विकासन्युज

खानीखोला हाइड्रोपावरको पुस १८ गतेदेखि बुक क्लोज

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीको आगामी पुस १८ गतेदेखि बुक क्लोज हुँदै छ । यस हाइड्रो साधारणसभामा जान लागेकोले पुस १८ गतेदेखि २८ गतेसम्म कम्पनीको बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २८ गते हुँदै छ ।

खिम्ती आयोजनाको आधा स्वामित्व विद्युत प्राधिकरणमा आउँदै, डलरमा विद्युत खरिद सम्झौता पनि सकिने

काठमाडौ । आगामी २ वर्षपछि ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत आयोजनाको आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा आउने भएको छ । आगामी सन् २०२० को जुलाईदेखि आयोजनाको आधा स्वामित्व प्रवद्र्धक हिमाल पावर लिमिटेडबाट विद्युत प्राधिकरणमा आउनेछ । सन् २००० जुनलाईदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको खिम्तीको २० वर्षपछि आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुने सम्झौता भएको थियो । आधा स्वामित्व हस्तान्तरणका अतिरित्त अमेरिक डलरमा भएको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) पनि सोही मितिदेखि सकिने छ । खिम्तीको डलर पीपीए महंगो छ । डलर मजवुत भएका कारण विद्युत प्राधिकरणले खिम्तीको बिजुली अहिले प्रतियुनिट ११ रुपैयाँ ७८ पैसामा खरिद गर्दै आएको छ । विद्युत प्राधिकरणले बिजुली बिक्रीबाट औसत ९ रुपैयाँ पाउदै आएकोमा खिम्तीको बिजुली खरिदमा झण्डै प्रतियुनिट ३ रुपैयाँ नोक्सान व्योर्दै आएको छ । रोयल्टीको रकम भुक्तानी जोड्दा प्रतियुनिट झण्डै ५ रुपैयाँ महंगो छ । डलर अझ मंहगिएको अवस्थामा बिजुलीमो मूल्य पनि बढ्ने गरेको छ । प्राधिकरणले खिम्तीको बिजुली खरिद गरेवापत हिमाल पावरलाई डलरमा भुक्तानी गर्दे आएको छ । विदेशी मुद्रा विनियमय जोखिम पनि विद्युत प्राधिकरणले वहन गर्नुपर्ने छ । विद्युत प्राधिकरणले खिम्ती आयोजनाको रोयल्टी मात्रै वार्षिक ४८ करोड रुपैयाँ बराबरको बुझाउदै आएको छ । रोयल्टी समेत जोड्दा खिम्तीको बिजुलीको मूल्य प्रतियुनिट १३ रुपैयाँ २८ पैसा पर्छ । खिम्ती आयोजनालाई मात्रै विद्युत प्राधिकरणले २७ लाख अमेरिकी डलर भुक्तानी गर्दे आएको छ । प्राधिकरणले हिमाल पावरलाई वार्षिक ३ करोड २४ लाख ४ हजार ९५६ डलर अर्थात साढे ३ अर्ब रुपैयाँ भुक्तानी गर्दै आएको छ । खिम्तीको डलर पीपीए सुरुदेखि नै विवादित बन्दै आएको छ । पुनः पीपीए हुने भएपछि खिम्ती आयोजनाको बिजुली सस्तो हुने छ । खिम्तीबाट प्राप्त हुने आम्दानी विद्युत प्राधिकरण र हिमाल पावरबीच आधा/आधा बाँडिने छ । खिम्ती बुट नीतिअन्र्तगत निजी तथा विदेशी लगानीबाट निर्माण भएको पहिलो आयोजना हो । आयोजनाले सन् २००० को जुलाइ ११ तारिखदेखि विद्युत उत्पादन थालेको हो । हिमाल पावरको ५० वर्षको विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) छ । हिमाल पावरमा नेपालको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी), नर्वेको स्ट्याटक्राफ्ट एसएफ, आलस्थम पावर एस, जीई इनर्जी एसको संयुक्त लगानी रहेको छ । त्यसबेला आयोजना बनाउन १४ करोड ५२ लाख डलर लगानी भएको थियो । विद्युत प्राधिकरणसंग डलरमा पीपीए गदा १ डलर बराबर ५२ नेपाली रुपैयाँ थियो । २ दशकको अन्तरालमा डलर मजवत भएर १०४ रुपैयाँ पुगेको छ । आयोजनाबाट वार्षिक ३५ करोड युनिट बिजुली उत्पादन हुने गरेको छ ।

