विकासन्युज

स्मार्ट लाईसेन्स स्वदेशमै बनाउन सर्वोच्च अदालतको आदेश, विदेशमा बनाउँदा नागरिकको संवेदनशिल सूचना चुहिने

काठमाडौं । सर्वाेच्च अदालतले स्मार्ट लाइसेन्स छाप्ने जिम्मेवारी विदेशी कम्पनीलाई नदिन सरकारका नाममा आदेश दिएको छ । यस अघि बैशाख १० गते स्मार्ट लाइसेन्स कार्यान्वयन प्रक्रिया अघि नबढाउन दिएको अन्तरिम आदेशलाई सर्वाेच्च अदालतले पुनः निरन्तरता दिएको हो । न्यायधिसद्धय केदार प्रसाद चालिसे र हरिकृष्ण कार्कीको बैशाख २५ गतेको संयुक्त इजालासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै मुद्धाको अन्तिम टुंगो नलागेसम्म स्मार्ट लाइसेन्स विदेशी कम्पनी मार्फत छपाउने र ल्याउने काम रोक्न  दिने फैसला गरेको हो । यातायात व्यवस्था विभागले भारतको चेन्नाईस्थित मद्रास सेक्युरिटी प्रिन्टर्सबाट स्मार्ट लाइसेन्स छपाउँदै आएको थियो । नेपाली नागरिकको संवेदनशिल जानकारी विदेशी कम्पनीको हात जाने भन्दै सर्वाेच्च अदालतले कार्यान्वयन नगर्न भनेको हो । नेपाली नागरिकको बिशेष सूचना विदेशी कम्पनीको हातमा जाने र त्यसले नागरिकको सुरक्षा संवेदनशिलतामा समेत असर पर्ने भएकाले त्यस्तो डाटा नेपाल सरकारको नियन्त्रणमा हुने व्यवस्था मिलाउन पनि सर्वाेच्च अदालतले भनेको छ ।

नेप्सेमा २ करोड ४० लाख कित्ता सेयर सूचिकृत, हेरौँ क-कसको कति ?

काठमाडौं । यस साता मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ६ कम्पनीको २ करोड ४० लाख २२ हजार ७१४ कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा नेप्सेमा ९५ लाख २९ हजार १७० कित्ता बोनस, ५४ लाख ९३ हजार ५४४ कित्ता हकप्रद र ९० लाख कित्ता साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । साताभर ४ कम्पनीको बोनस र हकप्रद गरि कुल १ करोड ५० लाख २२ हजार ७१४ कित्ता सेयर नेप्सेमा थपिएको छ । सेवा विकास र मेगा बैंकको बोनस र हकप्रद दुबै सेयर थपिएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकको बोनस सेयर मात्रै थपिएको छ । त्यस्तै, सेवा विकास बैंकको ८ लाख ८ हजार ५५४ कित्ता बोनस र ५१ लाख ६ हजार ६६२ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । मेगा बैंक नेपालको पनि ५३ लाख १५ हजार ९४० बोनस र ३ लाख ८६ हजार ८८२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको ३० लाख ७४ हजार ६२१ कित्ता बोनर र मनास्लु विकास बैंकको ३ लाख ३० हजार ३५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड र फर्वाड कम्युनिटी माइक्रोफाइनान्सको गरि ९० लाख कित्ता साधारण सेयर सूचिकृत भएको हो । सिनर्जी पावरको मात्रै ७० लाख कित्ता र बाँकी २० लाख फर्वाड कम्युनिटीको गरि सो मात्राको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनको साधारणसभा जेठ १९ गते, ५ गतेदेखि बुक क्लोज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले आफ्नो वार्षिक साधारणसभा आगामी जेठ १९ गते गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको समितिको बैठकले गरेको हो । साथै, सो प्रयोजनको लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ८७० रुपैयाँ रहेको छ ।

