विकासन्युज

मेलम्चीले गाडेका पाइप अवैज्ञानिक, स्काई रेल कुदाउँन समस्या हुने

काठमाडौ । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकावासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ । आयोजना आफैंले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरे पनि पाइप बिछ्याउने कामले पूर्णता नपाएपछि अहिले कालोपत्रे गर्ने काम सुस्त गतिमा अगाडि बढेको छ । मेलम्ची खानेपानी आयोजनाले हाल उपत्यकामा पाइप गाड्ने कार्य जारी राखे पनि अवैज्ञानिक रहेको सरोकारवालाले बताउन थालेका छन् । आयोजनाले मूल सडकका बीच भागमै पाइप गाडेकाले अवैज्ञानिक भन्न थालिएको हो । उपत्यकामा मेट्रो वा स्काई रेलको अवधारणा अगाडि आइरहेका बेला मेलम्चीले सडकको बीच भागमै पाइप गाडेकाले त्यसले अवरोध ल्याउने बुझाइ सरकारको छ । सडक विभाग काठमाडौंले अयोजनालाई पाइप सार्न पत्राचार गरेको छ । स्रोतका अनुसार स्काई वा मेट्रो रेल सञ्चालन गर्नुपरेमा सडकको बीच भागमै पिलर राख्नुपर्ने भएकाले मेलम्ची खानेपानी आयोजनाको पाइप बाधक बन्ने ठहर सडक विभागको छ । अन्नपूर्ण पोस्टबाट ।

उपत्यकामा थप एक बर्ष धुलो हुने, पाँच सय किमि सडक खानेपानीको पाइप विछ्याउँन खनियो

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक अन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकाबासीले धुलोबाट छुटकारा पाउन अझै एक बर्ष कुर्नुपर्ने भएको छ । आयोजना आफैले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरेपनि पाइप बिछ्याउने कामले पूर्णता नपाएपछि अहिले कालोपत्रे गर्ने काम सुस्त गतिमा अगाडि बढेको छ । आयोजनाले पानीको पाइप गाड्न उपत्यकामा अहिले पाँच सय किलोमिटर भन्दा बढी सडक खनेको छ । त्यसमध्ये ५० किलोमिटर सडक मात्रै कालोपत्रे गर्ने भाग सडक विभागकोमा परेको छ । अन्नपूर्ण पोस्टबाट ।

प्यूठानमा ९९ घर निर्माण हुने, निर्माणका लागि प्रक्रिया सुरु

प्यूठान । सहरी विकास तथा भवन निर्माण विभागले प्यूठानमा जनता आवास कार्यक्रमअन्तर्गत ९९ वटा घर निर्माण गर्ने भएको छ । जिल्लाका फोप्ली, अर्खा, पूजाँ, रजवारालगायत क्षेत्रमा विभागले जनता आवासअन्तर्गत ती घर निर्माण भएको हो । नारिकोट, ओखरकोटलगायत क्षेत्रमा दलित समुदायका लागि ७२ वटा घर निर्माण गरिनेछ । घर निर्माणका लागि प्रक्रिया सुरु भइसकेको छ । सहरी विकास तथा भवन निर्माण विभागद्वारा निर्माण हुने जनता आवास कार्यक्रमअन्तर्गत दलित समुदायका फोप्लीमा २६, अर्खामा २० र पूजामा १० वटा घर निर्माण गरिने डिभिजन प्रमुख ईश्वर जोशीले जानकारी दिए । दलित समुदाय जनता आवास कार्यक्रमअन्तर्गत रजवारामा छ तथा नारीकोट र ओखरकोटमा पाँच/पाँचवटा घर निर्माण गरिने छ । त्यस्तै जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा वादी तथा गन्धर्व समुदायका लागि बाङ्गेसालमा १२ र रस्पुरकोटमा १५ वटा घर निर्माण गरिने जोशीले बताए । रासस

एभरेष्ट बैंकको ८८औँ एटिएम सेवा काठमाडौंको जैन भवनमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको जैन भवनमा आफ्नो नयाँ एटिएम सेवा उद्घाटन गरेको छ । उक्त सेवाको उद्घाटन पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम. एस. साङ्गापुरेले गरेका हुन् । कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । हाल बैंकले ८८ एटिएम, ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरका साथै पन्जाब नेशनल बैंकको ७००० भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

