निद्रामा समस्या देखिन सक्छ । छोटो समयभन्दा पनि यदि यस्तो समस्या लामो समय रहिरह्यो भने दीर्घकालीन चिन्ता, डिप्रेशनजस्ता गम्भीर मानसिक रोग विकसित हुने जोखिम हुन्छ । युवा पुस्तामा राजनीतिक अस्थिरता वा आन्दोलनजस्ता परिस्थितिले तनाव, निराशा र आक्रोश बढाउने सम्भावना उच्च हुन्छ । यस उमेर समूहमा सामान्यतया बिना धेरै सोचविचार र परिणामको मूल्याङ्कन नगरी हठात् निर्णय लिने व्यवहार देखिन्छ । त्यस्तै अस्थिरता र संवेदनशीलता बढी हुन्छ, जसले युवामा तनावको प्रभाव अझ तीव्र बनाउँछ । सामाजिक सञ्जालको प्रभाव के कस्तो हुन्छ यो समयमा ? सामाजिक सञ्जाल र अपुष्ट खबरको प्रभावले मानिसको मानसिक स्वास्थ्यमा गहिरो र दीर्घकालीन असर पार्न सक्छ । आधिकारिक समाचारमा अपडेट नहुनु र सामाजिक सञ्जालको सूचना–प्रवाहमा पूर्ण ध्यान केन्द्रित गर्नाले कार्यमा एकाग्रता घटाउने र सोच्ने क्षमतामासमेत प्रभाव पार्ने देखिन्छ । अनलाइन प्लेटफर्ममा लामो समय बिताउँदा वास्तविक जीवनका सामाजिक अन्तरक्रिया र सम्बन्धमा कमी आउने, परिवार तथा साथीभाइसँगको प्रत्यक्ष संवाद घट्ने र एकाङ्कीपन अनुभव बढ्ने गरेको पाइन्छ। यससँगै अपुष्ट समाचार र सामाजिक सञ्जालमा देखाइने नकारात्मक तथा तनावपूर्ण र भय पैदा गर्ने सामग्रीहरूले मानिसमा चिन्ता, डर, असुरक्षा र निराशा बढाउने गरेका छन् । विभिन्न अध्ययनलेसमेत छोटो समय सञ्जालमा बिताउँदा पनि चिन्ता र तनावका लक्षण उल्लेख्य रूपमा बढेको देखाएको छ । यसले डिप्रेशन, चिन्ता, एकाङ्कीपन र आत्महत्या गर्ने विचारजस्ता मानसिक स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न गर्न सक्छ । अझ यसस्तो सङ्क्रमणकालको समयमा सामाजिक सञ्जाल प्लेटफर्ममा आउने गलत सूचनाले मानसिक स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने देखिन्छ । यस्तो राजनितिक अनिश्चितताले डिप्रेसन र एनजाइटीजस्ता मानसिक रोगको समस्या पढ्ने खतरा हुन्छ । राजनीतिक अनिश्चितताले युवा पिँढीमा कस्तो समस्या निम्त्याउँछ र यसका लक्षण कस्ता हुन्छन् ? राजनीतिक अस्थिरता, सामाजिक तनाव र भविष्यप्रति अनिश्चितले युवाको मानसिक स्वास्थ्यमा गहिरो असर पार्छ । यसले उनीहरूलाई गलत बाटोतर्फ धकेल्ने जोखिमसमेत बढाउँछ । राजनीतिक अनिश्चियमा युवा पिँढीमा तत्कालका लागि एन्जाइटी, डर र चिन्ताको स्तर बढ्छ । अनिश्चिय र भविष्यप्रतिको निराशाले नकारात्मक भावना बढ्ने हुँदा दीर्घकालमा डिप्रेसन र क्रोनिक एन्जाइटिसमेतको जोखिम बढाउँछ । राजनीतिक हिंसा र अस्थिरतासँग जडित वातावरणमा तनाव, चिन्ता र डिप्रेशनको समस्या उल्लेखनीय रूपमा बढ्ने अध्ययनहरूले पनि देखाएका छन् । लामो समयसम्म तनाव, चिन्ता र निराशाको अवस्थासँग जुधिरहेका युवाहरू त्यसको समाधानको खोजीमा गलत मार्ग रोज्ने सम्भावना बढी हुन्छ । जसमा लागुऔषध दुव्र्यसन एक प्रमुख जोखिम हो । मानसिक पीडाबाट राहत पाउन वा साथीहरूको दबाबमा उनीहरू लागुपदार्थ प्रयोगतर्फ आकर्षित हुन सक्छन् । यस्तो प्रवृत्तिले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा थप जटिलता थप्छ । यसले पढाइ, सामाजिक सम्बन्ध र भविष्यको सम्भावनालाई पनि गम्भीर रूपमा प्रभावित पार्छ । त्यसैले यस्ता अवस्थामा युवालाई मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सकारात्मक गतिविधिमा संलग्न गराउन अत्यन्त जरुरी हुन्छ । आमनागरिकले आफ्नो मानसिक स्वास्थ्य स्वस्थ्य राख्न दैनिक