विकासन्युज

रेस्टुराँमा भाँडा माझ्ने भट्ट २९० रेस्टुराँका मालिक, एनआरएनको अध्यक्षमा उम्मेदवारी

काठमाडौं । अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका छन् । अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा उनको पहिचान बनेको छ । जापान गएपछि सुरुआती चरणमा रेस्टुराँमा भाँडा माझ्ने काम गरेका भट्टको अहिले जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालनमा छ । उनका रेस्टुराँमा अहिले पाँच हजार जापानी र २५० नेपालीले रोजगारी पाएका छन् । सन् १९९७ मा २१ वर्षको उमेरमा टोखाइ विश्वविद्यालयमा अध्ययनका लागि उनी जापान गएका थिए । जापान गइसकेपछि पढाई खर्च र दैनिक गुजारा चलाउन क्याम्पस समयबाहेक अरु समयमा उनी रोजगारमा संलग्न हुन थाले । महँगो ठाउँ भएकाले गुजारा चलाउन सुरुआती दिनमा रेस्टुराँमा भाँडा माझ्ने काम शुरु गरे । ती दिन सम्झना गर्दै भट्टले भने, “घरमा काम नगरी हुर्केको म सुरुआती दिनमा जापानमा रेस्टुराँमा भाँडा माझ्नुपर्दा धेरै अप्ठ्यारो लाग्यो, यति पढेको मान्छेले के भाँडा माझ्ने भन्ने सोचेर चित्त पनि दुख्यो ।” तर यस्तो सोचिरहेसम्म अगाडि बढ्न सकिँदैन, श्रमलाई सम्मान गर्नुपर्छ भन्ने निष्कर्षसहित भाँडा माझ्ने कामलाई पनि अवसरका रुपमा लिनुपर्छ भन्ने उहाँले योजना बनाए। उनले भने, “भाँडा माझ्ने काममा पनि केही नयाँ गर्नुपर्छ भन्ने लाग्यो, मैले माझेको भाँडा अरुले माझेकोभन्दा सफा हुनुपर्छ भन्ने ठानेर अझ धेरै मेहनत गरेर भाँडा माँझे ।” उनको सो कामबाट प्रभावित भएपछि साहुले उनलाई दिँदै आएको घण्टाको ७०० जापानी ऐनमा ५० बढाएर ७५० पुर्याइदियो । कामप्रतिको लगाव देखेर साहुले उनलाई भाँडा माझ्ने कामबाट केही समयपछि वेटरको काममा बढुवा गरिदियो । यसरी ६ वर्षसम्म फरक/फरक रेस्टुराँ र होटलमा काम गर्दैगर्दा अनुभवका आधारमा होटल प्रबन्धकको पदसम्ममा पुग्न सफल भए । एउटै ठाउँमा काम गर्दा आलश्यता र निराशा बढ्ने ठहरसहित यो बीचमा उनले दर्जनौँ होटल तथा रेस्टुराँमा काम गरे । विशेषगरी खानपान र पेय पदार्थको व्यवसायबारे रुचिका साथै ज्ञान हासिल हुँदै गयो । सोही ज्ञानलाई अवसरमा बदल्ने तथा कामदार र कर्मचारीबाट मालिकमा उक्लिने योजना उनले बताए । जापान गएको छ वर्षपछि टोकियोको बिएमसी सिन्जुको भन्ने ठाउँमा सन् २००३ मा उनले एउटा घाटामा गएको रेस्टुराँ किने । सुरुआती दिनमा नचले पनि बिस्तारै विभिन्न छुट र कार्यक्रम ल्याएपछि केही समयपछि रेस्टुराँ चल्न थाल्यो । सो रेस्टुराँबाट आएको फाइदाको रकमबाट त्यसको केही समयपछि नजिकै अर्को रेस्टुराँ किने । यसरी फाइदा बढ्दै गएपछि लगानी थप्दै गर्दा व्यवसायमा हात हालेको १४ वर्षमा उनले जापानमा २९० वटा होटल तथा रेस्टुराँ सञ्चालन गरेका छन् । ती होटल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको भट्टले जानकारी दिए । यस्तै उनले नेपालमा पनि टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा करिब रु दुई अर्ब लगानी गरिसकेका छन् । ‘कारोबार’ दैनिक, युनाइटेड ब्रुअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङमार्गलगायत २३ वटा नेपाली संस्थामा उहाँको लगानी छ । ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारालाई आत्मसात् गर्न रुचाउने भट्टको देशप्रतिको प्रेमकै कारण आफ्नो लगानी आगामी दिनमा नेपालमै बढाउने योजना रहेको बताउँछन् । विसं २०७२ मा भूकम्प गएको दुई घण्टापछि नै रु एक करोड पीडितलाई सहयोग गर्ने घोषणा गरेका भट्टकै अग्रसरतामा भूकम्पपीडितका लागि राहत तथा उद्धारमा गैरआवासीय नेपाली संघ ९एनआरएन० को ठूलो सहयोग नेपाल भित्रिएको थियो । नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको विरोधमा जापानस्थित भारतीय दूतावासमा उनकै नेतृत्वमा ज्ञापनपत्र बुझाएपछि अन्य देशमा समेत एनआरएनहरुले त्यहाँस्थित भारतीय दूतावासमा ज्ञापनपत्र र धर्ना दिएपछि नाकाबन्दीको विषय अन्तर्राष्ट्रियकरण हुन सहयोग पुगेको थियो । पछिल्लो समयमा ‘अतिथि देव भव’ अन्तर्गत नमस्ते अभियानमार्फत नेपालमा पर्यटक भित्र्याउने तथा पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नका लागि एकैपटक नेपालको प्रमुख शहर काठमाडौं, चितवन, पोखरा, लुम्बिनी गरी चारै शहरमा उनले अभियान सञ्चालन गरेका थिए । एनआरएनको अध्यक्षमा उम्मेदवारी गैरआवासीय नेपाली संघ ९एनआरएन० को अन्तर्राष्ट्रिय परिषद्को वर्तमान उपाध्यक्ष रहेका भट्टले यही असोज २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने एनआरएनको आठौँ विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सन् २००३ मा सम्पन्न भएको एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै यो संस्थामा सक्रिय भट्ट २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा काम गरे । एनआरएन जापानको अध्यक्ष, एनआरएनको अन्तर्राष्ट्रिय परिषद्को कोषाध्यक्ष र अहिले उपाध्यक्षको दोस्रो कार्यकालको अन्तिम चरणमा उनी छन् । आफू अध्यक्षमा निर्वाचित भएमा आफ्नो कार्यकाल एनआरएनका लागि नयाँ युगको सुरुआत गर्ने उनको लक्ष्य छ । आफ्नो कार्यकालमा एनआरएनको सदस्य संख्या दोब्बर बनाउने, महिला, युवा विभागलाई थप सशक्त बनाउने, नेपालमा एनआरएन र विदेशी लगानीका लागि वातावरण बनाउन प्रयास गर्ने तथा त्यसका लागि सरकारलाई दबाब दिनेलगायत उनको योजना छ । अहिलेसम्म भट्टबाहेक अरुले एनआरएनको अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गरेका छैनन् । उम्मेदवारी दिइहालेमा पनि स्वस्थ प्रतिस्पर्धाका लागि आफू तयार रहेको भट्ट बताउँछन् । रासस