सेञ्चुरी बैंकले ४०% हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारणलाई ४० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले श्री ईनोभेटिभ डेभलप्मेन्ट बैंक लि. तथा श्री अरनिको डेभलप्मेन्ट बैंक लि को प्राप्ती पश्चात् कायम हुने पूँजीमा सो मात्राको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । दुई बैंक प्राप्ती पश्चात बैंकको एकिकृत पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ नाघ्ने छ । सोही पूँजीमा ४० प्रतिशत (अर्थात १८,८५४,२५७ कित्ता शेयर) को एक अर्व ८८ करोड ५४ लाख २५ हजार ७०० रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने भएको छ । साथै, बैंकले सो मात्राको सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा सुन्धारामा रहेको सिभिल क्यापिटल मार्केट लिमिटेडलाई विक्री प्रवन्धकमा नियुक्त गरको छ । उक्त नियुक्त सम्बन्धी सम्झौतामा सेञ्चुरी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा सिभिल क्यापिटल मार्केट लि. का प्रमुख कार्यकारी अधिकृत पराग विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । आ.व. २०७३/७४ को चैत्र मसान्त सम्म सेन्चुरी बैंकले कुल निक्षेप ३३ अर्ब १४ करोड रुपैयाँ र कर्जा रकम ३० अर्ब ०७ करोड रुपैयाँ परिचालन गरेको छ । साथै, सोही अवधिसम्म बैंकले ४७ करोड ११ लाख रुपैयाँ सञ्चालन मुनाफा र ३१ करोड ०९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।

आठ बीमा कम्पनीको नाफा साढे ५१ प्रतिशतले वृद्धि, कसको कति ?

काठमाडौं । ८ वटा इन्स्योरेन्स कम्पनीहरुले नौ महिनामा एक अर्ब ८ करोड नाफा कमाएका छन् । शुक्रबार एकै दिन वित्तिय विवरण सार्वजनिक गरेका ६ वटा निर्जिबन बीमा कम्पनी र २ वटा जिवन बीमा कम्पनीले नौ महिनामा एक अर्ब ८ करोड नाफा कमाएका हुन् । यीनै कम्पनीहरुले गत आवको सोही अवधीमा भने जम्मा ७१ करोड ८४ लाख मात्रै नाफा कमाएका थिए । ८ वटा कम्पनीले गत आवको नौ महिनाको तुलनामा यसपाली ५१ दशमलब ६४ प्रतिशत नाफा वृद्धि गरेका हुन् ।  यी कम्पनीहरुले कमाएको नाफा बीमांकिय मुल्यांकन अघिको हो । शुक्रबार वित्तिय विवरण सार्वजनिक गर्ने निर्जिबन बीमा कम्पनीहरुमा सगरमाथा इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोेरेशन(नेपाल), प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स छन् । त्यस्तै, लाइफ तर्फ मेट लाइफ र एसियन लाइफ इन्स्योरेन्स कम्पनीले तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका हुन् । निर्जीबन बीमा कम्पनी १) सगरमाथा इन्स्योरेन्स कम्पनीले नौ महिनामा १४ करोड ३६ लाख नाफा कमाएको छ । गत आवको सोही अवधीमा कम्पनीले १० करोड ६५ लाख नाफा कमाएको थियो । २) लाइफ इन्स्योरेन्स कर्पाेरेशन(नेपाल) ३२ करोड १४ लाख नाफा कमाएको छ । यसले गत आवको सोही अवधीमा २४ करोड ९० लाख नाफा कमाएको थियो । ३) प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १० करोड १५ लाख नाफा कमाएको छ । यसले गत आवको नौ महिनामा ७ करोड १७ लाख नाफा कमाएको थियो । ४) नेपाल इन्स्योरेन्स कम्पनीले ५ करोड ८ लाख कमाएको छ । जबकी यो कम्पनीले गत आवको नौ महिनामा २ करोड ७६ लाख नाफा आर्जन गरेको थियो । ५) लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड ६१ लाख कमाएको छ । यो कम्पनीले गत आवको नौ महिनामा ६ करोड ३७ लाख आम्दानी गरेको थियो । ६) सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १४ करोड नाफा कमाएको छ । जबकी यहि कम्पनीले गत आवको सोही अवधीमा जम्मा १२ करोड ७ लाख नाफा आर्जन गर्न सफल भएको थियो । लाइफ इन्स्योरेन्स कम्पनी १) मेट लाइफले १८ करोड ६४ लाख नाफा गरेको छ । यो कम्पनीले गत आवको सोही अवधीमा जम्मा ५ करोड ९० लाख मात्रै नाफा आर्जन गरेको थियो । २) एसियन लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ९६ लाख नाफा कमाएको छ । यसले गत आवको नौ महिनामा जम्मा २ करोड ३ लाख मात्रै नाफा कमाएको थियो ।