क्राउन हिमालयजको नयाँ वर्ष योजना, ३५०० सय मै डिलक्स रुम र ब्रेकफास्ट

काठमाडौं । होटल क्राउन हिमालयज पोखराले नयाँ वर्ष र क्रिसमसलाई केन्द्रीत गर्दै विभिन्न पाहुनालाई विभिन्न आकर्षक योजना ल्याएको छ । होटलले ४ हजार ५ सय रुपैयाँको डिलक्स रुम्लाई ३ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने र विहानीको ब्रेकफास्ट पनि दिने योजना ल्याएको हो । होटलमा जाने पर्यटकलाई पोखराका पर्यटकीय स्थलको अवलोकन पनि गराउने योजना ल्याएको हो । होटलका कार्यकारी निर्देशक आग्रह अर्यालका अनुसार पोखराको फेवाताल, सारङ्कोट, बेगनासताललगायत विभिन्न ठाउँको अवलोकन समेत गराउने बताए । तर, पर्यटकले त्यसका लागि थप पैसा तिर्नुपर्ने छ । धेरैजसो विदेशी तथा स्वदेशी पर्यटक नयाँ वर्ष तथा क्रिसमस नयाँ नयाँ ठाउँ घुम्न आउने भएकाले होटलले यस्तो प्याकेज ल्याएको हो । पोखरा आउने पर्यटकलाई दुइ देखि तीन दिनसम्म राख्नका लागि नयाँ नयाँ गन्तव्यमा घुमाउन लैजाने योजना बनाएको छ । ‘पोखरा आउने पर्यटक कम्तिमा पनि दुईदेखि तीनदिनसम्म बस्न सकुन भन्ने हो,’ उनले भने, । होटलले विदेशी भन्दा पनि स्वदेशी पर्यटकलाई केन्द्रमा राखेर यस्तो योजना ल्याएको हो । ‘अहिले पोखरामा विदेशीको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या बढ्को छ,’ उनले भने, ‘स्वदेशी पर्यटकलाई आकर्षित गर्न हामीले यस्तो योजना ल्याएको हो ।’

एभरेष्ट बैंकको साधारणसभा पुस २८ गते, १ अर्ब ९९ करोड बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने

  काठमाडौं । एभरेष्ट बैंकको २३ औं वार्षिका साधारणसभा पुस २८ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३३ प्रतिशत अर्थात १ अर्ब ९९ करोड १६ लाख रुपैयाँको बोनस सेयर वितरणको प्रस्ताव पेश गर्ने भएको छ । चुक्तापुँजी वृद्धिको विशेष प्रस्ताव सभाबाट पारित गर्ने कार्यसुचि रहेको छ । संचालक समितिको नयाँ संरचना सभाले पारित गर्ने छ । यस्तै नेपालमा भ्रमण गर्नुपर्दा सञ्चालकलाई १२ हजार, भारत भ्रमण गर्दा पनि १२ हजार र तेस्रो मुलुक भ्रमण गर्नुपर्दा दैनिक ५५० अमेरिकी डलर तथा वास्तविक भ्रमण खर्च दिने प्रस्ताव पनि सभामा पेश हुने छ ।

शिवम् सिमेन्टले ३७ करोडको आईपीओ निष्कासन गर्ने, साधारणसभामा प्रस्ताव लैजादै

काठमाडौं । शिवम् सिमेन्टस लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि उद्योगले पुस २५ गतेको दोस्रो वार्षिक साधारणसभामा विशेष प्रस्ताव पेश गर्ने भएको छ ।   कम्पनीले कुल जारी पुँजीको १० प्रतिशत अर्थात ३७ करोड रुपैयाँ बराबरको ३७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश हुने शिवमले जनाएको छ । आईपीओ निष्कासन गर्ने शिवम् नेपालको पहिलो सिमेन्ट उद्योग हो । अन्य सिमेन्ट उद्योग पनि आईपीओ निष्कासनको तयारीमा छन् । उद्योगले जारीपुँजी ३ अर्ब ७० करोड रुपैयाँ मध्ये ९० प्रतिशत संस्थापक समूह र १० प्रतिशत साधारण समूहको स्वामित्व हुने गरी लगानी संरचना तयार पारेको छ । गतवर्ष धितोपत्र बोर्डले उत्पादन मुलकलगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले पनि आईपीओ निष्कासन गर्न लागेको हो । उसले प्रिमियम मूृल्यमा सेयर निष्कासन गर्ने पाउने छ । उद्योगले १० प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नका लागि प्रवन्धपत्र नियमावली संशोधनको प्रस्ताव सभामा लैजाने भएको छ । यस्तै हाल जारी भई मौज्दात रहेको सेयर कम्पनीमा कायम रहेका सेयरधनीले नलिने भएपछि जारीपुँजी ५ अर्ब रुपैयाँलाई घटाएर ३ अर्ब ७० करोड रुपैयाँ कायम गरिने भएको छ । यस्तै गत आर्थिक वर्षमा गरेको नाफाबाट उद्योगले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुने भएको छ । शिवम् सन् २००९ मा स्थापनमा भएको हो । उद्योगले आफनौ चुनढुङा खानीबाट दैनिक १ हजार २५० टन सिमेन्ट उत्पादनको लक्ष्य लिएको छ । उद्योग मकवानपुरको हेटौडामा रहेको छ । शिवम् नेपालको सबैभन्दा ठुलो उद्योग मध्ये एक हो । चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारी गरेको छ । हाल कारखाना स्थापनाको काम हुदैछ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने छ । यसमा शिवमका २० प्रतिशत स्वामित्व रहेको छ ।  