‘संसारकै ठुलो’ बैंक डकैती विफल, ५०० मिटर सुरुङ खनेर ३५ अर्ब लुट्नखोज्ने गिरोहको भण्डाफोर

साओ पाउलो । ब्राजीलका प्रहरीले संसारकै सबैभन्दा ठुलो ‘बैंक डकैती’ गिरोहको भण्डाफोर गरेको छ । देशको साओ पाउलो शहरमा पाँच सय मिटर लामो सुरुङ खनेर सो डकैतीको योजना रचिएको थियो । यो सुरुङमा बत्ती र भेन्टिलेसन सिस्टमको पनि सुविधा छ । प्रहरीको जाँचबुझमा केहि चोरीएका गाडी फेला परेका छन् । शुक्रबार गर्नलागिएको डकैतीमा डाकुले ती गाडीको समेत प्रयोग गर्ने योजना रहेको प्रहरीले जानकारी दिएको छ । बेलायती अखबार ‘द गार्जियन’ का अनुसार गीरोहले भाडामा लिएर बसेको घरबाट सुरुङ खन्न सुरु गरेका थिए । यो सुरुङ बैंक अफ ब्राजीलको शाखामा गएर अन्त्य हुन्छ । ती गिरोहले डकैती गरेर करिब २५ करोड पाउण्ड (३५ अर्ब रुपैयाँ) भन्दा बढी लुट्ने योजना बनाएका थिए । मुख्य अनुसन्धानकर्ता फ्याबियो पिनहिरोले यो डकैती हुने थियो भने संसारकै सबैभन्दा ठुलो डकैती हुने बताए । उनले भने, ‘यो गिरोह निकै खतरनाक छ र यिनले लामो आपराधिक इतिहास बोकेका छन् । तिनीहरुमाथि हत्या जस्तै थुप्रै हिंसात्मक अपराधको आरोप छ। अधिकांश डाकुहरुको उमेर ३५ वर्षभन्दा माथीको हुनुपर्छ ।’ यो घटनामा अहिलेसम्म १६ जना अभियुक्तलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएका छन् । उनीहरुका अनुसार जम्मा २० जनाले मिलेर डकैतीका लागि करिब ४४ करोड रुपैयाँ खर्च गरेका छन् । प्रहरीले दुई महिनादेखि यो गिरोहमाथी कडा निग्रानी राखेको थियो । यो सुरंङलाई खन्नका लागि मात्र चार महिनाको समय लागेको थियो । हाल प्रहरीले ती गिरोहलाई फर्जी परिचयपत्रका भरमा घर भाडामा दिने एक महिलाको खोजी गरिरहेको छ। अधिकारीका अनुसार केहि अभियुक्तहरु सन् २०११को  साओ पाउलोको बैंक डकैतीमा पनि संलग्न थिए ।