हिमालय एअरलाईन्सको दैनिक उडान अब दुबईमा पनि, वैशाख १५ गतेदेखि शुरु

काठमाडौं । हिमालय एअरलाईन्सले आगामी वैशाख १५ गतेदेखि काठमाण्डौँ-दुबई-काठमाण्डौँमा प्रत्यक्ष उडान शुरु गर्ने भएको छ । दोहा, क्वालालम्पुरर याङगुनको नियमित उडान पछिदुबई, हिमालय एअरलाईन्सको नयाँ उडान गन्तव्य हुनेछ । दैनिक सेवाको सुरुवात सँगै हिमालय एअरलाईन्सले तिन वटा एअरबस ए-३२०-२१४ मध्थे एउटा एअरबस यस मार्गमा सच्चालन गर्ने छ । जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमीक्लास नियमित आधारमा विभाजित गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार काठमाडौंबाट एच ९५५७मार्फत विहान १०ः४०मा उडान गर्नेछ र दुबईमा १ बजेर २५ मिनेटमा अवतरण गरिने छ । साथै, दुबईबाट स्थानीय समयम २ बजेर २५ मिनेटमा उडान गरेर काठमाडौंमा ८ बजेर २० मिनेटमा अवतरण गर्ने कम्पनीले जनाएको छ । अहिलेसम्म नियमित उडान तालिकाको अभिलेखनुसार एअरलाईन्सको उडान तालिका औसत उचाई माथि छ र त्यही स्तरको विश्वसनीयता र नियमिततालाई निरन्तरता दिने उदेश्य राखिएको छ । उक्त एअरलाईन्सले काठमाण्डौ-दुबर्ई-काठमाण्डौको लागी टिकटदर २४ हजार ८२७(राउण्ड ट्रिप) र दुबई(काठमाण्डौ-दुबईको लागी शुरुवाती टिकटदर एइडी३५० कायम गरेको कम्पनीले जनाएको छ । उक्क्त दरमा सरकारी कर समावेश गरिएको छैन । हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्छन्स्(“दुबई, पर्यटन र व्यापार यात्राको लागी सबैभन्दा रोमान्चकगन्तव्यहरुमध्थे एक हो । हामी हाम्रा यात्रुवर्गहरुलाई प्रतिस्पर्धी विकल्प उपलब्ध गराउने कुरा मागर्वको अनुभुति गर्दछौ । हामीआशावादी छौ, हाम्रो नयाँ उडान क्षेत्र मार्फत नयाँयात्रुहरु आगमनभई नेपालको अर्थव्यवस्थामा योगदानपुयाउनुका साथै एकै समयमा दुबै आगमन र बहीगर्मन यात्राको लागी राम्रो बजार हुनेछ ।”

महासंघको वर्तमान अध्यक्ष, आगामी अध्यक्ष र पूर्वअध्यक्ष सबैले गल्ती गरे-कुशकुमार जोशी