एनआइसी एशिया बैंकले शुक्रबारदेखि आस्वा सेवा निशुल्क प्रदान गर्ने

काठमाडौं । एनआइसी एशिया बैंकले शुक्रबारदेखि आस्वा सेवा निशुल्क रुपमा प्रदान गर्ने भएको छ । हाल सञ्चालनमा आएका बैंकको सबै शाखाहरुबाट ग्राहकहरुलाई बिना कुनै शुल्क आस्वा सेवा मार्फत सहज रुपमा आइपीओ, एफपीओ तथा म्यूचल फण्डमा आवेदन दिन सकिने बैंकले जनाएको छ । साथै, बैंकले संचालनमा ल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाता प्रयोग गरि शेयरमा लगानी गर्नुको साथै आफ्नो बचत खातामा नियमानुसार व्याज प्राप्त गर्न सकिने छ ।

औषधिको चर्को मूल्य रोक्न समिति गठन, आयातकर्ता विरोधमा

काठमाडौं । आयातित औषधि चर्को मूल्यमा बिक्री भइरहेको तथ्य फेला परेपछि त्यसको मूल्य निर्धारणका लागि सरकारले बनाएको उच्चस्तरीय समितिको नेपाल औषधि आयातकर्ता सङ्घले विरोध गरेको छ । स्वास्थ्य मन्त्रालयको टोलीले गरेको नियमनमा आयातित औषधिको मूल्य रु ४०० देखि रु दुई हजार २०० प्रतिशतसम्म महङ्गो भएको तथ्य फेला परेको थियो । आयातित औषधि मूल्य निर्धारण र सुपथ मूल्यमा सरकारले खरिद गरी बिक्री वितरण गर्नका सुझाव दिन यही वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले तीन सदस्य उच्चस्तरीय समिति गठन गरेको थियो । सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा गठित सो उच्चस्तरीय समितिमा अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहने छ । नेपाल औषधि आयातकर्ता सङ्घले आज पत्रकार सम्मलेन गरी आयातित औषधिको मूल्य २५ प्रतिशतदेखि हदैसम्म घटाउन तयार रहेको जनाएको छ । तर मन्त्रालयको नियमनलाई आधार मान्ने हो भने आयातकर्ताले १०० प्रतिशत नै मूल्य घटाए पनि बिरामीले करिब दुई हजार १०० महङ्गो मूल्यमा औषधि खरिद गर्नुपर्ने बाध्यता देखिन्छ । मन्त्रालयका अनुसार विशेषगरी कडा रोग क्यान्सर र मिर्गौलालगायत उपचारमा लाग्ने आयातित औषधिमा विक्रेताले परल मूल्यभन्दा चर्को लिइने गरेका छन् । सङ्घका अध्यक्ष अञ्जन पुडासैनीले स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्ने बहानामा आफूहरुलाई औषधि आयातमा रोक लगाउन नहुने बताए । सङ्घका महासचिव पवन आचार्यले मन्त्रालयले गठन गरेको स्वदेशी उद्योगीको कार्यदलले बुझाएको प्रतिवेदनलाई आधार मानी करिब ३५ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णयप्रति विरोध गरेका छन् । रासस