नेप्से ३२ अंकले ओरालो, सबै समूह राताम्मे

काठमाडौं । आइतबारको नेप्से परिसूचक ३२ अंकले ओरालो लागेको छ । साताको पहिलो दिनको नेप्से कारोबार शुरु भएदेखि निरन्तर दोहोरो अंकले ओरालो लागिरहेको थियो । बजार खुलेको करिब साढे दुई घण्टामा नेप्से ५० अंकले घटेको थियो । त्यसपछिको कारोबारमा भने केहि सामान्य सुधार देखिएको छ । र बजार बन्द हुँदा नेप्से ३२ अंकले घटेर १५१०.०१ अंकमा पुगेको छ । दोहोरो अंकले घटेको बजारमा ४१ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी जनता बैंक नेपालको एक करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १५२ कम्पनीको ९ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार कारोबार भएका ९ वटै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १९३ अंकले ओरालो लागेको छ । त्यस्तै, ट्रेडिङ र अन्य समूहको परिसूचक क्रमशः ९ र ५ अंकले घटेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् । सो दिन रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । त्यस्तै, स्वावलम्बन विकास बैंक र स्वरोजगार लघुवित्त विकास बैंकको सेयर मूल्य ७/७ प्रतिशतले घटेको छ । धितोपत्र ब्रोकर्स एशोसिएनको पूर्व अध्यक्ष नरेन्द्र सिजापतिका अनुसार सेयर बजारमा राजनीति प्रवाह परेकाले सेयर बजार निरन्तर घट्दै गएको हो । नेकपा एमाले, माओबादी केन्द्र लगायत कम्युनिष्ट पार्टीहरु एक भएर चुनाव लड्ने घोषणासँगै सेयर बजार तीब्र रुपमा ओरालो लागेको उनी बताउँछन् ।

सयपत्री मालामा पनि भारतमै निर्भर, तिहारमा ९० लाख मूल्य बराबरको माला आयात हुने

काठमाडौं । यसपाली तिहारका लागि भारतबाट करिब ९० लाख रुपैयाँ बराबरको सयपत्रीका माला आयात हुने भएका छन् । भारतको कलकत्ताबाट आयात गरिने सयपत्री माला लक्ष्मी पुजाको दुई दिन अगाडी आइपुग्ने फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कुमार कुसजुले बताए । गत वर्ष तिहारमा दुई लाख माला आयात गरेकोमा यसपाली तीन लाख माला आयात गर्ने योजना रहेको उनले जानकारी दिए । गत वर्षभन्दा यो वर्ष तिहारमा चाडै सुरु हुनेभएकाले सयपत्रीको आन्तरिक उत्पादनले बजार नधान्ने भएकाले आयात बढाउनु परेको उनले बताए । ‘नेपालमा कात्तिकको मध्यदेखि मात्र राम्रोसँग सयपत्री फुल फुल्छ,’ उनले भने, ‘यो वर्ष तिहार कात्तिक ४ गते सुरु हुन्छ । अधिकांश किसानले व्यवसायिकरुपमा भन्दापनि तिहारलाई मध्य नजर गरेर खेती गर्ने भएकाले यसपाली समयमा नै उत्पादन नभएको हो ।’ गोदावरी र मखमली फूलमा भने नेपाल आत्मनिर्भर भइसकेको छ । अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन् । तिहारका वेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने हुन्छ। एसोसिएसनका अनुसार भारतबाट आयातित सयपत्री मालाको खरिद मूल्य ३० रुपैयाँ प्रति माला पर्छ । यसको बजार मूल्य ६५ देखि ७० रुपैयाँ रहेको छ । गत वर्षभन्दा यसपाली सयपत्रीमालाको मूल्य १० प्रतिशतले महंगिएको कसजुले जानकारी दिए । गोदावरीको बजार मूल्य ४०-५० रुपैयाँ रहेको छ भने गोदावरीको एक सय देखि तीन सय रुपैयाँसम्म रहेको उनले बताए । उनले भने, ‘ उपभोक्ताले गोदावरी माला डिजाइनका आधारमा किन्ने गरेका छन् । आकर्षक डिजाइन छ भने मंहगोमा पनि गोदावरी माला किन्छन् ।’ सम्पूर्ण पुजाकार्यमा सयपत्री फुलको प्रयोग हुने भएकाले तिहारमा यसको माग बढेको हो । यसपाली तिहारमा फुलको माग १५ लाख पुगेको कुसजुले जानकारी दिए । जसमध्य ११ लाख सयपत्री, तीन लाख मखमली र एक लाख गोदावरी तथा अन्य फुल रहेका छन् । सामान्य अवस्थामा मालाको माग दैनिक १०-१५ हजार मात्र रहेको छ । नेपालमा चितवन, मकवानपुर, धादिङ, भक्तपुर र काभ्रेलाई सयपत्री फुलको हब मानिन्छ । मखमलीका लागि भक्तपुर र ललितपुर विख्यात छ । गोदावरी फुल काठमाडौं र काभ्रेका केही स्थानमा पाइन्छ ।