एनआईसी एशिया बैंकको ३ अर्ब ऋणपत्र स्वीकृत, ९ प्रतिशत व्याजसहित नेप्सेमा किनबेच गर्न पाइने

कावठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्न स्वीकृति दिएको छ । बोर्डले एनआईसी एशियालाई प्रतिकित्ता हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो । सो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिलइन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नियुक्त भईसकेको छ । ३ अर्ब रुपैयाँको को ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरबाट र २० प्रतिशत अर्थात ६० करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमाफर््त निष्काशन गरिने बैंकले जनाएको छ । ९ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरिने बैंकले जनाएको छ । ऋणपत्रको अवधि ७ वर्ष हुनेछ । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने छ । ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि महत्वपूर्ण औजार हुने विश्वास बैंकले लिएको सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए । उक्त ऋणपत्र खरिदको लागि पुस १३ देखि १७ गतेसम्म आवेदन खुला गरिने बैंकले जनाएको छ । सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले इक्राएनपी एलए माइनास रेटिङ्ग प्रदान गरेको छ । जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यून कर्जा जोखिम हो । साथै, यस बंैकलाई इक्रा नेपाल लिमिटेडले इक्राएनपी आईआर ए माइनस रेटिङ्ग प्रदान गरेको छ । जुन नेपाली बैंकहरुलाई प्रदान गरिएको उत्कृष्ट रेटिङ्गहरु मध्ये एक भएको बैंकले जनाएको छ ।  