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिदै गर्दा चुनावी धुव्रिकरण तिब्र भएको छ । निर्वाचनमा महासंघका वर्तमान अध्यक्ष पशुपति मुरारका, चैत ३० देखि अध्यक्ष बन्ने भवानी राणा, पूर्व अध्यक्षहरु चण्डीप्रसाद ढकाल, रविभक्त श्रेष्ठ, प्रदिप कुमार श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा समूहको पक्षमा भोट माग्दै निर्वाचनमा होमिएका छन् भने पूर्वअध्यक्षहरु सुरज बैंद्य, कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समूहको पक्षमा भोट माग्दै निर्वाचनमा होमिएका छन् । प्रधान समूहको चुनावी समूहको नेतृत्व गरिरहेका कुशकुमार जोशीलाई हामीले सोधेका छौं-यसरी पूर्वअध्यक्षहरु निर्वाचनमा विभाजित हुनु कति शोभनिय र उचित हो ?   यस पटकको महासंघको निर्वाचनमा पूर्व अध्यक्षहरुको चलखेल धेरै नै देखियो, यो कति स्वभाविक र उचित हो ? मुलुक संघीय संरचनामा गएपछि र महासंघको विधान संशोधन भएपछि पहिलो पटक निर्वाचन हुँदैछ । एकातिर नेतृत्व विकासको नयाँ अभ्यास हुँदै छ भने अर्कोतिर भूगोलको नयाँ संरचनाको आधारमा निर्वाचन हुँदैछ । महासंघका पूर्व अध्यक्षहरु सबैले भोगेको तितो अनुभव के हो भने निर्वाचनको हार र जितको प्रभाव महासंघको निर्णय प्रक्रियामा र कार्यान्वयन प्रक्रियामा परिनै रह्यो । महासंघले राम्रो निर्णय गर्दा पनि कार्यान्वयन निकै चूनौतिपूर्ण र जटिल बन्ने गरेको अनुभव हामी सबैले गर्दै आएका हौँ ।  त्यही अनुभवको आधारमा, महासंघ भित्रको चुनावी गुटबन्दीलाई अन्त्य गर्न वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने भन्ने विषयमा पूर्वअध्यक्षहरुबीच छलफल भयो, सोही अनुसार विधान बनाउने भन्ने पक्षमा हामी पूर्व अध्यक्षहरु थियौँ । गत कात्तिकमा गरिएको विशेष साधारणसभा भन्दा अगाडि छलफलको वर्तमान वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव आयो । हामीले भन्यौ कि निर्वाचित व्यक्ति मात्र महासंघको अध्यक्ष बन्न सक्छ, मनोनित व्यक्तिलाई अध्यक्ष बनाइनु हुन्न । संक्रमण कालीन अवस्थामा ५१ औं साधारणसभामा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुबै पदमा प्रत्यक्ष निर्वाचन गरौं भनेर हामीले भन्यौँ । तर विधान संसोधन समितिमा रहेका साथीहरुले हाम्रो सुझाव मान्नु भएन, अहिलेकै बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने पक्षमा उहाँहरु अडिक हुनुभयो । हामीलाई त्यसमा चित्त बुझेन । त्यसैले हामी पूर्वअध्यक्षहरु विशेष साधारणसभामा सहभागी भएनौं । मनोनित अध्यक्ष, मतदाताबाट नचुनिएको अध्यक्षले प्रभावकारी रुपमा काम गर्न सक्दैन भन्ने हाम्रो स्पष्ट भनाई हो । विधान संशोधन प्रस्ताव विशेष साधारणसभामा गयो, पास भयो । हलले पास गरेपछि त्यसलाई हामीले पनि मान्नुपर्ने हुन्छ । विधान पास हुने वित्तिकै जसले विधान बनाउने काम गर्यो, उसैले गुटबन्दी शुरु गर्यो । गल्ती त्यही भयो । उद्योग वाणिज्य महासंघप्रतिको लगाव, योगदान, क्षमताका आधारमा आकांक्षीहरुलाई तिमीहरु प्रतिष्पर्धा गर, हामी तटस्थ बस्छौं भनेर पूर्वअध्यक्षहरु, वर्तमान अध्यक्ष र हुनेवाला अध्यक्ष तटस्थ बसिदिएको भए यस्तो खालको चलखेल हुँदैन थियो । जब विधान संशोधनमा लाग्ने पूर्वअध्यक्षहरु, वर्तमान अध्यक्ष, अब हुने अध्यक्ष एउटा व्यक्ति र गुटलाई बोकेर हिड्यो तब विकृतिहरु शुरु भए । फेरी महासंघमा गुट