अछामको चार सय घरधुरी लालपुर्जाविहीन

अछाम । अछामको मेल्लेख गाउँपालिका-३ का ४०० घरधुरी जग्गाधनी पुर्जा (लालपुर्जा)बाट अहिले पनि वञ्चित छन् । जग्गाको पुनःनापी कार्य सकिए पनि तत्कालीन अछाम आक्रमणका बेला लालपुर्जालगायत सबै कागजात जलेपछि कुनै प्रमाण नहुँदा लालपूर्जा वितरणमा समस्या भएको हो । अछामको पुनःनापी कार्य भएसँगै विसं २०७१ मा विशेष नापी अछामले नापनक्सा कार्य सम्पन्न भए पनि लालपुर्जा पाउन नसकेको स्थानीय अगुवा हेमराज शाहले बताए । लालपुर्जा पाउने वातावरणका लागि विभिन्न निकायसँग पहल गर्दा पनि कसैले चासो नदिएको उनको भनाइ छ । जग्गा नापी भएर पनि दर्ता नभएका कारण स्थानीय विभिन्न सरकारी सेवा सुविधाबाट वञ्चित छन् भने राज्यकोषलाई पनि वार्षिक लाखौँ रकम नोक्सानी भइरहेको छ । राज्यका लागि जग्गाको तिरो (राजस्व) संकलनमा पनि लालपूर्जा नहुँदा समस्या सिर्जना भएको स्थानीय खड्कबहादुर शाहको भनाइ छ । सामान्य कृषि ऋण लिनबाट पनि आफूहरु वञ्चित हुनुपरेको उनले बताए । “विशेष टोलीले नापनक्सा गरायो तर दर्ता प्रक्रियामा कसैले सहयोग गरेन”- उनले दुःखेसो पोखे । विशेष नापी टोलीले जग्गा नापनक्सा गरिसकेको भए पनि पुरानो कागजात केहीँपनि फेला नपर्दा समस्या भइरहेको बताइएको छ । नापनक्सा भए पनि व्यक्तिका नाममा जग्गा भएको कागज नभेटिएपछि लालपुर्जा वितरण गर्न नसकेको विशेष नापी अछामका प्रमुख सीयाराम ठाकुरले बताए । पटकपटक विभिन्न सरोकार भएकासँग परामर्श गर्दा पनि लालपुर्जा दिन नसकेको र मन्त्रालयबाट आदेश नआउँदासम्म केही गर्न नसकिने ठाकुरको भनाइ छ । यता जग्गा दर्ता प्रक्रिया पूरा गर्न र लालपुर्जा वितरण गराउनका लागि गाउँपालिकाबाट निर्णय गरिसकेको मेल्लेख गाउँपालिका प्रमुख लोकबहादुर बोहराले बताए । आफू त्यसै कामका लागि एक हप्तादेखि भूमिसुधार मन्त्रालय र केन्द्रीय नापी विभागमा धाइरहेको प्रमुख बोहराले बताए । जग्गा दर्ता गराई लालपुर्जा वितरण गर्नका लागि आफू निरन्तर खटिरहेको भन्दै बोहराले अब छिट्टै वडावासीलाई लालपुर्जा वितरण गराउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ । रासस

सहसचिव र उपसचिवको रिक्त दरबन्दी लोकसेवा आयोगमा, नयाँ विज्ञापन गर्ने

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले सहसचिव र उपसचिवको रिक्त दरबन्दी लोकसेवा आयोगमा पठाएको छ । आउँदो बुधबार आयोगले ती दुई तहको विज्ञापन गर्नका लागि रिक्त दरबन्दी पठाएको मन्त्रालयका जनशक्ति विकास शाखाका प्रमुख शालिकराम दाहालले जानकारी दिए । उनका अनुसार प्राविधिक र अप्राविधिकतर्फका सहसचिव ९३ र उपसचिव २९५ जनाको रिक्त दरबन्दीका लागि आयोग पठाइएको छ । तीमध्ये प्रशासनमा सबभन्दा बढी रिक्त रहेका छन् । प्रशासनमा सहसचिवमा ५० र उपसचिवमा ८३ रिक्त पद रहेका छन् । यसैगरी मन्त्रालयले रिक्त रहेका अधिकृत तहको दरबन्दी संकलन गरिरहेको छ । कात्तिक र मंसिरको अन्तिम साता आयोगद्वारा खुलाइने विज्ञापनका लागि रिक्त दरबन्दी संकलन गरिरहेको दाहालले बताए । अधिकृत तहको कात्तिकमा प्राविधिकतर्फ र मंसिरमा प्रशासनतर्फको आयोगले विज्ञापन गर्ने कार्यतालिका रहेको छ । “सबै मन्त्रालय निकायलाई रिक्त दरबन्दी पठाउन चिठी पठाएका छौँ”– उनले भने, “सबैतिरबाट रिक्त दरबन्दी आएपछि आयोगमा पठाउँछौँ ।” सरकारले यसपटक कर्मचारी समायोजन ऐन ल्याएपछि नयाँ दरबन्दी नभई पुरानै रिक्त दरबन्दीमा मात्र विज्ञापन गर्ने निर्णय गरेको छ । रासस