जीवनमा के–के गर्न सक्छन् ? मानसिक स्वास्थ्य जोगाउन सबैभन्दा पहिला आफ्नो दैनिकीमा सुधार ल्याउनुपर्छ । मुख्य कुरा आफ्नो परिवारसँग समय बिताउनु हो । परिवारमा आफ्ना कुरा राख्ने र सामाजिक सम्बन्ध मजबुत राख्नु अत्यन्त जरुरी हुन्छ । आफूभित्रको पीडा, डर वा चिन्ताबारे आफ्नो विश्वासिला व्यक्तिसँग खुलेर राख्दा मानसिक बोझ धेरै हदसम्म कम हुन्छ। त्यस्तै समाचार र सामाजिक सञ्जालप्रति पनि सचेत रहनुपर्छ । आजकल हामी निरन्तर नकारात्मक समाचार र अनावश्यक सूचनामा डुबिरहेका हुन्छौँ। त्यसले मानसिक शान्तिमा असर पार्छ । त्यसैले विश्वासिलो स्रोतबाट समाचार र सूचना थाहा पाउनेमा ढुक्क हुनुपर्छ । बारम्बार नभई आवश्यकतानुसार मात्र हेर्ने र सामाजिक सञ्जालको अनावश्यक प्रयोगबाट जोगिने बानी बसाल्नुपर्छ । नियमित व्यायाम, योग, गहिरो श्वास फेर्ने अभ्यास, पर्याप्त निद्रा र सन्तुलित आहारमा ध्यान दिनु मानसिक सन्तुलनका लागि आधारभूत कुरा हुन् । सबैभन्दा महत्वपूर्ण भनेको आफ्नो मानसिक अवस्थाप्रति सजग रहनु र आवश्यकता पर्दा मानसिक स्वास्थ्य विज्ञसँग परामर्श लिन नहिच्किचाउनु नै हो । यस्तो अवस्थामा अभिभावकको भूमिका कस्तो रहन्छ ? स्वस्थ जीवनशैलीको निर्माणमा परिवारको भुमिका संवेदनशील हुन्छ । अभिभावकहरू यस्तो परिस्थितिमा संवेदनशील र सहयोगी बन्नुपर्छ । बुबाआमाले आफ्ना नानीबाबुसँग साथीसरह व्यवहार गर्दै उनीहरूको कुरा ध्यानपूर्वक सुन्नु र बुझ्ने प्रयास गर्नुपर्छ । बच्चाहरूले राख्ने जिज्ञासालाई सहज ढङ्गले सम्बोधन गर्नु, उनीहरूलाई सही–गलत छुट्याउन सहयोग गर्नु र कुनै शङ्का वा समस्याबारे खुलेर कुरा गर्न प्रोत्साहित गर्नु अभिभावकको दायित्व हुन्छ । घरभित्र सकारात्मक र सुरक्षित वातावरण सिर्जना गर्नु, बच्चाको भावनालाई पर्याप्त स्थान दिनु, सामाजिक सम्बन्ध र सकारात्मक गतिविधिमा संलग्न गराउन सहयोग गर्नुपर्छ । सहयोगी, खुला र विश्वासिलो वातावरण निर्माण गर्नसकेमा बालबालिकाले तनावमासमेत सहज रूपमा पार गर्न सक्छन् र उनीहरूको आत्मबल तथा मानसिक सशक्तता मजबुत बन्छ । अहिलेको परिस्थितिमा देखिन सक्ने मानसिक स्वास्थ्य समस्या समाधान गर्न के–कस्ता प्रयासहरू आवश्यक देख्नुहुन्छ ? समाजमा देखिने मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीहरू केबल व्यक्तिगतमा मात्रै सीमित हुँदैनन् । यसलाई सामाजिक र नीतिगत तहमै सम्बोधन गर्नुपर्ने हुन्छ । घर र छरछिमेकका साथै, विद्यालयदेखि कार्यस्थलसम्म मानसिक स्वास्थ्य शिक्षा र परामर्श सेवाको व्यवस्था गरिनुपर्छ। समुदायस्तरमा मनोसामाजिक सहयोग प्रणाली विस्तार गर्नु र युवाका लागि सुरक्षित अभिव्यक्ति र सहभागिताको वातावरण बनाउन सहयोग गर्नुपर्छ । त्यस्तै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा जिम्मेवार र तथ्यपरक सामग्री प्रवाहको सुनिश्चित हुनुपर्छ । मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवा जतिकै महत्व दिँदै दीर्घकालीन रणनीति बनाइएन भने यस्ता राजनीतिक सङ्कटपछिका मानसिक असरहरू अझ गहिरिँदै जान सक्छन् । रासस
महालक्ष्मी विकास बैंकका सबै शाखा सञ्चालनमा