भूकम्प पीडितका लागि सल्भ नेपालले बनायो १२० वटा घर

ललितपूर । विनाशकारी भूकम्प गएको झन्डै तीन वर्षपछि भूकम्पपीडितको पुनर्वासका लागि सल्भ नेपाल नामक गैरसरकारी संस्थाको पहलमा ललितपूरको वाग्मती गाँउपालिकास्थित घुसेल गाँउका १२० घरधुरीका भूकम्पपीडितहरु लाभान्वित भएका छन् । अहिलेसम्म आवास, जीविकोपार्जन र खानेपानी, सरसफाइ तथा स्वच्छता जस्ता महत्त्वपूर्ण आवश्यकताहरू पूरा गर्न सल्भ नेपालको नेपाल भूकम्प पुनर्लाभ, पुननिर्माण तथा उत्थानशीलता एनपिएल १६१ (थ्री आर) परियोजना नेपाल भूकम्प पुनर्लाभ कार्यक्रम भूकम्पबाट अतिप्रभावित क्षेत्र अन्तर्गत घुसेल वडा नम्बर १मा जारी छ । यसका लागि सल्भ नेपालले साझेदारी निर्माण, साझा जवाफदेहिता प्रवर्द्धन र स्थानीय क्षमता तथा सामुदायिक सहभागिता अभिवृद्धि गरेको छ । “विभिन्न चुनौतीहरूका बावजुद  भूकम्पबाट प्रभावित मानिसहरूको जीवनमा हामीले उल्लेख्य प्रभाव पार्न सकेको हाम्रो तथ्यांकले देखाएको छ । भौगोलिक अवस्था, लाभान्वित छनौट प्रक्रिया र बृहत् आवश्यकताका कारण यो कार्य सहज थिएन । भूकम्पबाट प्रभावित व्यक्तिहरूलाई पुनः सामान्य अवस्थामा फर्काउन हामीलाई समुदायले गरेको व्यापक सहयोग र स्वीकारप्रति हामी कृतज्ञ छौं । अहिले हामी समुदायलाई उनीहरूको पुनर्लाभको स्वामित्व उनीहरूलाई नै दिने अवसरहरू प्रदान गर्ने र भविष्यमा आउनसक्ने विपद्को सामना गर्नसक्ने क्षमता अभिवृद्धि गर्ने दिशामा केन्द्रित छौँ,” सल्भ नेपालका जिल्ला कार्यक्रम अधिकृत प्रभात राउतले भने । भूकम्प तथा त्यसपछिका पराकम्पहरुबाट शारीरिक तथा मानसिक तवरले भयवित तथा विछिप्त भएका जनसमुदायहरुलाई लक्षित गरि मनोसामाजिक तथा सचेतना कार्यक्रम पनि पुरा गरेको छ । सो कार्यक्रमबाट १ सय २० जना मानिसहरु लाभान्वित भएको राउतले जानकारी दिए । भूकम्प गएलगत्तै यो संस्थाले विपद्को पूर्वतयारी, स्वास्थ्य, पोषण, शिक्षा, खानेपानी, सरसफाइ, आवास, बालसंरक्षण र जीविकोपार्जनका क्षेत्रसँग सम्बन्धित विभिन्न सामग्रीहरू प्रदान गर्‍यो, सेवाहरूमा पहुँच सुनिश्चित, नगद सहयोग, तालिम उपलब्ध गरायो र भौतिक पूर्वाधारहरूको निर्माण गर्‍यो । यही डिसेम्बरसम्ममा पुनर्निमाण कार्य सम्पन्न गरेर लाभग्राहीलाई घर हस्तान्तरण गर्ने लक्ष्य रहेको राउतले जानकारी दिए । प्रतिकार्यको अन्तिम चरणमा अहिले यस गैर सरकारी संस्थाले विस्तारित तथा सुदृढ जीविकोपार्जन, खानेपानी तथा सरसफाइ र आवासका क्षेत्रमा कार्यक्रमहरू केन्द्रित गरेको छ । हालसम्म सल्भ नेपालले नेपाल भूकम्प पुनर्लाभको लागि पुनर्निर्माण प्रधिकारणले भुकम्प अति प्रभावित जिल्लाहरुमा घर निर्माणको लागी दिइने भनेको ३ लाख  सहयोग अनुसार नै उक्त संस्थाले पनि घर निर्माणको ३ लाख रुपैयाँ प्रदान गरेको जनाएको छ । घर निर्माणको लागी सुरुमा ५० हजार रुपैंया जग राखिसकपछि एक लाख ५० हजार रुपैंया र अन्तिम चरणमा १ लाख रुपैंया प्रदान गरेको जनाएको छ । बाग्मति गाउँपालिका वडा नं १ को  १ सय २० घर निर्माणको लागी उक्त संस्थाले ३ करोड ६० लाख रुपैंया खर्च गरिसकको जनाएको छ । उक्त संस्थाले घर निर्माणको लागी दिएको सहयोग बाहेक प्राविधिक तालिम, सरसफइअभियान तथा मनोसामाजिक सहायता सचेतिकरण तालिम समेत दिएको जनाएको छ । यस संस्थाले राष्ट्रियपुनर्निर्माण प्राधिकरणको कार्यविधि अनुसार उक्त संस्थाले घर निर्माण गरेको राउतले बताए । उनका अनुसार हरेक लाभग्राहीलाई स्थायी आवास निर्माण गर्ने प्रयोजनले प्राविधिक सहयोग सुझाव तथा अनुगमन गर्ने र निर्माणाधिन भवनको प्रगतीअनुसार पहिलो, दोस्रो तथा तेस्रो किस्ता गरी तीन लाख दिइएको छ ।

एनएलजी इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने, सोमबार सेयर मूल्य बढ्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि आवश्यक नगद लाभांश वितरण गर्न लागेको हो । सोमबार बसेको कम्पनी सञ्चालक समितिको २३८ औं बैठकले उक्त निर्णय गरेको कामु प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जानकारी दिए । सञ्चालक समितिको निर्णयलाई बीमा समितिको स्वीकृति र साधारणसभाको अनुमोदन गरेपछि सेयरधनीले उक्त बोनस पाउने छन् । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७० रुपैयाँमा कारोबार भएको छ । यस कम्पनीको सेयर सोमबार प्रतिकित्ता १४ रुपैयाँले मूल्य बढेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ५१ करोड २३ लाख रुपैयाँ रहेको छ । बोनस सेयरपछि यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख रुपैयाँ हुनेछ ।