जनता बैंकले १०१ करोड लाभांश दिँदै छ : केशवबहादुर रायमाझी

विराटनगरबाट अध्ययन सकेर काठमाडौ आएपछि व्यवसाय सुरु गरेका केशबबहादुर रायमाझी अहिले जनता बैंकको अध्यक्षका अतिरित्त पिपुल्स हाइड्रोपावरका प्रवन्ध निर्देशक छन् । उनले नेतृत्व गरेको पिपुल्स हाइड्रोले ५० मेगावाटको सुपरदोर्दीखोला आयोजना निर्माण सुरु गरेको छ । आउदा ३ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनामा साढे ८ अर्ब रुपैयाँ लगानी हुदैछ । पिपुल्सले ५७ मेगावाटको अर्को आयोजना पनि निर्माणको योजना बनाएको छ । यस्तै रायमाझीले जनता बैंकको अध्यक्ष सम्हालेपछि क्रमिक सुधार हुन थालेको छ । यो वर्ष जनता बैंकले राम्रो वित्तीय प्रगति गर्ने अनुमान गरिएको छ । पहिलाको जस्तो अवस्थामा बैंक नरहने विश्वास उनले दिलाएका छन् । जलविद्युतमा लगानी र बैंकमा भएका सुधारका विषयमा केन्द्रीत रहेर रायमाझीसंग विकास न्युजले गरेको कुराकानीको सारसंक्षेप । सुपरदोर्दी आयोजना निर्माण गर्ने अवधारणा कसरी आयो ? हामीले ०६५ सालतिर लमजुङमा दोर्दीखोला आयोजना हेरेका हौं । उदिपुरदेखि आयोजनास्थलसम्म दुई दिन हिडेर जानु पर्ने थियो । हामीले बिचमा बास बसेर प्राबिधिक टोलीसहित पुगेर अध्ययन गरेका थियौं । पानीको वहाव राम्रो र उचाइ पनि धेरै भएकाले अरु कुराले साथ दियो भने आयोजना बनाउन सकिन्छ भन्ने निष्कर्ष निकालियो । त्यसपछि क्लिन इनर्जीलाई थप अध्ययनका लागि जिम्मेवारी दियौं । १ हजार ४ सय मिटरको हेड हुने गरी विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) लियौं । सुरुमा १ सय मेगावाटको हुने प्रक्षेपण थियो । त्यहिबिचमा संखुवासभामा साढे ४ मेगावाटको बरुण हाइड्रो निर्माणको चरणमा थियो । सानो आयोजना बनाउँदै गरेका हामीलाई १ सय मेगावाटको आयोजना बनाउनु कम जोखिम थिएन् । पुँजी, प्रबिधि, अनुभवका कारण पनि यति ठुलो आयोजना बनाउन चुनौतीपुर्ण हुने निष्कर्षसहित हामीले सुपरदोर्दी क र सुपर दोर्दी ख आयोजनाका रुपमा यसलाई विभाजित गरेका थियौं । माथिल्लो आयोजनालाई सुपरदोर्दी क भन्यौं र तल्लोलाई सुपरदोर्दी ख भन्यौं । पहिले तल्लो आयोजना बनाउन निर्णय गरियो । त्यतिबेला यो २१ मेगावाटको थियो । पछि थप अध्ययन गर्दा ४९.६ मेगावाटका हुने देखियो । आजको अवस्थामा भने निर्माणको चरणमा पुगेको छ । कहिलेसम्म सकिन्छ सुपरदोर्दी ख आयोजना ? हाम्रो लक्ष्य भनेको २०७६ भित्र निर्माण सम्पन्न गर्ने हो । तर प्रसारणलाइनका कारण हामी अझै सशंकित छौं । हाम्रो प्रसारणलाइन दोर्दी करिडोरकै कीर्तिपुरमा छ । त्यहाँसम्म हामीले लगेर जोड्ने हो । त्यो उदिपुरमा २२० केभिको प्रसारणलाइनमा जोडिन्छ जसलाई मर्स्याङदी करिडोर भनिन्छ । यो भर्खरै बोलपत्र मूल्यांकनको चरणमा पुगेको छ । प्रसारणलाइन २ बर्षभित्रमै निर्माण सम्पन्न नहुने त होइन भन्ने हामीलाई आशंका छ । त्यसैले हाम्रो कामको गति पनि त्यति धेरै तिब्र भएको छैन् । सुपर दोर्दी ख को कति प्रतिशत काम सकियो ? हामी अहिले पुर्वाधारको काम गरिरहेका छौं । ३० किलोमिटरको बाटो निर्माण सम्पन्न भयो । विद्युत्गृहदेखि मुहानसम्म ११ किलोमिटर बाटो पर्छ । क्याम्पहरु निर्माण सम्पन्न भए । निर्माणका लागि आवश्यक ऊर्जा पुर्याउने काम सम्पन्न भयो । २ वटा सुरुंग खन्ने काम सुरु भइसकेको छ । विद्युतगृहको निर्माण पनि सुरु भैरहेको छ । चार वटा प्याकेज बनाएर काम सुरु गरेका थियौं । हेड वक्र्स, एचारडी र पावर हाउसको लागि टेण्डर भैसक्यो । २ वटा ठेकेदारले काम पनि सुरु गरिसकेका छन् । एउटा ठेकेदार पनि तिहारपछि नै काममा खटिनेछन् । उदिपुरबाट निर्माणका लागि ऊर्जा लगेका छौं । प्रतिशतमा ठ्याक्कै भन्न त मुस्किल छ । तर पुर्वाधारका धेरै काम सम्पन्न भैसकेका छन् । हामीले ०७६ चैतबाट बढाएर ०७७ असारमा सम्पन्न गर्ने कार्यतालिका बनाएका छौं । भूकम्पले पनि हामीलाई धेरै समय काम गर्न दिएन् । भारतीय नाकाबन्दीले पनि त्यस्तै समस्या पार्यो । हाम्रो चासो भनेको प्रसारणलाइन नै हो । यो