लघु जलविद्युत् सिडिएम आयोजनालाई अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रवद्र्घन गरेको लघु जलविद्युत् स्वच्छ विकास संयन्त्र (सिडिएम) आयोजना ‘नवीन परिणाममा आधारित लगानी’तर्फ अन्तर्राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत भएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ढाँचा महासन्धिअन्तर्गत दर्ता भएको सो आयोजना ग्लोबल पार्टनरपिप अन आउटपुट बेस्ड एड (जिपिओबिए) बाट सन् २०१६ को इन अबटेन अवार्डद्वारा पुरस्कृत भएको हो । विश्व बैंकअन्तर्गत रहेको जिपिओबिए सन् २००३ मा विभिन्न दातृ निकायबाट स्थापना भएको कोष हो । सो पुरस्कार वार्षिक रुपमा प्रदान गरिन्छ । यहाँ आज आयोजित कार्यक्रममा नेपालस्थित विश्व बंैकका निर्देशक टाकुया कामाताले विश्व बैंकका तर्फबाट सो अवार्ड वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललाई प्रदान गरेका छन् । लघु जलविद्युत् आयोजनाको स्थापनामार्फत नेपालका ग्रामीण क्षेत्रमा विस्तारित विद्युतीय सेवाले स्थानीय जनजीवनमा सहजता ल्याएको र यो परिणाममा आधारित लगानीको नवीन कार्य भएकाले केन्द्रलाई पुरस्कृत गरिएको हो । पुरस्कृत यो सिडिएममा नेपालको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत नेपाल सरकारको नवीकरणीय अनुदान नीतिअन्तर्गत निर्मित कुल करिब १५ मेगावाट क्षमताका ४५० लघुजलविद्युत्लाई संयोजन गरिएको छ । यो सिडिएम आयोजना अक्टोबर १८, २०१० मा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ढाँचा महासन्धिमा दर्ता भएको हो । आयोजनाबाट हालसम्म ४३३ लघुजलविद्युत् आयोजनाको निर्माण भई एक लाख ३३ हजार १५४ ग्रामीण घरधुरीमा विद्युत् पहुँच पुगेको छ । बिश्व बैंकको सहयोगमा दर्ता भएको सो आयोजनाबाट स्थानीय क्षेत्रमा उद्यमशीलता र आथिक क्रियाकलापमार्फत रोजगारीका तथा आयआर्जनका अवसर सिर्जना भई गरिबी निवारण र जीवनस्तरमा सुधार ल्याउनाका साथै प्रत्यक्ष रुपमा शिक्षा, लैङ्गिक समानता, महिला सशक्तीकरण, स्वास्थ्य तथा वातावरण संरक्षणमा योगदान पुगेको छ । सो आयोजनाबाट हुने कार्बन उत्सर्जन न्यूनीकरण बिक्रीका लागि विश्व बैंकसँग सम्झौता भएकामा हालसम्म ९३ हजार ४३७ टन प्रमाणित उत्सर्जन न्यूनीकरण जारी भई सोको बिक्रीबाट करिब छ लाख ५० हजार अमेरिकी डलर आम्दानी प्राप्त भइसकेको छ । जलवायु परिवर्तनसम्बन्धी क्योटो अभिसन्धिको प्रावधानअनुरुप सो केन्द्रले हालसम्म बायोग्यासका पाँच, सुधारिएको पानी घट्टको एक, लघुजलविद्युत्को एक र सुधारिएको चुलोको एक गरी आठ वटा स्वच्छ विकास संयन्त्र आयोजना दर्ता गराइसकेको छ । हालसम्म झन्डै दुई लाख १६ हजार बायोग्यास प्लान्ट, कुल १५ मेगावाट क्षमता बराबरका ४५० लघुजलविद्युत् आयोजना, लगभग तीन हजार ४०० सुधारिएको पानी घट्ट तथा २२ हजार सुधारिएको चुलो दर्ता भइसकेका छन् । कार्यक्रममा जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले परम्परागत ऊर्जाको खपतलाई कम गर्दै नवीकरणीय ऊर्जाको विकास र विस्तारमा सरकार कटिबद्ध रहेको बताउनुभयो । मन्त्रालयका सचिव विश्वदेव ओलीले यस प्रकारका समन्वयात्मक कार्यका लागि देशको केन्द्रीयस्तरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अझै महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । ती आयोजनाबाट हालसम्म करिब १६ लाख ५० हजार टन कार्बन उत्सर्जन न्यूनीकरण प्रमाणित भई जारी भइसकेको र कार्बन व्यापारबाटलगभग ७७ लाख ७२ हजार अमेरिकी डलर बराबर आम्दानी प्राप्त भइसकेको केन्द्रले जनाएको छ । कार्यकारी निर्देशक धितालले अन्य नवीकरणीय ऊर्जा प्रविधिलाई पनि कार्बन आयोजनाका रुपमा विकास गर्न अध्ययन भइरहेको तथा भविष्यमा आयोजनाबाट हुने सबै उत्सर्जन न्यूनीकरण बिक्रीका लागि विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग छलफल भइरहेको बताएका छन् । रासस