विकासन्युज

राति १० बजेदेखि सेना सडकमा, सम्पत्ति लुटपाट र आगजनी नगर्न आग्रह

काठमाडौं । आज राति १० बजेदेखि नेपाली सेना सडकमा प्रवेश गर्ने जानकारी दिएको छ । नेपाली सेनाले सूचना जारी गर्दै आज राति १० बजेदेखि सडकमा आउने बताएको हो ।  सेनाले सबैलाई यस कार्यमा सहयोग गर्न पनि अनुरोध गरेको छ । साथै, विभिन्न व्यक्ति तथा सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड तथा आगजनी नगर्न पनि अनुरोध गरेको छ ।  यस्तो छ सूचना  

नागरिकलाई सम्बोधन गर्दै के भन्यो सेनाले ?

काठमाडौं । प्रधान सेनापति महारथी अशोक सिग्देलले प्रदर्शनकारीलाई सहमतिमा आउन आग्रह गरेका छन् । मंगलबार राति नागरिकका नाममा सम्बोधन गर्दै उनले सबैको सहकार्यले देशको विकास हुने भएकोले वर्तमान परिस्थिति र समस्याको समाधान गर्न वार्तातमा आउन आग्रह गरेका हुन् ।  उनले देशको सांस्कृति सम्पर्दा, निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति नगर्न पनि आग्रह गरेका छन् । उनले नेपाली सेना देशको रक्षाका लागि तत्पर रहेको पनि बताएका छन् ।     

राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा तोडफोड, सीईओ भन्छन्: आगजनी भयो भन्ने सुनियो

काठमाडौं । प्रदर्शनकारीले बैंकमा पनि तोडफोड गर्न थालेका छन् । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड गरेका छन् ।  बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले बैंकको शाखामा तोडफोड र आगजनी बैंक भएको सुनिएको बताए । उनका अनुसार कर्मचारी भने सो शाखामा छैनन् । उनका अनुसार बैंकको तराईतिर पनि तोडफोड भएको छ । 

एनसेलको प्रधान कार्यालयमा आगजनी, भवन ध्वस्त

काठमाडौं । जेनजी प्रदर्शनकारीले एनसेलको प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् । उनीहरुले लैनचौरस्थित एनसेलको प्रधान कार्यालयमा आगजनी गरेका हुन् ।  अहिले आन्दोलनकारी सडकका चोक–चोकमा बसेर टायर बालिरहेका छन् ।   

देश जेनजीको  नेतृत्वमा, सार्वजनिक सम्पत्तिमा जोगाउन अपिल

काठमाडौं । जेनजी आन्दोलनले संघर्षबाट सत्ता ढलेकोले अब सार्वजनिक सम्पत्ति क्षति पुराउनु काम नगर्न अपिल गरेको छ । सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु नै अबको बाटो भएको उसले जनाएको छ ।  ‘हाम्रो न्युनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानू हो । यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौं’ जेनजीले भनेको छ ।  ‘हाम्रो आन्दोलनको परिणाम स्वरूप सरकारले घुँडा टेकेको छ । प्रधानमन्त्री केपी ओलीरले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट त्यसलाई स्वीकृत गरिएको छ । यो परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको छ’ जेनजी आन्दोलनले मंगलबार साँझ जारी गरेको अपिल पत्रमा भनिएको छ ।  ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ । सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ती हो । त्यसैले, आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षती नपुर्याउन हार्दिक अनुरोध गर्दछौँ’ अपिलमा लेखिएको छ ।  ‘नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको छ, त्यसैले हामी संयम र धैर्यका साथ अघि बढौं’ अपिलमा भनिएको छ । ’हामी सबैको एकताले मात्र नयाँ परिवर्तनको जग बसाल्नेछ ।’

जेलबाट छुटेपछि रविको वक्तव्य- सार्वजनिक सम्पत्तिको सुरक्षा गरौं, संयमित बनौं

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले संयमता अपनाउन अनुरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो अपील गरेका हुन् । उनले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न पनि आग्रह गरेका छन् । यस्तो छ उनको वक्तव्य : आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजी सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन् । यिनको बाँकी सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ । राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन् । तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुन सक्छन् । जुन तपाई हाम्रा लागि र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन् । सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व  जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु । र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु ।  आम नागरिकको दबाबपछि सरकारले मेरो रिहाईको लागि कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।  

मुलुकलाई थप संकटतिर नधकेलौं : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत नागरिकलगायत सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको जनाउँदै अहिलेको संवेदनशील अवस्थाबाट मुलुक, जनता र लोकतन्त्रलाई जोगाउन सबैले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रपति पौडेलले नागरिकका जायज मागलाई वार्ता र संवादमार्फत समाधान गर्न सकिने विश्वास व्यक्त गर्दै संयमित रहन आग्रह गरेका छन् ।  ‘लोकतन्त्रमा नागरिकले राखेका मागलाई सम्बोधन गर्ने अभ्यास संवाद र सहमतिबाटै हुन्छ, त्यसैले संयमित रहनुहोस्, वार्तामा आउनुहोस्,’ पौडेलले भने । उनले मुलुकलाई थप अस्थिरतामा धकेल्ने गतिविधि नगरी शान्तिपूर्ण बाटो रोज्नसमेत सबैलाई आह्वान गरेका छन्।  

राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी एवं नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन्  । उनले आज विज्ञप्तिमार्फत लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृती भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मूलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।