करिडोरमा २ सय मेगावाटका आयोजना धमाधम निर्माण भैरहेका छन् । विद्युत प्राधिकरणले प्रसारणलाइन निर्माणमा ध्यान देला भन्ने अपेक्षा हो । आयोजनामा लगानीको जोहो कसरी गर्नुभयो ? त्यसबेला निजी क्षेत्रले बनाउन लागेको सबै भन्दा ठुलो आयोजना यहि थियो । हामीले विदेशी लगानी भित्र्याउने प्रयास पनि गरेका थियौं । अन्तिममा नविल बैंकको नेतृत्वमा एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंकसँग लगानी सम्झौता गरेका छौं । साढे ८ अर्ब रुपैयाँको आयोजना भएकाले लगानी जुटाउन चुनौतीपुर्ण थियो । यसमा ऋण त जुटेको थियो तर इक्वीटी जुटाउनु पनि अर्काे चुनौती थियो । हामीले देश विदेशमा रहेका नेपालीका बिचमा आयोजनाबारे ब्यापक प्रचार गर्यौं । धेरैले लगानी कसरी जुटाउँछन भनेर चिन्ता जनाएका थिए । तर हामीले लमजुङका नागरिकको संस्थापक सेयरमा लगानी जुटाउन सफल भयौं । लमजुङ जिल्लामा त्यतिबेला स्थानिय विकास अधिकारीको नेतृत्वमा १ हजार मेगावाट विद्युत उत्पादन गर्न राजनीतिक दलका प्रतिनिधी सहभागी समिति बनाएका रहेछन् । त्यो समितिमा स्वतन्त्र उर्जा उत्पादकहरुको तर्फबाट म आफैं सहभागी थिए । त्यतिबेला जिल्लाका मानिसले संस्थापक सेयरमा लगानी गर्नुपर्छ भन्ने चेतना नै थिएन् । पिपुल्स हाइड्रोले बनाउने सुपर दोर्दी ख मा १० प्रतिशत सेयर लमजुङ जिल्लाका लगानीकर्ताका लागि सुरक्षित गरिदियौं । उहाँहरुको माग भने २० प्रतिशत हुनुपर्छ भन्ने थियो । हामीले १० प्रतिशत लगानीका रुपमा २४ करोड सुरक्षित गरिदियौं । त्यसका लागि सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी बनायौं र त्यहि मार्फत लमजुङका नागरिकले २७ करोड रुपैयाँ लगानी गरे । हामीले अब आयोजना प्रभावित स्थानियका लागि १० प्रतिशत सेयर दिन्छौं । त्यो भन्दा अघि नै १० प्रतिशत भन्दा बढि लगानी लमजुङबासीले गरिसकेका छन् । आयोजना बन्ने ठाउँमा ५४ वटा घर छन्, ५० घरले आयोजनाको संस्थापक सेयरमा लगानी गरेका छन् । आयोजनाले सर्वसाधारणलाई सेयर कहिले ल्याउदै छ ? हामीले २० प्रतिशत आइपिओ सर्वसाधारणका लागि जारी गर्ने योजना बनाएका छौं । आगामी साउनमा आइपिओ निकाल्ने भन्ने थियो तर त्यो अलि नसकिने भयो । धेरै लगानीकर्ता छन्, अहिलेसम्म हामी प्रालीकै रुपमा रहेका छौं । १ हजार ६ सय भन्दा धेरै लगानीकर्ताको कागजात जुटाएर काम गर्न समय लाग्नेछ । हामीले ७५ लाख कित्ता आइपिओ जारी गर्छौ । सुपर दोर्दी क चाँही कहिलेबाट सुरु हुन्छ ? हामीले त्यसको नाम हिमचुली दोर्दी नामाकरण गरेका छौं । यो ५७ मेगावाटको आयोजना हो । यो आयोजना अध्ययनको चरणमा छ । विज्ञहरुको नेतृत्वमा अध्ययन गरिरहेका छौं । सर्वेक्षण अनुमतिपत्र लिने चरणमा पुगिसकेका छौं । यो आयोजनालाई साँझको बिजुली माग धान्न सक्ने गरी अर्धजलासययुक्त आयोजना बनाउन सक्छौं की भनेर पनि हेरिरहेका छौं । यसमा लगानीको मोडल कस्तो हुन्छ ? यसमा पनि लगानीको मोडल भने सुपरदोर्दी ख कै जस्तो हुनेछ । पिपुल्स हाइड्रो आफैंले केहि सेयर राख्छ । यसका सेयरधनीहरुले चाहेको खण्डमा लगानी गर्न सक्नेछन् । अब प्रसंग बदलौं, ७ बर्षे यात्रामा जनता बैंक अवस्था राम्रो देखिएन, किन ? तपाईले भन्नु भएको कुरा केहि पुरानो हो । आज हामीबिच कुरा भैरहेका बेला जनता बैंकको अवस्था सुधार हुँदै गैरहेको छ । वित्तिय संस्था भनेको विश्वासमा अघि बढ्ने रहेछ । हामी कहिले आन्तरिक हिसाबले पनि केही कुरामा रुमलिएका रहेछौं । जनता बैंक मुलतः दुई वटा कुरामा मुछियो । नेपाल सेयर मार्केटमा १८ करोडको अन्तर बैंक कर्जा र एनडिएफ भनेर डलर किनेका थियौं । एक्कासी डलरको भाउ बढेकाले पनि नोक्सानी भयो । डलरबाट करिब १३ करोड नोक्सानी भयो । एक बर्ष सेयर मार्केट्सको अन्तर बैंक कर्जाको समस्यामा पार्यो भने अर्काे एक बर्ष डलरको खरिदले पनि समस्या पार्यो । त्यस बाहेक छिटोछिटो सिइओको फेरबदलमा पनि जनता बैंक मुछियो । जब पुँजी वृद्धिको योजना आयो तब जनता बैंकले नयाँ मोड लियो । हामीसँग ८३६ संस्थापक सेयरधनी थिए स्थापना कालमा । उनीहरुले ५,६ बर्षसम्म केहि प्रतिफल नपाउँदा बजारमा नराम्रो सन्देश गएको थियो । पुँजी वृद्धिको योजनापछि हामीले हकप्रद सेयर, बोनस, मर्जर र एक्विजिसन गर्न बाटो खुल्ला गरेका थियौं । माछापुच्छ्रे बैंकसँगको मर्जरको कुराले पनि करिब ६।