विकासन्युज

तीन वटा क्लियरिङ बैंकसँग सम्झौता

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ ३ वटा क्लियरिङ बैंकसँग सेवा आरम्भ सम्बन्धी सम्झौता गरेको छ । मंगलबार नयाँ तीन वटा क्लियरिङ बैंकसँग सम्झौता गरिएको सिडिएसका प्रमुख कार्यकारी देवप्रकाश गुप्ताले जानकारी दिए । हालसम्म ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार सिडिएसले नयाँ क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढाएको थियो । नेपाल स्टक एक्सचेन्जको संचालक समितिबाट स्वीकृत मापदण्ड र मुल्यांकन तालिका अनुसार सिडिएसले नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई क्लियरिङ बैंकका रुपमा छनौट गरेको थियो । ‘क्लियरिङ बैंकसँग सम्झौता गरेका छौं, अब ब्रोकरसँग सम्झौता हुन्छ र एक देखि ढेड हप्ताका बिचमा नयाँ क्लियरिङ बैंकले सेवा आरम्भ गर्नेछन’, सिडिएसका प्रमुख कार्यकारी अधिकृत गुप्ताले विकासन्युजसँग भने ।

सनराइज बैंकले त्रिभूवन विश्वविद्यालयका स्नाकोत्तर तहका विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने

काठमाडौं । सनराइज बैंक लिमिटेडले त्रिभूवन विश्वविद्यालयका स्नाकोत्तर तहका विद्यार्थीहरुको थेसिसका लागि आर्थिक सहयोग गर्ने भएको छ । बैंकले त्रिभूवन विश्वविद्यालय, केन्द्रिय व्यवस्थापन विभाग अन्तर्गतका संकायहरुमा एमविएस र एमविए बिषयमा अध्ययनरत विद्यार्थीहरुले अनुसन्धान बिषय अन्तर्गत प्रस्तुत गनुपर्ने शोधपत्र (थेसिस्) तयार पार्नको लागि आर्थिक सहयोग गर्न लागेको हो । सो शोधपत्रको विधि विश्वविद्यालयले तोके बमोजिम हुने गरी बिहीबार बैंक र त्रिभूवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभाग बीच एमओयूमामा हस्ताक्षर सम्पन्न भएको छ । जस अनुसार त्रिविविका एमविएस र एमविएमा अध्ययनरत ५ जना शोधकर्ताहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउने छ उक्त सम्झौता पत्रमा बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र त्रिभूवन विश्व विद्यालय, केन्द«ीय व्यवस्थापन विभागका प्रमुुख, प्रा.डा.भोज राज अर्यालले हस्ताक्षर गरेका छन् ।

स्काईवर्थका दुई नयाँ प्रोडक्टहरु नेपाली बजारमा, मूल्य ९ हजारदेखि ५६ हजार पर्ने

काठमाडौं । नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स् तथा होम एप्लाएन्सेस्का एकमात्र आधिकारिक विक्रेता स्मार्ट एप्लाएन्सेस् प्रा. लि. ले नेपालमा दुई नयाँ प्रोडक्टहरु थपेको छ । उक्त दुई नयाँ प्रोडक्टहरु स्काईवर्थ ड्रम टाइप भ्याकुम क्लिनर तथा टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिन रहेका छन् । हाईइफिसिएन्सी ड्रम भ्याकुम नयाँ ड्रम टाइप भ्याकुम क्लिनरमा २१ लिटरको डस्ट स्टोरेज क्षमताका साथै डस्ट लेभल इन्डिकेटर तथा उपयोगी एयर ब्लोइङ्ग क्षमता पनि उपलब्ध छ । साथै उच्च कार्य क्षमता भएको मोटरका साथ शक्तिशाली सक्शन् पनि यसले प्रदान गरेको छ । उक्त मेशिन १८०० वाट र २००० वाट को क्षमतामा क्रमशः ९ हजार ३९० रुपैयाँ तथा १० हजार २०० रुपैयाँमा उपलब्ध छ । टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिन इन्भर्टर टेक्नोलोजी सहितको नयाँ टप लोड डाइरेक्ट ड्राइभ वाशिङ्ग मेशिनको मोटरमा १० वर्षको वारेन्टीका साथ बजारमा उपलब्ध छ । १३५ देखि २८० भोल्टको न्यूनतम भोल्टेजमा चल्ने यस मेशिनको क्षमता ९ केजी रहेको छ भने यसको मूल्य ५६ हजार ३०० रुपैयाँ तोकिएको छ ।

भिवोर सोसाइटीमा लुम्बिनी फाईनान्स गाभिने प्रस्ताव पारित, पूँजी २ अर्ब ३७ करोड नाघ्ने