उपगुट शुरु भयो । तपाई अब अध्यक्ष बन्ने भवानी राणालाई निर्वाचित अध्यक्ष मान्नुहुन्छ कि मनोनित अध्यक्ष ? उहाँ मनोनित अध्यक्ष बन्ने हो । उहाँ महासंघको अधिवेशनमा अञ्चल प्रतिनिधि भएर आउनुभएको थियो । पछि उहाँ बरिष्ठ उपाध्यक्ष लडेर हार्नुभयो । पछि सहमतिमा बरिष्ठ उपाध्यक्ष बन्नु भयो र अहिले आएर स्वतः अध्यक्ष बन्नु भयो । उहाँ निर्वाचित होइन मनोनित अध्यक्ष बन्ने हो । विधान पास गर्दा नै त्रुटि गरिएको थियो । विधानमा के के त्रुटि गरियो त ? वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विषय गलत थियो । अहिलेको निर्वाचनमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुबै पदमा निर्वाचन गरिनु पर्दथ्यो । दुबै जना सबैले चुनेका व्यक्ति हुन्थे । सबैले चुनेको वरिष्ठ उपाध्यक्ष पछि अध्यक्ष बन्दा सक्षम व्यक्ति हुन्थ्यो ।  ब्लण्डर के भयो भने वर्तमान अध्यक्ष र अब बन्ने अध्यक्ष दुबैले एउटा गुटलाई समातेर हिँडे । अध्यक्ष र आउने अध्यक्ष दुबै जना दुबै समूहको साझा व्यक्ति बन्न सक्नुपर्ने थियो । दुई उपाध्यक्षले टिम खडा गर्दा अहिलेका अध्यक्ष र आउने अध्यक्षले दुबै टिमलाई आफ्नै टिम भन्न सक्नुपर्ने थियो तर त्यसो भएको देखिन्न । तपाईले भन्नुभयो कि पूर्व अध्यक्षहरु र वर्तमान अध्यक्ष र आउने अध्यक्ष सबै तटस्थ बसेको भए राम्रो हुन्थ्यो । तर तपाई आफै पनि किशोर प्रधानको टिमलाई सहयोग गरेर हिड्नु भयो, किन ? हामी पूर्वअध्यक्षहरुले गल्ती गर्यौ र मेरो पनि गल्ती भयो । विधान संशोधनकै क्रममा हामीले ठूलो गल्ती गर्यौ, हामी दोषी छौं । ५० वर्ष नाघेको महासंघको विधान संसोधन हुँदा हाम्रो भूमिका हुनुपर्ने थियो । तर त्यो भूमिका हामीले निभाउन सकेनौं । विधान संशोधन गर्ने काम कार्य समितिको हो, अध्यक्ष र उपाध्यक्षहरुले गर्ने कुरा हो भनेर हामी चुप लाग्यौं । अहिलेको नेतृत्वले पनि हामीलाई औपचारिक रुपमा सुझाव मागेन । हामीले पनि सोध खोज गरेनांै । त्यो हाम्रो ठूलो भूल हो । विधान संशोधनमा नेतृत्वको कुरा मात्र भएन, संशोधनको मूल उदेश्य भनेको महासंघको विकेन्द्रिकरण हो । विधान संशोधनपछि अञ्चल र विकास क्षेत्रको संरचना भंग गरियो र सात वटा प्रादेशिक संरचना बनाइयो । अब प्रदेशमा हुने आर्थिक नीति, कर नीति सबै प्रदेश उद्योग बाणिज्य संघले हेर्छ । प्रदेश सरकारले लिने नीतिसँग प्रादेशिक उद्योग वाणिज्य संघले डिल गर्छ । विराटनगरको समस्या, विरगञ्जको समस्या, भैरहवाको समस्या, नेपालगञ्जको समस्या अब काठमाडौंले हेर्नु पर्दैन । यो परिवेशमा महासंघको केन्द्रिय कार्यसमिति ७० जनाको बनाउन पर्दैन थियो । सानो र चुस्त दुरुस्त महासंघ बनाउनु पर्ने थियो । अब प्रदेशलाई बलियो बनाउनुपर्ने थियो । अहिलेको विधानले पनि पहिले प्रदेशको चुनाव गरेर त्यसको एक महिनापछि मात्रै केन्द्रको चुनाव गर्नुपर्छ भन्छ । तर अहिले त सिधै केन्द्रको निर्वाचन गरिँदैछ । यहाँ पनि गलत काम भएको छ । निर्वाचनमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षको भूमिका कस्तो हुनुपर्छ ? अहिलेको अध्यक्ष र वरिष्ठ उपाध्यक्षले आफ्नो पद र पदीय दायित्वलाई बिर्सेर मेरा उम्मेदवार हो भन्नु गलत कुरा हो । अध्यक्ष र वरिष्ठ उपाध्यक्षले विधान संशोधनको मर्ममा कुठारा घात गरे । पदीय दुरुपयोग गरेका छन्, मतदातालाई प्रभावित पारेका छन्, महासंघको प्रतिष्ठामा