काठमाडौं । हालसालै घटेका विभिन्न दुःखद घटनाहरुमा ज्यान र सम्पत्तिमा पुगेको क्षतिप्रति महालक्ष्मी विकास बैंकले शोक प्रकट गरेको छ । बैंकले प्रेस विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । साथै, उपचाररत घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि गरेको छ । बैंकले घटनाबाट सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ । साथै, सुरु भइसकेको सरकार गठन प्रक्रिया चाँडै टुंगिएर मुलुकको असामान्य अवस्था सामान्यतर्फ जाने, शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायित्व र सुरक्षाको प्रत्याभूति दिलाउने विश्वास बैंकले व्यक्त गरेको छ । विज्ञप्तिमा बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । त्यहाँका ग्राहकले नजिकैका शाखामार्फत बैंकिङ सेवा लिन सकिने जानकारी दिइएको छ । बैंकले लेकसाइड पोखरा शाखा बाहेक अन्य १०२ शाखा कार्यालयमा सेवा नियमित रुपमा सञ्चालन भइरहेको र सम्पूर्ण डिजिटल सेवा पनि सुरक्षित रुपमा निरन्तर चलिरहेको जनाएको छ ।
प्रधानमन्त्री कार्कीको प्रश्न : सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरु छानीछानी आगजानी गरिएको बताएकी छन् । सिंहदरबारमा आईतवार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् । उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताएन् । यहाँले यो देखेर आफूलाई लाज लागेको पनि बतान् । नेपाली भएर कसैले यस्तो काम गर्छ ? भन्ने उनको प्रश्न छ । सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ? प्रश्न गरिन् । यसप्रकारको घटना पहिलो पटक भएको पनि बताइन् । पूर्वतयारीअनुसार नै यस किसिमको घटना भएको आशंका गरिन् । भौतिक क्षतिलाई बनाउन सकिएपनि महत्वपूर्ण दस्तावेजहरु अब पाउन नसकिने उल्लेख गरिन् । आगजानी गर्नेलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने पनि जानकारी दिइन् । उनले भनिन्, ‘यो मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी छानी प्रहार भएको छ । प्रहरीहरु सुरक्षाको लागी अनिवार्य थिए, तिनलाई प्रहार भयो, ती विटहरु, प्रहरीको चौकी थानाहरु जले । अदालतका फाईलहरु सम्पूर्ण नष्ट भएर गयो । बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु यो देशको, जसले चाहीँ शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, कागजहरुबाट त्यो हाम्रो नष्ट भयो । मलाई यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला भत्काउला बेग्लै कुरा भयो तर यो घटना त मलाई लाग्छ देशमा नै पहिलो पटक भएको हो ।’ उनले प्रहरीका बिटहरु, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, सिंहदरबार लगायतमा लगाइएको आगोले सम्पूर्ण नष्ट भएर देश शुन्यमा पुगेको बताइन् । जेन जी नामका आन्दोलनमा भदौ २४ गते प्रर्दशनकारीहरुले विभिन्न सरकारी संस्था, राजनितिक दलका पार्टी कार्यलय, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरुमा आगजानी गरेका थिइन् ।
आजदेखि दशैंका लागि सुकिला नोट साट्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी बडादसैंलाई लक्षित गर्दै सुकिला नोट सटहीको व्यवस्था मिलाएको छ । भदौ २९ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणले सुकिला बैंक नोट सटही गर्न सक्ने बैंकले जनाएको छ । मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित राष्ट्र बैंकको मुख्य कार्यालयसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रदेशीय कार्यालय तथा 'कु', 'खु' र 'गु' वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट सटही सेवा उपलब्ध हुनेछ । राष्ट्र बैंकले संघसंस्था र सर्वसाधारणलाई तोकिएको अवधिभित्रै सुविधा लिन आग्रह गरेको छ ।