७ महिना भुलायो । त्यो मर्जर नहुने भएपछि हामीले फेरी नयाँ ढंगले सोच्यौं । हकप्रदबाट पुँजी पुर्याउने भन्नेबारे व्यापक छलफल भयो । हकप्रदले पुँजी पुर्याउन त सकिन्छ तर बजार पाइँदैन भन्ने निष्कर्ष निकालियो । अन्तिममा केहि हकप्रद सेयर निकाल्ने र केहि पुँजीका लागि मर्जर वा एक्विजिसनमा जाने निर्णय गरियो । त्रिवेणी विकास बैंकसँग मर्जर गरेर ५० प्रतिशत हकप्रद सेयर जारी गर्यौं । अझै ६५ प्रतिशत पुँजी अपुग थियो, त्यसकारण फेरी पनि उपयुक्त वित्तिय संस्थाको खोजी गरियो मर्जर वा एक्विजिसनका लागि । सोही क्रममा सिद्धार्थ डेभलपमेन्ट बैंकलाई एक्विजिसन गरियो । अहिले बैंकको १ सय शाखा पुग्नै लागेको छ । हजारको हाराहारीमा कर्मचारी छन्, ५० अर्ब रुपैयाँको निक्षेप परिचालन, ४६ अर्ब रुपैयाँ कर्जा लगानी पुगेको छ । अब हामी १ अर्ब रुपैयाँ नाफा गर्ने बैंकको सूचिमा पुगिसकेका छौं । हामी ६ अर्ब ९९ करोड पुँजी पुर्याएर बसेका छौं । अब बोनस सेयरबाटै ८ अर्ब पुँजी पुर्याउने योजना छ । त्यसको अर्थ अब १०१ करोडको बोनस सेयर आउँछ । अब जनता बैंक राम्रो मात्रै हुन्छ, नराम्रा दिनहरु समाप्त भैसके । सेयरधनीलाई उचित प्रतिफल, सेवाग्राहीलाई राम्रो सेवा, राम्रो राजश्व बुझाउने, कर्मचारीको तलब सुबिधा राम्रो दिने बैंकका रुपमा अब बैंक स्थापित हुन्छ । ८ अर्बको पुँजी पुग्नै लागेको बैंकको डिपोजिट ५० अर्बको हाराहारीमा देखिन्छ, बजार कसरी बढाउने योजना छ ? ८ अर्ब रुपैयाँ पुँजीमा ५० अर्ब रुपैयाँ डिपोजिट भनेको थोरै हो । बजार पनि बढाउनु पर्छ भनेर नै हामी मर्जर र एक्विजिसनमा गएका हौं । २ वटा विकास बैंक मिसिएपछि ग्रामिण क्षेत्रमा शाखा सञ्जाल राम्रो विस्तार भएको छ । कृषिमा बिशेष ध्यान दिएका छौं । नयाँ प्रदेशिक संरचना अनुसार शाखा विस्तार अभियान अघि बढाएका छौं । हामीले अब प्रोजेक्ट फाइनान्सिङ सुरु गर्छाै । कुन क्षेत्रमा के बिजनेशमा लगानी गर्ने र त्यसको के सम्भावना छ भनेरै अध्ययन गरिरहेका पनि छौं यतिबेला । अब व्यवसाय विस्तार पनि आक्रामक रुपमा अघि बढ्छ । मर्जर र एक्विजिसनपछि कर्मचारी व्यवस्थापनमा समस्या आएको भनिन्छ, कुरा के हो ? मर्जर र एक्विजिसनपछि लगानीकर्ताले भने सहजै स्विकार गरेको देखिन्छ । धेरै भयो भने एउटा साधारण सभासम्म गुट बनाउँछन नत्र आफैं मिल्छन् । तर कर्मचारीमा त्यस्तो सम्भावना अलि कम हुने रहेछ । बर्षाैदेखि सँगै काम गरेका कर्मचारीहरु तुरुन्तै नयाँसँग मिलेर काम गर्न कठिन हुने रहेछ । बाणिज्य बैंक र विकास बैंकको काम गर्ने शैली पनि फरक फरक हुने रहेछ । कर्मचारीहरुलाई घुलमिल गराएर नयाँ संस्कृतिमा काम गर्ने वातावरण बनाउन भने केहि समय लाग्ने रहेछ । पोर्टफोलियोका सवालमा भने हामी कहाँ कुनै समस्या छैन् । पुँजी पर्याप्तता प्रशस्तै रहेछ, किन उपयोग हुन सकेन ? हामीले व्यवसाय विस्तारको अवसरलाई यथेष्ठ सदुपयोग गर्न नसकेको सत्य हो । असार मसान्त २ दिन बाँकी रहँदा सिद्धार्थलाई एक्विजिसन गरेका हौं । कर्मचारी व्यवस्थापन, शाखा व्यवस्थापन, हिसाब मिलान लगायतका काममा हाम्रो ध्यान धेरै गयो । अब भने सबै कुरा मिलिसके । अब निर्धक्क भएर व्यवसाय विस्तारमा लाग्नेछौं । आगामी बर्षमा जनता बैंक कुन पोजिसनमा आउँछ ? हामी टप १० भित्र त भन्न सक्दैनौं तर टप १५ बैंक भित्र आईसक्छौं । प्रतिफल दिने कुरा तरलताले पनि ठुलो भूमिका खेल्ने रहेछ । ६÷६ महिनामा तरलताको अवस्था परिवर्तन हुँदै आएको छ । लगानीकर्तालाई दिने प्रतिफलको कुरा गर्ने हो भने हामी नयाँ बैंक भएकाले पनि पुराना बैंकसँग तत्काल तुलना गर्नु उपयुक्त हुन्न , तर पनि १०÷१५ प्रतिशतका लाभांश दिन हामीलाई कुनै समस्या हुन्न ।    