आँच आउने काम गरेका छन् । उनीहरुको भूमिका संस्थाको हितमा भएन, महासंघमा आउन चाहाने सबै उम्मेदवार र मतदाताको हितमा भएन । विधान अनुसार योग्य सबैले चुनाव उठ्न पाउनुपर्छ, उनीहरुले आफ्नो क्षमताअनुसार स्वच्छ वातावरणमा प्रदर्शन गर्न पाउनुपर्छ । जसले चुनाव जिते पनि स्विकार गर्नुपर्नेहरुले यो मेरो उम्मेदवार हो । म यो उम्मेदवारको अविभावक हुँ भन्नु गलत कुरा हो । यसले व्यवसायी र महासंघको हित गर्दैन । फेरी पनि अध्यक्षकै प्रत्यक्ष निर्वाचन गर्नुपर्ने अवस्थामा महासंघ फर्कनु पर्ला कि नपर्ला ? वरिष्ठ उपाध्यक्षको निर्वाचन गरेर स्वतः अध्यक्ष बन्दा पनि नेतृत्व विकास नै हुन्छ । विधानमा राम्रो काम गरेमा मात्रै स्वतः अध्यक्ष बन्न पाउने भन्ने व्यवस्था राखिएको छ । यो ठिकै छ । नराम्रो काम गरेमा अविस्वासको प्रस्ताव लैजान सकिन्छ । केही पूर्वअध्यक्षहरु एउटा गुटलाई बोकेर हिडिसकेपछि मलाई धेरैले प्रश्न गरे, तपाईहरु के गरिरहनु भएको छ, किन चुप लागेर बस्नुहुन्छ ? म अध्यक्ष बन्दा मलाई सहयोग गर्ने साथीहरुले मसँग पनि केही आशा गर्नुभएको छ । पूर्वअध्यक्ष मध्ये कसैले ‘हामीलाई दवाए, पाखा लगाए, तपाई आएर हामीलाई सहयोग गर्नुपर्यो’ भनेर साथीहरुले भन्दा म सहयोग गर्दिन, बोल्दिन भन्न त भएन । महासंघको एसोसियटतर्फको निर्वाचनमा प्रोक्सी प्रणाली कति ठिक हो ? एसोसियटमा प्रोक्सी प्रणाली गलत छ । बिधान संसोधनमा यसलाई पनि समेटिनु पर्ने थियो । जो मतदाता हो उसैले आफ्नो मत हाल्न पाउनु पर्छ । कस्तो नेतृत्व छान्ने हो भन्ने कुरा मतदाताले नै निर्णय गर्ने कुरा हो । यो पब्लिक कम्पनीको चुनाव होइन । यो त नेतृत्वको चुनाव हो । सबै व्यवसायीको मत लिएर नेतृत्वमा पुग्नु पर्ने हो । आफैंले आफैंलाई भोट हालेर जित्ने कुरा पनि कँही ठिक हुन्न । नेतृत्वको चुनावमा सबैले भोट हाल्न पाउनुपर्छ ।  चुनावमा राखिएको प्रोक्सीको प्रावधान गलत छ । कम्पनीको अध्यक्ष, प्रबन्धक, महाप्रबन्धकको पहिचान गरेर मताधिकार दिनुपर्छ । विधान शंसोधनले सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मर्म थियो यस पटक सम्भव भएन । भविष्यमा सहमतिमा पदाधिकारी चुनिने सम्भावना देख्नुहुन्छ ? महासंघमा प्रदिपकुमार श्रेष्ठका पालामा ६८ सदस्य निर्विरोध निर्वाचित गरिएको थियो । सबै पक्षले चाहेमा सर्वसहमतिमा नेतृत्व चयन गर्न सकिन्छ । त्यसका लागि स्वच्छ वातावरण हुनुपर्छ । कोहि केहि अघिपछि हुन सक्छ तर पनि सहमति सम्भव हुन्छ । महासंघको नेतृत्वमा जान व्यवसायी किन यसरी सम्पूर्ण शक्ति खर्च गरेर भिड्छन् ? के पाउँछन् त्यहाँ पुगेपछि ? महासंघको नेतृत्वमा पुग्नु भनेको पहिचानको कुरा हो । त्यहि पहिचानका आधार उद्योग व्यवसायका क्षेत्रको समस्या समाधानमा भूमिका खेल्ने हो । महासंघको नेतृत्व भनेको व्यवसायिका लागि नेतृत्व विकासको अवसर हो । यहाँ आएर सबैले काम गर्ने हो । व्यवसायीले आफ्नो प्रोफाइल बढाउन नेतृत्वमा पुग्ने प्रयास गर्ने हो । यतिबेला महासंघ बलियो भैरहेको छ कि कमजोर ? महासंघ आफैंमा बलियो संस्था हो । महासंघको घर बलियो छ तर महासंघ चलाउने व्यक्ति कमजोर भएका हुन् । कमजोर व्यक्तिले बलियो घरको नेतृत्व गर्न सक्दैन । महासंघ बलियो भएरै नेतृत्वका लागि यतिधेरै प्रतिष्पर्धा भैरहेको छ । महासंघ साह्रै बलियो छ तर यसलाई चलाउनेहरु कमजोर भएका भन्ने मेरो बुझाई हो ।