काठमाडौं । भिवोर सोसाइटी डेभलपमेन्ट बैंकमा लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेड गाभिने प्रस्ताव पारित भएको छ । बिहीबार बसेको बैंकको नवौं वार्षिक साधारण सभाले उक्त दुई कम्पनी एक आपसमा गाभिने प्रस्तावलाई पारित गरेको हो । दुई कम्पनी गाभिए पश्चात लुम्बिनी बिकास बैक नामबाट एकिकृत कारोबार शुरु हुने भएको छ । गाभिए पश्चात बन्ने लुम्बिनी बिकास बैकको पूँजी २ अर्ब ३७ करोड १८ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । साथै, सभाले गाभिए पश्चात कायम हुने चुक्ता पूँजीको १० प्रतिशत (१०ः१) को दरले हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको छ । हाल बैंकको कुलनिक्षेप १५ अर्व ६ करोड रुपैयाँ र कर्जा १३ अर्व ५६ करोड रुपैयाँ रहेको छ । साथै, बैंकले आर्थिक वर्षको तेश्रो क्रैमास सम्ममा २२ करोड खुद मुनाफा गर्न सफल भएको जनाएको छ । त्यसैगरी, बैकका ४४ शाखा र १२ ओटा एटीएम रहेका छन् । डिल्लीबजारमा केन्द्रिय कार्यालय रहेको बिकास बैंकको संचालक समितिको अध्यक्षमा सुशीलराज पराजुली र प्रमुख कार्यकारी अधिकृतमा झलक प्रसाद खनाल रहेका छन् । यसैगरी संचालक समितिका सदस्यमा अशोकराज पाण्डे, डा. रुप ज्योति, हरिप्रसाद रिमाल, राजेशकुमार अग्रवाल र प्रेमराज तिवारी रेहेका छन् ।

सेयर बजारमा ९० करोड माथिको सेयर कारोबार, सबैभन्दा बढी सनराइज बैंकको

काठमाडौं । साताको अन्तिम दिन कारोबार हुने बिहीबारको बजारमा ९० करोड ३८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा २९ करोड रुपैयाँ बढी हो । यस अघि मंगलबारको बजारमा ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी सनराइज बैंकको सेयर कारोबार भएको छ । बैंकको ७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ , जसको सेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ रहेको छ । त्यस्तै, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि. प्रमोटर सेयरको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन १४७ कम्पनीको २० लाख कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहका परिसूचक हरिया भएका छन् । बीमा, हाइड्रोपावर र अन्य समूहको परिसूचक दोहोरो अंक अर्थात क्रमशः ४५, १९ र १८ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी ६ समूहको परिसूचक सामान्य अंकले बढेका छन् । समग्रमा बिहीबार नेप्से परिसूचक ७ दशमलब ७७ अंकले उकालो लागेर १६५८ दशमलब ५८ अंकलमा पुगेको छ । केही दिन यता सेयर बजार निरन्तर उकालो लागिरहेको छ ।

३५ लाख उपभोक्ताको घरघरमा बल्ब पुर्याएर २ सय मेगावाट विद्युत खपत कम गर्ने प्राधिकरणको योजना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका ३५ लाख उपभोक्तालाई एलईडी बल्ब वितरण गर्ने भएको छ । उच्च विद्युत् मागलाई व्यवस्थापन गर्न प्राधिकरणले देशभरका आफ्नै दुई सय काउन्टरबाट एलईडी बल्ब वितरण गर्न लागेको हो । यसका साथै उपभोक्ताको सहजताको लागि अर्थात ग्राहकको घरमै बल्ब पुर्याउने मिटर रिडरबाट पनि वितरण गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका काउन्टर र मिटर रिडरमार्फत वितरण गरिने ९ वाटको बल्ब उपभोक्ताले एक सय ४० रुपैयाँमा प्राप्त गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘उक्त बल्बको ६५ भारतीय रुपैयाँ पर्ने भएपनि भन्सार महसुल र मूल्य अभिवृद्धि कर गरी सो मूल्य पर्न जान्छ ।’ नेपालमा एलईडी बल्ब आयात गर्दा २० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिबृद्धि कर तिर्नुपर्ने व्यवस्था छ । भारतले भारु ६५ मा प्राधिकरणको हेटौंडास्थित केन्द्रीय भण्डारण केन्द्रसम्म बल्ब ढुवानी गरिदिने प्राधिकरणसँग समझदारी गरेको छ । २०६३ चैत्र ११ गते प्राधिकरण र भारती कम्पनीसँग ९ वाटको २ करोड बल्ब खरिद बिक्री गर्ने सम्झौता गर्ने सम्झौता भएको थियो । प्राधिकरणका सुख्खा मौसमलाई मध्येनजर गर्दै विद्युत् खपत कम गराउन २ करोड बल्ब आयात गर्न लागेको छ । सो बल्ब प्रतिघर १० का दरले वितरण गर्ने प्राधिकरणले योजना बनाएको छ । प्राधिकरणले सो बल्ब उपभोक्ताको घरघरमा तथा कार्यालयमा पु¥याउन सके हिउँदमा करिब २ सय मेगावाट बिजुली बचत हुने अनुमान गरिएको छ ।

