पर्यटक आवागमन सहज बनाउन होटल संघ नेपालको आह्वान
काठमाडौं । होटल संघ नेपालले देशभर जारी निषेधाज्ञा र विमानस्थल बन्द भएपछि अनिश्चित बनेको पर्यटक यात्रुलाई सहज बनाउन सम्बन्धित निकायलाई प्राथमिकताका साथ पहल गर्न आह्वान गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । संघले युवाहरुको बलिदानबाट सुरु भएको नयाँ भविष्यको संक्रमणकालमा देश र जनताको हितमा हुने सबै प्रयास सफल होस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार, चाडपर्व र पर्यटकीय सिजन सुरु हुने समयमै निषेधाज्ञा र अन्य अवरोधका कारण नेपाल आउने पर्यटकबाट अत्यधिक र अप्रत्याशित क्यान्सिलेसन भइरहेको छ । यस्तो अवस्थामा आवागमनको समस्या छिटो व्यवस्थापन गर्न सकेमा पर्यटन क्षेत्रलाई केही हदसम्म सहज बनाउन सकिने संघको भनाइ छ । संघले होटललगायतका निजी तथा सार्वजनिक सम्पत्तिमा भएको आगजनीलाई देशकै सम्पत्ति विनाशको रूपमा व्याख्या गर्दै थप क्षति हुन नदिन सबैलाई अपिल गरेको छ । त्यस्तै, हाल प्रभावित पर्यटकको व्यवस्थापन तथा सहजीकरणका लागि होटल संघ नेपालले नेपाल पर्यटन बोर्ड र नेपाली सेनाको सहकार्यमा पहल गरिरहेको जनाएको छ । साथै, अलपत्र पर्यटकलाई आवश्यक आवास सुविधा चाहिएको खण्डमा होटल संघ नेपालको हटलाइन नं. ९८५१०३१४९५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
रसुवामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी
काठमाडौं । रसुवामा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार बिहान सूचना प्रकाशित गर्दै जिल्लाभर कर्फ्यू लगाइएको जानकारी दिएको हो । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीद्वारा जारी सूचनाअनुसार भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सम्पूर्ण सीमा क्षेत्रमा कर्फ्यू लागू हुनेछ । कर्फ्यू अवधिभर आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा–बैठक र घेराउ गर्न प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ । हालैका विरोध प्रदर्शनका क्रममा तोडफोड, आगजनी, लुटपाट र आक्रमणका घटना भएपछि नेपाली सेनाले देशभर निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरिसकेको छ ।
त्रिभुवन विमानस्थल बुधबार साँझसम्म बन्द रहने
काठमाडौं । विमानस्थलका साथै काठमाडौं उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार साँझ ६ः०० बजेसम्म नखुल्ने भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।
सेनाले सुतेर बन्दुक ताकि रहे, कैदीलाई धामाधम सारियो {तस्बिरहरु}
काठमाडौं । डिल्लीबजार कारागारबाट कैदीबन्दीलाई सारिएको छ । कैदीबन्दीहरुले कारागारमै आगजनी गरेपछि कारागार प्रशासनले कैदीलाई अर्कै कारागारमा सारेको हो । कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी तथा तोडफोड गरेका थिए । कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ । कैदीबन्दीलाई सार्दा सेनाले बन्दुक नै तेर्साएर सुरक्षाको माहोल बनाइरहेको छ । तनावग्रस्त अवस्थामा सेनाले कारागारमा सुरक्षा दिइरहेको छ । कैदीलाई भाग्न नदिनका लागि उनीहरुले सुरक्षा सतर्कता अपनाएको बताएका छन् । आगो निभाउन दमकल पनि कारागारमा पुगेका छन् ।
डिल्लीबजार कारागारबाट कैदीबन्दी सार्ने तयारी
काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरूले आगजनी गरेका छन् । आफूहरूलाई पनि बाहिर निस्कन दिनुपर्ने माग गर्दै कैदीहरूले आगजनी गरेको कारागार प्रशासनले जनाएको छ । कारागारमा आगो फैलिन थालेपछि कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको कारागार प्रशासक बाबुराम अर्यालले जानकारी दिए । उनका अनुसार अहिले कारागारभित्र आगोको मुस्लो देखिएको छ । आगजनी र तोडफोडपछि कारागार परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको र स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको प्रशासनले जनाएको छ ।
सागर डिष्टिलरीको आईपीओ निष्काशन स्थगित
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साधारण सेयर (आईपीओ)को सार्वजनिक निष्काशन तथा बिक्री स्थगित गर्ने निर्णय गरेको छ । कम्पनीले भदौ २५ गतेदेखि आईपीओ खुला गर्ने गरी गत भदौ १७ गते आह्वानपत्र प्रकाशित गरेको थियो । तर, मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।
डिल्लीबजार कारागाारमा कैदीले गरे आगजनी, अवस्था तनावग्रस्त
काठमाडौं । डिल्ली बजार काराबारगमा कैदीहरुले आगजनी तथा तोडफोड गरेका छन् । कारागार परिसरमा उपस्थित हाम्रा संवाददाताका अनुसार कैदीहरुले भित्र आगजनी तथा तोडफोड गरेका हुन् । कैदीहरुले कारागारभित्र तोडफोड गर्दा अहिले त्यहाँको माहोल तनावग्रस्त भएको छ । अहिले ठूलो संख्यामा नेपाली सेना परिचालन भएको छ । सेनाले माहोललाई आफ्नो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।
देशभर कर्फ्यू आदेश, बिहीबार बिहान ६ बजेसम्म जारी रहने
काठमाडौं । नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति–सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आदेश लागू गरिएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यू रहने र त्यसपछि पनि निरन्तर भोलि बिहान ६ बजेसम्म आदेश जारी रहने सेनाको विज्ञप्तिमा उल्लेख छ । सेनाले आन्दोलनको नाममा अराजक व्यक्ति र समूहले सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि गर्दै आएको भन्दै यसलाई नियन्त्रण गर्न कर्फ्यू आदेश जारी गरिएको स्पष्ट पारेको छ । यस्तै, व्यक्ति लक्षित हिंस्रक आक्रमण तथा बलात्कार प्रयासजस्ता आपराधिक गतिविधि हुने वा हुनसक्ने सम्भावना पनि रहेको सेनाले जनाएको छ । आन्दोलनका नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी तथा आक्रमणलाई दण्डनीय अपराध मानी कडा कारबाही गर्ने चेतावनी सेनाले दिएको छ । निषेधाज्ञा तथा कर्फ्यू अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारीसाधन सञ्चालनमा कुनै रोकताेक नहुने जनाएको छ । आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ । यस्तै, सम्पूर्ण अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकलाई अफवाहमा नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न सेनाले आग्रह गरेको छ । राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन सेनाले निरन्तर दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।