सिमेन्टको मूल्य घटाउन उद्योग मन्त्रीको निर्देशन, उद्योगीले भने-हामी छलफल गर्छाै

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले सिमेन्टको मूल्य घटाउन निर्देशन दिएका छन् । मुलुक भूकम्पपछिको पुनर्निर्माणको चरणमा रहेका बेला गरिएको मूल्य वृद्धिले गम्भिर असर गर्ने भन्दै उनले मूल्य वृद्धि पुनरावलोकन गर्न नेपाल सिमेन्ट उत्पादक संघलाई निर्देशन दिएका हुन् । नेपाल सिमेन्ट उत्पादन संघले हालै सिमेन्टमा प्रति वोरा २० देखी २५ रुपैंया सम्म मूल्य बृद्धि गरेको थियो । मन्त्री जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापालाई विहीवार उद्योग मन्त्रालयमा बोलाएर मूल्य वृद्धिको निर्णय पुनर्विचार गर्न भनेका हुन् । भेटमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले सिमेन्ट उत्पादनका लागी प्रयोग गरिने कच्चा पदार्थ क्लिङ्गरको मूल्य वृद्धि भएकाले मूल्य पनि बढाएको बताएक थिए । उनले उत्पादन लागत बढेपछि आफुहरुले पनि सिमेन्टको मूल्य वृद्धि गरेको बताउँदै उद्योगीहरुसँग आवश्यक छलफल गरेर अघि बढ्ने बताएका थिए । अध्यक्ष थापाले उद्योगीसँग आवश्यक छलफल गरेर कति मूल्य समायोजन गर्न सकिन्छ भन्ने एकिन गरेर आइतबार फेरी छलफलमा जुट्ने आश्वासन मन्त्री जोशीलाई दिएका थिए ।

वाईवाईको ‘बनौं आदर्श नागरिक’ अभियान

काठमाडौं । चौधरी ग्रुपको सिजी फुड्स प्रालिले उत्पादन गर्ने वाइवाई चाउचाउले बनौं आदर्श नागरिक अभियान आरम्भ गरेको छ । कम्पनीले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत जनचेतना मुलक अभियान सुरु गरेको जनाएको छ । अभियानमा सडक दुर्घटना न्यूनिकरण र दुर्घटना भएपछि घाइतेलाई अस्पताल लैजानको लागि आर्थिक सहयोग लगायतका काम गरिनेछ । यी कामका लागि चौधरी ग्रुपले ट्राफिक प्रहरी र सडक सुरक्षा समितिसँग सहकार्य गर्नेछ । दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल लैजानेलाई ग्रुपले ११ सय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने छ । सीजीका प्रवन्ध निर्देशक निर्वाण चौधरीले सडक दुर्घटना न्यूनिकरणका लागि जनचेतना बढाउन वाइवाइ मार्फत अभियान सुरु गरेको बताए । सीजीले आफ्नो प्रोमोसनका लागि पनि वाईवाई ब्राण्डलाई अघि सार्दै आएको छ । अभियान संचालनको लागि सामाजिक सञ्जालमा ह्यासट्याग बनौ आदर्श नागरिक मार्फत सुझबव समेत मागेको छ ।