सिस्का एलइडीको एक्सक्लुसिभ शोरुम पुतलीसडकमा सञ्चालन

काठमाडौं । भारतीय इलेक्ट्रोनिक्स ब्राण्ड सिस्काले नेपालमा एलइडी चिमको एक्स्क्लुसिभ शोरुम सञ्चालन गरेको छ । कम्पनीले कल मोविलिटीको सहकार्यमा काठमाडौंको पुतलीसडकमा ’फ्लागसिप शोरुम’ सञ्चालनमा ल्याएको हो । उक्त शोरुममा घरेलु, औद्योगिक तथा व्यापारिक प्रयोजनका लागि विभिन्न प्रकारका सिस्काका एलइडी उत्पादनहरु राखिएको छ । कम्पनीले रेसिडेन्सियल, कमर्सियल, आउटडोर तथा इन्डस्ट्रियल लाइटिङको पनि एकै ठाँउमा सुविधा दिने बताएको छ । साथै, स्टोरबाट रेसिडेन्सियल क्षेत्रमा प्रयोग हुने चिमको मोडेल र स्मार्ट एलइडी चिम, लिड सिलिङ लाइट, कम्प्याक्ट सिलिङ लाइट, लिड गार्डेन लाइट्स, वाल स्कोन्सका साथै रेसिडेन्सियल एरिया, आउटडोर लाइट्निङ, व्यापारिक रुपमा प्रयोग हुने लाइटिङको वारेमा सम्पूर्ण जानकारी तथा सेवा दिने कम्पनीले जनाएको छ । हाल सिस्काले भारतमा १०० भन्दा धेरै एक्सक्लुसिभ आउटलेट र ९० हजारभन्दा धेरै शोरुम मार्फत एलइडी र मोवाइल एक्सेसरिज बिक्री गर्दै आएको कम्पनीले जनाएको छ ।

उद्योग मन्त्रालयले माग्यो थप ६ अर्ब ३५ करोड बजेट, १८ नयाँ कार्यक्रम थप्ने योजना

काठमाडौं । उद्योग मन्त्रालयले आगामी आर्थिक बर्ष २०७४/७५ का लागि ६ अर्ब ३५ करोड थप बजेट मागेको छ । उद्योग मन्त्रालयलाई ८ अर्ब २६ करोडको बजेट सिलिङ तोकिएको थियो । सो सिलिङको कार्यक्रम अर्थ मन्त्रालय पठाएपछि उद्योगले १८ वटा नयाँ कार्यक्रम बनाएर ६ अर्ब ३५ करोड थप बजेट मागेको हो । ‘पुरानो बजेट सिलिङ र कार्यक्रमले देशमा औद्योगीकरण हुने सम्भावना छैन, त्यसकारण नयाँ कार्यक्रम समेटेर थप बजेट मागेका हौं’, उद्योग मन्त्री नविन्द्रराज जोशीले भने । के के छन नयाँ कार्यक्रममा मन्त्रालयले पेश गरेको १८ वटा नयाँ कार्यक्रममा मनोरञ्जन उद्योगदेखि औद्योगीक स्मार्ट सिटीसम्मका कार्यक्रम समेटिएका छन् । मन्त्रालयले बिराटनगर, गोर्खा र धनगढीमा बिशेष आर्थिक क्षेत्र बनाउने, चिन र भारतको सिमा क्षेत्रमा क्रस बोर्डरमा निर्यात प्रवद्र्धन केन्द्र बनाउने, निजी क्षेत्रको लगानीमा एकल बस्तु उत्पादन बिशेष क्षेत्र बनाउने, उद्यमशिल महिलाहरुको आर्थिक सबलीकरणका लागि सामुहिक जमानीमा २५ लाख ऋण दिने, त्रिुपरेश्वरमा काठमाडौं औद्योगीक टावर बनाउने, लैनचौरमा भूकम्पिय तथा भौगर्भिक टावर बनाउने, अल्लो प्रसोधन केन्द्रको निमौण गर्ने, साना तथा मझौला उद्योगका लागि शिप विकास कार्यक्रम सञ्चालन गर्ने, प्रबिधी विकास कोष र औद्योगीक प्रबिधी मेला आयोजना गर्ने लगायतका नयाँ कार्यक्रम अघि सारेको हो । त्यस्तै, आँखामा लगाउने लेन्सको निर्माण गर्न आयात गरिने प्रबिधीका लागि सहुलियत दिने, राजधानीमा मनोरञ्जन उद्योग स्थापना गर्ने, औद्योगिक स्मार्ट सिटीको निर्माण गर्ने, एक स्थानिय तह एक औद्योगीक ग्रामको निर्माण गर्ने लगायतका नयाँ कार्यक्रम समेटिएका छन् । ‘हामीले अघि बढाएका नयाँ कार्यक्रमबारे अर्थ मन्त्रालयबाट सकारात्मक प्रतिक्रिया आएको छ’, मन्त्री जोशीले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा भने ।