तरकारीको मूल्यमा दोब्बर वृद्धि

विराटनगर । चाडपर्वसँगै विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ । विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको पूर्वी र दक्षिणी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ तर उक्त क्षेत्रमा भदौ महिनामा आएको बाढीले खेती डुबानमा परेपछि तरकारीको उत्पादनमा कमी भई यसको मूल्यमा वृद्धि भएको हो । कम उत्पादनका कारण उपभोक्ता दोब्बर मूल्यमा तरकारी किन्न बाध्य भएका छन् । एकातिर तरकारीखेती हुने क्षेत्र डुबानमा परेपछि उत्पादनमा कमी आएको र अर्कोतिर विराटनगरको सीमावर्ती क्षेत्र जोगबनीस्थित मीरगञ्जमा पुल भत्केकाले आयातमा आएको कमीका कारण तरकारीको मूल्य वृद्धि भएको तरकारी व्यापारी बताउँछन् । नेपालको पहाडी क्षेत्र र भारतबाट आयात गरेर व्यावसायीले विराटनगर बजारमा तरकारीको आपूर्ति गर्दै आएको छ । पहाडी जिल्लाबाट आयात गर्दा ढवानी खर्च वृद्धि हुने र भारतबाट पनि तरकारी आयातमा आएको कमीले गर्दा मूल्यमा वृद्धि भएको तरकारी व्यवसायीहरु बताउँछन् । बाढी आउनुअघि प्रतिकिलो रु २५ पर्ने प्याज अहिले रु ५० छ भने रु ३० पर्ने आलु रु ६० पुगेको छ । यस्तै रु ४० प्रतिकिलो पर्ने गोलभेँडा रु ६० देखि ७०, रु ५० प्रतिकिलो पर्ने रामतोरिया अहिले रु ८०, प्रतिकिलो रु २५ पर्ने घिराँैला रु ४० देखि ५० तथा रु ३० प्रतिकिलो पाइने काँक्राको मूल्य अहिले रु ६० पुगेको छ । यस्तै प्रतिकिलो रु २५ पर्ने प्याज अहिले रु ५० मा पुगेको छ भने रु ७० पर्ने फूलकोभी अहिले रु १२५ मा सर्वसाधाराणले खरिद गरिरहेका छन् । बजारमा तरकारीको मूल्य वृद्धिले आफूले अन्य सामानको बजेट घटाइ तरकारीमा खर्चगर्नु परिरहेको विराटनगर–९ का गृहिणी विद्या पाण्डेले बताए । विराटनगर बजारमा दैनिक २५ देखि ३५ टन हरियो तरकारी बिक्री हुने गरेको तरकारी व्यवसायीहरु बताउँछन् । माग अनुसारको आपूर्ति हुन नसकेपछि व्यापारीले आफूखुशी तरकारीको मूल्य निर्धारण गर्ने गरेको र बजार अनुगमन प्रभावकारी नहुँदा पनि आम उपभोक्तालाई चर्को मूल्यमा तरकारी किन्नुपर्ने बाध्यता रहेको छ । रासस